शनिबार, मंसिर ६, २०८२

तिलोत्तमा दोस्रो पटक पनि देशभरकै दोस्रो, लुम्बिनी प्रदेशको पहिलो उत्कृष्ट नगरपालिका

मेरोन्यूज २०८२ भदौ ४ गते १४:५६

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका दोस्रो पटक पनि देशभरको दोस्रो उत्कृष्ट नगरपालिका घोषित भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा)को आर्थिक वर्ष २०८०÷०८१ को नतिजामा कार्यसम्पादनमा देशकै दोस्रो उत्कृष्ट नगरपालिका घोषणा गरेको हो ।

२०७९÷२०८० मा मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन पनि तिलोत्तमा मुलुकभर दोस्रो भएको थियो । गत वर्ष देशभरको उत्कृष्ट नगरपालिका घोषित धादिङको नीलकण्ठ नगरपालिका तेस्रोमा झर्दा तिलोत्तमाले दोस्रो स्थान दोस्रो पटक पनि कायमै राखेको हो । मुल्यांकनमा चितवनको खैरहनी नगरपालिका प्रथम घोषित भएको छ । तिलोत्तमाले कार्यसम्पादन मुल्यांकनमा लुम्बिनी प्रदेश भएको पहिलो स्थानलाई अहिलेको कार्यसम्पादन मुल्यांकनमा पनि कायम राखेको छ ।

मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धीको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंनको आर्थिक वर्ष २०८(०८१ को नतिजामा तिलोत्तमाले दोस्रो स्थान कायमै राखेको बताएको हो ।

छनौट भएका पालिकाहरुलाई भाद्र ६ गते सङीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा मन्त्री भगवती न्यौपानेले सम्मान गर्ने कार्यक्रम तय भएको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले नगरबासी, जनप्रतिनिधि, कर्मचारी, र सबै सहयोगीको योगदानले दोस्रो उत्कृष्ट नगरपालिकाको उपाधि कायम राख्न सफल भएको बताए ।

उनले नगरपालिकालाई उत्कृष्ट बनाउन सहयोग गर्ने सबै जनप्रतिनिधि, कर्मचारी, सेवाग्राही नगरबासीहरुमा धन्यबाद ज्ञापन गर्दै यो सम्मानले समग्र नगरपालिका र नगरबासीहरुलाई थप प्रेरणा मिलेको बताए । आफुहरू निर्वाचित भएर आइसकेपछि सामाजिक सेवामा अग्रसर भएर लागेको, विकाश निर्माण, नीति निर्माण र सामजिक दायित्वका सेवाहरू शिक्षा, स्वास्थ्य, रोजगारी तथा विपद ब्यबस्थापनमा नगरपालिकाले गरेको कामले नतिजा दिएको बताए ।

प्रतिक्रिया