बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला

कैलाली ।कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित तरकारी हाटबजारमा बिक्रीका ल्याइएका बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला परेको छ ।
आज अत्तरियामा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाईमा गरिएको परीक्षणमा पाण्डेय फलफूल तथा सब्जी पसलमा बिक्रीका लागि राखिएका ६५ किलो बन्दामा विषादी भेटिएपछि नष्ट गरिएको छ ।
एकाइ कार्यालयका प्राविधिक राजेन्द्रप्रसाद भट्टले बन्दामा ९९ दशमलव ११ अर्गानोफस्फेट र एक दशमलव ६१ कार्बामेट विषादीको अंश फेला परेको जानकारी दिए । उनका अनुसार वैज्ञानिक मापदण्डअनुसार अर्गानोफस्फेटको तीन सय ५५ भन्दा कम मात्रा खान उपयुक्त मानिन्छ भने चार सय ५५ भन्दा बढी भएमा नष्ट गर्नुपर्ने हुन्छ ।
कृषि प्राविधिकका अनुसार अर्गानोफस्फेटको ३५ प्रतिशतभन्दा कम मात्रा भए उपभोग योग्य, ३५ देखि ४५ प्रतिशत भए केही दिन पर्खेर खान मिल्ने र ४५ प्रतिशतभन्दा माथि रोकावट प्रतिशत मानिने भएकाले नष्ट गर्नुपर्ने हुन्छ ।
उक्त बन्दागोभी उपभोगका लागि अयोग्य ठहरिएपछि गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टको रोहवरमा नष्ट गरिएको हो । प्रवक्ता भट्टले उपभोक्तालाई विषादीरहित तरकारी तथा फलफूल मात्र उपभोग गर्न र प्रमाणित सामान रोज्न आग्रह गरे ।
पछिल्लो समय बजारमा असामान्य रूपमा पाकेको देखिने आँप आइपुगेको भन्दै उपभोगमा सर्तकता अपनाउन सुझाव दिइएको छ । तरकारी तथा फलफूल हाटबजार समिति अध्यक्ष दिल्लीराज जोशीले बाहिरी क्षेत्रबाट आउने तरकारी र फलफूलमा निगरानी बढाइएको बताए । उनले कृषकलाई विषादी प्रयोगबारे सचेत रहन पनि आग्रह गरे।
यसअघि सो तरकारी हाटबजारमा विषादी अवशेष द्रुत विश्लेषण एकाईले गोलभेँडामा पनि अत्यधिक मात्रामा विषादी फेला पारेको थियो ।
प्रतिक्रिया