नेत्रज्योति सङ्घद्वारा विदेशमा पनि सेवा विस्तार

काठमाडौं। नेपाल नेत्रज्योति सङ्घले मुलुकबाहिर आँखा सेवा उपलब्ध गराउन सुरुआत गरेको छ । अठ्ठाइस आँखा अस्पताल, दुई सय २४ उपचार केन्द्र र ४४ जिल्ला शाखाहरूको सञ्जालमार्फत स्वदेशमा आँखा उपचार सेवा प्रदान गर्दै आएको सङ्घले यही असार १३ गते ओमानको राजधानी मस्कटमा रहेका नेपालीको निःशुल्क आँखा जाँच गरेको हो ।
ओमानस्थित नेपाली राजदूतावासको समन्वय र सहकार्यमा नेपाली नेत्रविशेषज्ञले मस्कटमा रहेका नेपालीको निःशुल्क आँखा जाँच गर्नुका साथै आवश्यक पर्ने बिरामीलाई चस्मासमेत वितरण गरेको छ ।
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालका प्रमुख मेडिकल डाइरेक्टर एवं नेत्ररोग विशेषज्ञ डा पुष्पा गिरी श्रेष्ठको नेतृत्वमा मस्कटस्थित बदर अल समा अस्पताल र अल खुवेर अस्पतालमा आँखा परीक्षण शिविर आयोजना गरिएको थियो । शिविर आयोजनाका लागि त्यहाँस्थित नेपाली राजदूत डोरनाथ अर्यालले विशेष समन्वय र सहजीकरण गरेको नेपाल नेत्रज्योति सङ्घले जनाएको छ ।
विभिन्न कामको सिलसिलामा मुलुकबाहिर गएका नेपालीलाई आँखा उपचारमा सहजता होस् भन्ने उद्देश्यले नेपाली राजदूतावाससँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको सङ्घका महासचिव भरतबहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार आँखा परीक्षणपछि चश्मा आवश्यक देखिएका बिरामीलाई निःशुल्क चश्मा वितरण गरिएको थियो । प्रायः विदेशमा आँखा उपचार सेवा महँगो हुने गर्दछ ।
उनले भने, ‘विदेशमा आँखा उपचार सेवा महँगो हुने गर्दछ । श्रमिकहरूलाई त्यहाँ उपचार गराउन कठिन हुनसक्छ भनेर उहाँहरूको अवस्थालाई ख्याल गरेर आँखा परीक्षण कार्यक्रम राखेका हौँ ।’
अन्य देशहरूमा रहेका नेपाली श्रमिकलाई लक्षित गरेर आँखा परीक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको महासचिव चन्दले जानकारी दिए । उनका अनुसार नेपालको आँखा उपचार सस्तो एवं गुणस्तरीयताका कारण अन्य देशका नागरिक पनि यहाँ आँखा उपचार गराउन आउने गर्दछन् ।
चन्दले भने, ‘सबै नागरिकको पहुँचमा गुणस्तरीय आँखा सेवा पुर्याउँदै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ । यसै सेरोफेरोमा सङ्घीय सरकारसँगको समन्वय र सहकार्यमा आफ्ना योजना र कार्यक्रम केन्द्रित छन् । विदेशमा हुने आँखा परीक्षण कार्यक्रमले विश्व समुदायमा नेपालको सेवाका बारेमा प्रचारप्रसार र प्रवर्द्धन हुनेछ ।’
ओमानस्थित नेपाली राजदूतका अनुसार अनलाइनमार्फत नाम दर्ता गराएका नेपालीको आँखा परीक्षण गरिएको हो । यो कार्यक्रमको समीक्षापछि आगामी दिनमा ओमानका अन्य सहरमा नेत्रज्योति सङ्घसँगको सहकार्यमा आँखा परीक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहको दूतावासले जनाएको छ ।
सङ्घका अध्यक्ष प्रा.डा चेतराज पन्तले विदेशमा नेपालीलाई लक्षित गरी सञ्चालन गरिने यस्ता कार्यक्रमले नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रूपमा विकास गर्ने सङ्घको योजनामा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे।
सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार सन् २०२४ मात्र मात्र सङ्घको सञ्जालमार्फत भारतलगायत अन्य छिमेकी मुलुकका करिब नौ लाख आँखाका बिरामीको परीक्षण गरिएको छ भने एक लाख ६० हजारभन्दा बढी बिरामीको शल्यक्रिया गरिएको छ ।
उनले भने, ‘छिमेकी देशबाट जसरी हाम्रो आँखा उपचार सेवाको गुणस्तरीयताका कारण नागरिकहरू आइरहनुभएको छ त्यसरी हामीले अन्य देशका नागरिकलाई नेपालको आँखा उपचारका लागि आकर्षित गर्न सक्छौँ ।’
उनका अनुसारा स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा सङ्घका सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी चार करोड ६८ लाख ६८ हजार ६० जना बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया