सोमबार, वैशाख २२, २०८२

विकल पौडेललाई २ वर्ष कैद र साढे १३ करोड बढीको जरिवाना फैसला

मेरोन्यूज २०८२ वैशाख २१ गते १८:५५

काठमाडौँ । पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लागेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले २ वर्ष कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले पौडेललाई उक्त सजाय सुनाएको हो ।

भ्रष्टाचार कसुरमा १ वर्ष ६ महिना र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएर पदीय दुरुपयोग गरेको कसुरमा पौडेललाई थप ६ महिना कैदको सजाय तोकिएको हो ।

प्रिन्टिङ मेसिन खरिदका लागि ७६ करोड रुपैयाँ विनियोजन भएकोमा खरिद गुरुयोजना र कार्यान्वयन योजना एवं स्वीकृत कार्यक्रम भन्दा बाहिर गई पेपर बेस्ड र कार्ड बेस्ड प्रिन्टिङ मेसिन खरिद गरी ४० करोड ७५ लाख रुपैयाँ हानी नोक्सानी भएको अदालतको ठहर छ ।

सोही मुद्दामा म्याक्स इन्टरनेशनल प्रालि र कम्पनीका सीईओ अकबर हुसेनलाई पनि १ वर्ष ६ महिना कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रूपैयाँ जरिवाना तोकिएको छ ।

विकल र म्याक्स इन्टरनेशनल प्रा.लि. र अकबर हुसेनबाट जनही ४४ लाख ३४ हजार १०३ रूपैयाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखिला गर्नुपर्ने पनि विशेष अदालतले आदेश गरेको छ ।

अन्य प्रतिवादीहरु सफल श्रेष्ठ, नवीन कुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्क बहादुर थापा कार्यकारी निर्देशक पौडेलको निर्देशअनुसार खरिद प्रक्रियामा सहभागी भएकाले बदनियतपूर्ण संलग्नता नरहेको भन्दै उनीहरुलाई सफाइ दिएको छ ।

प्रतिक्रिया