शनिबार, जेठ २४, २०८२

जर्मन सरकारको सहयोगमा धुलिखेल खानेपानी आयोजना पुनर्निमाण सुरु

मेरोन्यूज २०८२ जेठ २१ गते २१:०१

काभ्रेपलाञ्चोक। गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त यहाँको धुलिखेल नगरपालिकामा सञ्चालित खानेपानी आयोजना जर्मन सरकारको सहयोगमा पुनर्निर्माण सुरू गरिएको छ। आज एक कार्यक्रमबीच नेपालका लागि जर्मनीका राजदूत डा माइकल कोच र नगरप्रमुख अशोक ब्याञ्जुले संयुक्त रूपमा पनौती–१२ स्थित मुहान क्षेत्रमा शिलान्यास गरे।

मुहान क्षेत्रमा क्षति पुगेको आयोजना रू तीन करोड ५१ लाखमा पुनर्निमाण गरिने जनाइएको छ। जर्मन सरकारबाट ६० प्रतिशत अर्थात रू एक करोड ४५ लाख अनुदान प्राप्त भएको नगर प्रमुख ब्याञ्जुले बताए। उनका अनुसार बाँकी ४० प्रतिशत रकम नगर तथा र खानेपानी उपभोक्ता समितिले व्यहोर्ने छ।

जर्मन सरकारले नै ३२ वर्षअघि उक्त आयोजना निर्माणमा सहयोग गरेको थियो। बाढीपहिरोको क्षतिपछि नगरले जर्मन राजदूतावासमा सहयोगका लागि अनुरोध गरेको थियो। जर्मन सहयोग नियोग (जिआइजेड) मार्फत काठमाडौंस्थित जर्मनीको दूतावासले रू एक करोड ४५ लाख रकम सहयोग गर्ने सम्झौतापछि पुनःनिर्माण सुरू गरिएको ब्याञ्जुले जानकारी दिए।

प्राप्त सुहयोग रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचना पुनर्निर्माण गरिने जनाइएको छ। बाढीले आयोजनामा क्षति हुँदा नगरका ३, ४, ५, ६ र ८ नम्बर वडाका उपभोक्ता खानेपानी सुविधाबाट वञ्चित भएका थिए। त्यतिबेला करिब २० लाख खर्चेर अस्थायी व्यवस्थापन गरी खानेपानी सञ्चालन भए पनि दीर्घकालीन सुविधाका लागि पुनर्निर्माण सुरू भएको हो।

राजदूत कोचले विपद्ले मानिसका लागि सबैभन्दा महत्त्वपूर्ण खानेपानी आयोजनामा क्षति पुगेकामा दुःख व्यक्त गर्दै जर्मन सरकारको सहयोग रकमले आयोजनालाई टेवा पुग्ने बताए। उनले मुहान क्षेत्र सुरक्षित बनाउन सुझावसमेत दिए।

Advertisement
machhapuchare

आयोजनाको मुहान क्षेत्र पनौती नगरपालिका–१२ स्थित पालपाले गाउँका विभिन्न स्थानमा करिब दुई किलोमिटर मुख्य पाइपमा क्षति पुगेको थियो। सोही वडाको सप्तकन्याबाट ल्याइएको खानेपानी तीन हजार २०० घरपरिवारले उपभोग गर्दै आएका थिए।

प्रतिक्रिया