गण्डकीमा अब यसरी बन्छ सरकार, संविधानमा यस्तो छ व्यवस्था

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । आफूविरुद्ध प्रदेशसभामा पेश भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची रहेको बेला उनले पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेका छन् ।
प्रदेश प्रमुखले अब संविधानको धारा १६८ (२) बमोजिम ३ दिनभित्र सरकार गठनका लागि आह्रवान गरेका छन् । संविधानको यो धाराअनुसार अब प्रदेशसभामा प्रतिनिधत्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
त्यसरी नियुक्त हुने मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने व्यवस्था छ । मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि अब कांग्रेस र माओवादी केन्द्रलाई बहुमतको सरकार बनाउने बाटो खुलेको छ ।
यसअगाडि नै कांग्रेस, माओवादी र जसपाले नयाँ मुख्यमन्त्रीमा कांग्रेसका प्रदेशसभा दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गर्दै अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
प्रदेशसभामा राष्ट्रिय जनमोर्चा निर्णायक छ । गण्डकी प्रदेशसभामा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा जनमोर्चाले पनि साथ दिने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अविश्वास प्रस्ताव आएको थियो ।
६० सदस्य रहेको गण्डकी प्रदेशसभामा अविश्वास प्रस्ताव पास हुन ३१ मत (बहुमत) आवश्यक हुन्छ । राष्ट्रिय जनमोर्चा, जसपाले गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने बताएपछि अविश्वास प्रस्ताव दर्ता गर्नेहरुको पक्षमा बहुमत पुग्ने देखिएको छ ।
वैशाख १५ गते गण्डकी प्रदेशसभामा अविश्वास प्रस्तावमा मतदानको कार्य सूची तय भएको थियो । सबै प्रक्रिया पूरा हुँदा अन्तिम समयमा जनमोर्चाका सांसद खिमविक्रम शाही प्रदेशसभा बैठकमै देखिएनन् । उनको पार्टीका सांसद पियारी थापाले शाही हराएको भन्दै बैठक स्थगित गर्न आग्रह गरेपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठक अनिश्चितकालका लागि रोकिदिएका थिए । त्यसपछि भोलिका लागि मतदान गर्ने गरी अर्काे बैठक तय भएको थियो । तर बैठकको अघिल्लो दिन मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।
अब कांग्रेसका कृष्णचन्द्र नेपालीलाई कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चा समेत मिलाउँदा बहुमत पुग्ने र सरकार गठनको बाटो खुल्ने अवस्था देखिएको छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
टी-२० विश्वकपकाे अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रतिक्रिया