बिहीबार, जेठ १, २०८२

मनसुन पूर्वतयारीमा जुट्याे सशस्त्र प्रहरी, सबै युनिटमा उद्वारका सामान राखिँदै

मेरोन्यूज २०८२ वैशाख ३१ गते १७:५०

काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनिकरण तथा उद्वारका लागि आफ्नो तयारी थालेको छ ।

यसका लागि देशभरी नै विपद् जनचेतना रेस्पोन्स पट्रोल शुरु गरिएको छ भने टोलटोलमा विपद् सूचक राख्नेदेखि, सशस्त्र प्रहरीका सबै युनिटमा विपद् व्यवस्थापनका आधारभूत सामानको व्यवस्थापन गर्ने, विपद् सम्बन्धि अनुशिक्षण तथा अभ्यास संचालन गर्ने लगायतका रहेका छन् ।

अघिल्ला वर्षहरुमा भएको विपद्का घटनाहरुलाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने जोखिम न्यूनिकरणका लागि अवलम्वन गर्नुपर्ने उपायका बारेमा मंगलबार प्रधान कार्यालय हलचोकमा व्यापक छलफल भएको थियो । उपत्यकाका सबै युनिट कमाण्डर तथा फिल्डमा खटिने सिनियर, जुनियर अधिकृत तथा अन्य दर्जा समेतको सहभागितामा छलफल गर्दै फिल्डमा खटिँदा भोगेका अनुभव र समस्या तथा नयाँ रणनीतिको बारेमा पनि छलफल गरिएको छ ।

विपद् सूचक अन्तर्गत आफ्ना पूर्व कर्मचारी समेत यसमा सहभागि गराउँदै वडा–वडामा सचेतना मूलक कार्यक्रम गर्ने सशस्त्र प्रहरीले तयारी थालेको छ ।

यसबाट विपद्को बारेमा तत्काल सूचना प्राप्त गर्न सकिएमा छिटो भन्दा छिटो उद्वारका कार्यमा खटिन सक्ने विश्लेषण गरिएको छ । यसकासाथै अब प्रत्येक दर्जाको आधारभूत तालिममा अनिवार्य रुपमा १५ दिनको विपद् व्यवस्थापन तालिम संचालन गरिने लक्ष्य समेत सशस्त्र प्रहरी बलको छ । सशस्त्र प्रहरीका युनिटमध्ये विपद् व्यवस्थापन साधनश्रोत सम्पन्न कम साधनश्रोत भएका र नभएका गरी ३ तहमा विभाजन गरेर साधनश्रोत नभएका युनिटमा तत्काल आधारभूत सामाग्री व्यवस्थापन गरिनेछ ।

छलफल कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् व्यवस्थापनको लागि स्थानिय स्रोतसाधनको अधिकतम प्रयोग गर्न र सामान पुगेन भनेर पन्छिने छुट कसैलाई नभएको भन्दै विपद्को समयमा सरकार छ, सुरक्षाकर्मी छन् भन्ने आम जनतामा भरोसा हुनुपर्ने बताए। उनले आगामी मनसुनमा के गर्ने भन्ने बारेको स्पष्ट खाका तयार गर्न समेत विभागिय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

विपद्को समयमा तयारी र परिचालन उत्कृष्ट हुन जरुरी रहेको र विपद् भएको स्थानमा छोटो भन्दा छोटो समयमा पुग्न सकेमा मात्र जनधनको क्षती न्यूनिकरण गर्न सकिने बताउँदै उनले २४सै घण्टा परिचालन हुनको लागि सबै युनिटमा टोलीहरु तयारी हालतमा राख्न समेत निर्देशन दिएका छन् ।

परिचालन ढिला नहोस् र सम्बन्धित ठाउँमा पुग्न अलमल नहोस् भनेर आफ्नो जिम्मेवारी क्षेत्रभित्र सबै युनिटले विपद् जनचेतना तथा रेस्पोन्स पट्रोल (Disaster Awarness and Response patrol) संचालन गरी आफ्नो एरिया बारेमा जानकार रहन समेत प्रधान कार्यालयले मातहत युनिटलाई निर्देशन दिएको छ । यसैगरी समुदाय लक्षित विपद् सम्बन्धी स्वयमसेवक तालिम शुरु गरिएको छ ।

मनसुनजन्य प्रकोप न्यूनिकरण र उद्वारको स्पष्ट खाका तयार भएसँगै सबै बाहिनीपति, गणपति तथा गुल्मपतिसम्मलाई भर्चुअल माध्यमबाट त्यस सम्बन्धी आवश्यक निर्देशन समेत दिइने छ ।

विपद् व्यवस्थापनमा विगतको अनुभव, सुधान गर्नुपर्ने विषयहरु र आगामी योजना सम्बन्धमा भएको छलफलमा फिल्डमा खटिने कमाण्डर तथा अन्य दर्जाले समेत उद्वारका अनुभव र पूर्व तयारीबारे आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया