एमालेको विधान महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विचार दस्तावेजमाथि छलफल गर्न आजदेखि ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनका प्रतिनिधिले शुक्रबारदेखि तीन दिनसम्म पार्टीको आन्तरिक जीवनबारे बृहत् छलफल गर्नेछन् । सो छलफल गर्न देशभरिका महाधिवेशनका प्रतिनिधि काठमाडौँ आउनेक्रम जारी छ ।
एमालेको विधान २०४९ (दशौँ राष्ट्रिय महाधिवेशन २०७८ संशोधनसहित) को धारा–१५ मा विधान महाधिवेशनको व्यवस्था गरिएको छ । उक्त धारामा विधान महाधिवेशन केन्द्रीय कमिटीले दुई राष्ट्रिय महाधिवेशनकाबीचमा विधान महाधिवेशन आयोजना गर्ने उल्लेख गरिएको छ ।
विधानअनुसार विधान महाधिवेशनले महाधिवेशन सञ्चालन गर्न आवश्यक संरचना गठन गर्ने, केन्द्रीय कमिटीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोगका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने उल्लेख छ ।
एमाले महासचिव शङ्कर पोखरेलले महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने बताए । “यो महाधिवेशनले पार्टीको विचारमाथि छलफल गर्नेछ”, उनले भने, “राष्ट्रिय महाधिवेशनले नेतृत्वमाथि छलफल गर्छ ।”
एमालेले नवौ राष्ट्रिय महाधिवेशनपछि गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा पनि यसअघि नै विधान महाधिवेशन आयोजना गरेको थियो । यो महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कूल दुई हजार ३४१ जनाको सहभागी हुनेछन् ।
महाधिवेशन जानेबाटो सातदोबाटोदेखि गोदावरीसम्म जाने बाटो झकिझकाउ बनाएको छ । उक्त सडकखण्डमा करिब १८ वटा झकिझकाउ स्वागतद्वार निर्माण गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । दायाँबायाँ बिजुलीका खम्बामा नेकपा ९एमाले०को हसिया हथौडा र चुनाव चिन्ह सूर्य ध्वजावाहक झण्डाले सिँगारिएका छन् ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु हुने नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनस्थल गोदावरी सनराइज सभाहललाई सिँगारिएको छ । पार्टीको पाँचौं महाधिवेशनदेखि बाँस, काठ, हस्तलिखित ब्यानरबाट मञ्च, स्वागतद्वार निर्माण गर्दै आएका पार्टी स्थायी कमिटी सदस्य विनोद श्रेष्ठ यतिखेर सनराइज सम्मेलनलाई डिजिटल सिस्टममा जोडिएको बताए ।
सनराइज सम्मेलन केन्द्रभित्र छिर्ने चार वटा प्रवेश द्वार छन् । पहिलो द्वारबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै प्रवेश गर्नेछन् । अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै प्रवेश गर्नेछन् ।
भित्र प्रवेश गर्नका लागि परिचय स्क्यान गर्नुपर्नेछ । यसका लागि छ वटा कम्प्युटरका बुथ रहनेछन् । त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकले प्रवेश पाउनेछन् । मूल प्रवेश द्वारबाट प्रवेश गर्दा हलको छतबाट पार्टी र चुनाव चिन्ह सूर्य अङ्कित झण्डा लहरै फहराएका हुनेछन् ।
हलको भित्तामा महाधिवेशनको लोगो, नेकपा (एमाले) र अङ्ग्रेजीमा ‘सिपिएन युएमल’ले स्वागत गरिएको छ । पानी फोहोराका साना पोखरीमा सेता हाँसका जोडी खेलेको पनि देख्न पाइनेछ । साथै नेकपाका संस्थापक महासचिव पुष्पलाल, पूर्वमहासचिव मदन भण्डारी र पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको पूर्णकदको तस्बिर राखिएको छ । पश्चिमतिर कार्लमाक्र्स, एङ्ल्स र लेनिनको पूर्ण कदसहित तस्बिर राखिएको छ ।
मञ्चमा १८ जना पदाधिकारीहरु मात्रै बस्नेछन् । मञ्चमा दुई खण्ड बनाइएको छ । अघिल्लो खण्डमा अध्यक्ष ओली बस्नुहुनेछ अन्य पदाधिकारीहरु पछिल्लो खण्डमा मर्यादाअनुसार बस्ने व्यवस्था मिलाइएको छ ।महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
त्यसैगरी, केन्द्रीय अनुशासन आयोगकातर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगकातर्फबाट अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
महाधिवेशन पहिलो दिन प्रतिवेदनमाथिको छलफलका लागि १० समूहमा विभाजन गरी छलफल गराइने एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि सातदोबाटो चोकबाट महाधिवेशनस्थलसम्म यातायातको व्यवस्था गरिएको छ ।
करिब १२ मिनेटमा उद्घाटन कार्यक्रम सक्ने तयारी गरिएको छ । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन हिजोको सचिवालय बैठकले पास गरेको छ । अध्यक्ष ओलीको प्रतिवेदन पछि करिब एक बजे एक घण्टाका लागि ‘खाजा ब्रेक’ को कार्यक्रम रहेको छ । त्यसपछि उपाध्यक्ष विष्णु प्रसाद पौडेलले विधान संसोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
यसैगरी निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पनि आजै पेश गरिनेछ । साँझ पाँच बजे आजका कार्यसूची सकिने गौतमले बताए ।
मञ्च व्यवस्थापन समिति संयोजक एवं पार्टी पोलिटब्युरो सदस्य बिनोद श्रेष्ठका अनुसार हल बाहिर निरन्तर विभिन्न जात,जाती र समुदायका झाँकीहरु प्रष्तुत गरिनेछ । उक्त दृष्य हल भित्रका प्रतिनिधीहरुले डिजिटल बोर्ड मार्फत हेर्नेछन् ।
भोली प्रतिवेदनहरु माथी नौ वटा समुहमा छलफल हुने र पर्सी समुहले पेश गरेका प्रतिवेदन प्रष्तुती सहित अध्यक्ष ओलीले सम्बोधन गरेर महाधिवेशन अन्त्य गरिने एमालेले जनाएको छ । एमालेले २०७८ सालमा पहिलो विधान महाधिवेशन पनि यसै हलमा आयोजना गरेको थियो ।









दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
बुधबार घट्याे सेयर बजार
शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया