बिहीबार, जेठ १५, २०८२

काठमाडौं नगर प्रहरी प्रमुख पाण्डेले बुझाए स्पष्टीकरण

मेरोन्यूज २०८२ जेठ १२ गते १८:००

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेले स्पष्टीकरण बुझाएका छन् ।

नगर प्रहरी प्रमुख पाण्डेले सोमबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समक्ष स्पष्टीकरण बुझाएका हुन् ।

अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले ६ जेठमा पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए ।

‘पाण्डेको स्पष्टीकरण आज आएको छ । मैले पूरै पढ्न भ्याएको छैन । स्पष्टीकरण पढिसकेपछि थप कुरा गर्न सकिन्छ,’ गुरागाईंले भने ।

स्पष्टीकरणमा कर्मचारीका रूपमा पालना गर्नुपर्ने आचरण तथा अनुशासन समेत पालना नगरेको, सञ्चार माध्ययममा अनधिकृत बयान दिएको उल्लेख थियो ।

महानगरका जनप्रतिनिधिहरूसँग मुखमुखै लागि अमर्यादित व्यवहार देखाएको पनि गुरागाईंले सोधेको स्पष्टीकरणमा उल्लेख थियो ।

सात दिनभित्र स्पष्टीकरण पेस नगरे वा स्पष्टीकरण चित्तबुझ्दो नभए कानुन बमोजिम कारबाही हुने समेत उल्लेख गरेकोमा पाण्डेले आज स्पष्टीकरण बुझाएका हुन् ।

प्रतिक्रिया