सोमबार, फागुन १८, २०८२

देशका विभिन्न राजमार्गको सातवटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध

मेरोन्यूज २०८२ असार २१ गते १९:२८

काठमाडौँ। वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी र पहिरोका कारण सङ्खुवासभा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र बाजुराका सडक पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकामा वर्षाका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ मा पहिरो खसेर बनेपा नाला हुँदै भक्तपुर खण्ड अवरुद्ध हुनुका साथै उक्त स्थानमा सडकमाथिको पुल भाँचिएको उनले जानकारी दिए ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुन पुगेको घिमिरेले बताए। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा बाढीका कारण भेरी करिडोर र रुकुमपश्चिमको आठविसकोट नगरपालिका–६ रिजिगारमा बाढीका कारण जाजरकोट डोल्पा भेरी करिडोर अवरुद्ध भएको छ ।

त्यस्तै जाजरकोटको पहिरोका कारण छेडागाड नगरपालिका–३ दखेरीभिरमा पहिरो जाँदा मध्यपहाडी राजमार्ग तथा बाजुराको बडिमालिका नगरपालिका–७ ढम्कले भासुपातालमा पहिरो जाँदा मार्तडी–कोल्टी सडक पूर्ण रूपमा बन्द भएका प्रहरी नायब महानिरीक्षक घिमिरेले उल्लेख गरे । प्रहरीका अनुसार पहिरोले अवरुद्ध भएको बाग्लुङथिस्त कालीगण्डकी करिडोर र रोल्पाको अखटेमा पहिरो जाँदा अवरुद्ध बनेको सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । त्यस्तै गुल्मीस्थित कालिगण्डकी करिडोर रोल्पाको परिवर्तन गाउँपालिका–५ मा खसेको पहिरोका कारण अवरुद्ध बनेको सहिद मार्ग एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया