युक्रेनमाथि हालसम्मकै ठूलो रूसी आक्रमण, कूटनीतिक समाधानको सम्भावना न्यून

किभ । रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको जारी युद्धको सन्दर्भमा तत्काल कुनै कूटनीतिक समाधान सम्भव नरहेको स्पष्ट पारेका छन् । उक्त अभिव्यक्तिसँगै रूसले युक्रेनविरुद्ध हालसम्मकै सबैभन्दा व्यापक हवाई आक्रमण आरम्भ गरेको पुष्टि भएको छ ।
उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन संवाद निष्कर्षविहीन रूपमा समाप्त भएको केही घण्टापछि सुरु भएको हो । राजधानी किभ लगायत युक्रेनका विभिन्न सहरहरूमा रातभरि ड्रोनको गुन्जन र विस्फोटहरूको आवाज सुनिएको थियो, जसमा युक्रेनी हवाई सुरक्षा प्रणाली सक्रिय रूपमा परिचालित रहेको जानकारी प्राप्त भएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले संवाददातासँग कुराकानी गर्दै भने, ‘हामी हाम्रो उद्देश्यहरू हासिल गर्न विशेष सैन्य अभियानलाई प्राथमिकता दिइरहेका छौं, तर त्यसलाई राजनीतिक तथा कूटनीतिक माध्यमबाट समाधान गर्नु अझ उपयुक्त हुनेछ ।’ यद्यपि उनले वर्तमान अवस्थामा कूटनीतिक समाधान सम्भव नरहेको स्पष्ट गरे ।
राष्ट्रपति ट्रम्पले एक दिनअघि राष्ट्रपति पुटिनसँग भएको संवादमा युद्ध अन्त्यको विषयमा कुनै प्रगति नभएको जानकारी दिएका छन् । युक्रेनी अधिकारीका अनुसार ट्रम्प र राष्ट्रपति भोलोदिमिर जेलन्स्कीबीच थप कुराकानी शुक्रबार नै तय गरिएको थियो ।
किभका बासिन्दा तिमुरले उक्त आक्रमणलाई विगतका घटनाहरूभन्दा निकै फरक र भयावह भएको बताउँदै भने, ‘यसअघि कहिल्यै यति धेरै विस्फोटहरू एकसाथ भएको थाहा थिएन ।’
राष्ट्रपति जेलन्स्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, ‘रूसले फेरि एकपटक प्रमाणित गरेको छ कि उसले युद्ध र आतंकको अन्त्य गर्ने कुनै तयारी गरेको छैन । यदि अन्तर्राष्ट्रिय समुदायबाट ठोस र ठूलो दबाब नपरेसम्म, रूसको विनाशकारी व्यवहारमा परिवर्तन आउन गाह्रो देखिन्छ ।’
रूसी सेनाले डोनेत्स्क क्षेत्रमा रहेको एक गाउँ नियन्त्रणमा लिएको दाबी गरेसँगै युक्रेनी भूभागमा थप दबाब सिर्जना भएको देखिन्छ । आक्रमणको क्रममा पोल्यान्डको किभस्थित दूतावासमा क्षति पुगे पनि त्यहाँका कर्मचारीहरू सुरक्षित रहेको जनाइएको छ ।
जर्मन परराष्ट्र मन्त्रालयले आक्रमणको समयबारे प्रतिक्रिया दिँदै भनेको छ, ‘नेताहरूबीचको संवाद सम्पन्न भएको तुरुन्तै आक्रमण हुनु यहि देखाउँछ कि रूस अझै पनि बल प्रयोगमा निर्भर रहन चाहन्छ । युक्रेनले आफ्नो रक्षा गर्न झन बढी सहयोगको आवश्यकता छ ।’
उक्त आक्रमण युक्रेनमाथिको रूसी आक्रमणमा हालसम्मकै सबैभन्दा ठूलो भएको युक्रेनी वायु सेनाले जनाएको छ । वायु सेनाका अनुसार सो आक्रमणमा ५३९ ड्रोन र ११ मिसाइल प्रयोग गरिएको थियो, जसबाट कम्तीमा २३ जना घाइते भएको पुष्टि भएको छ ।
युक्रेनले पनि पछिल्लो समय रूसभित्र प्रतिक्रिया स्वरूप हमला बढाएको छ । रुसको रोस्तोभ क्षेत्रमा युक्रेनी ड्रोन खस्दा एक महिलाको मृत्यु भएको त्यहाँका कार्यवाहक क्षेत्रीय गभर्नरले जनाएका छन् ।
युद्धविरामका लागि संयुक्त राज्य अमेरिकाको पहलमा सुरु गरिएका वार्ताहरू अहिले निष्क्रिय अवस्थामा देखिए पनि युक्रेन र रूसले युद्धबन्दीको नयाँ विनिमय कार्यक्रम जारी राखेका छन्, जुन इस्तानबुलमा भएको पछिल्लो छलफलको परिणामस्वरूप सम्भव भएको बताइएको छ ।
















441 polling stations in Karnali Province are highly sensitive
इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा
मुग्लिन-मलेखु सडकको म्याद ६ महिना थपियो
HoR elections: Inundation in monsoon, water shortage during winter main concern of Mahottari-2 voters
बलोचिस्तानमा पाकिस्तान सेनाको अपरेशन जारी,९२ आतङ्कवादी मारिए
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया