सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्व भ्रष्टाचार मुद्दा

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ सोडारीविरुद्व भ्रष्टाचार मुद्वा दायर भएको छ ।
एकीकृत समाजवादी सुदूरपश्चिमका संसदीय दलका नेतासमेत रहेका सोडारीविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सोडारीउपर एक करोड ८ लाख ३८ हजार ३०२ बिगो कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको अख्तियारले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री सोडारीले पदीय मर्यादाविपरीत कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भनी उजुरी परेपछि अख्तियार अनुसन्धान अघि बढाएको थियो ।
अख्तियारले सोडारीले सार्वजनिक पदधारण गरेको मिति ०७४ माघ ७ गतेदेखि ०७९ फागुन १० सम्मको जाँच अवधिमा उनले गरेका आयआर्जनको अनुसन्धान गरेको थियो ।
कुल आय र व्ययको तुलना गर्दा सोडारीको स्रोत नखुलेको रकम १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा रहेको आयोगको दाबी छ। सोडारीले सार्वजनिक पदमा रहँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) र (२), दफा १६ को उपदफा (२), दफा २४, दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिमको कसुर गरेको अख्तियारको दाबी छ ।
आयोगले सोडारीका श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा खरिद गरिएको जग्गा, घर निर्माण, बैंक मौज्दातसमेत जफत गर्न माग गरेको छ।
प्रतिक्रिया