बिहीबार, चैत २६, २०८२

अमेरिकी विश्वविद्यालयको भिसा दर घट्यो, भारतीयका लागि नाटकीय गिरावट

मेरोन्यूज २०८२ असोज २२ गते ८:४८

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दवावबीच संयुक्त राज्य अमेरिकाले अगस्टमा लगभग पाँच भागको एक भाग कम विद्यार्थी भिसा जारी गरेको छ। अन्तर्राष्ट्रिय व्यापार प्रशासनका अनुसार संयुक्त राज्य अमेरिकाले अगस्टमा तीन लाख १३ हजार १३८ विद्यार्थी भिसा जारी गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अमेरिकी विश्वविद्यालयहरूले अगस्टमा सबैभन्दा बढी विद्यार्थीका भिसा स्वीकृत गर्ने गर्छन् तर सन् २०२४ को अगस्टको तुलनामा यो दर १९.१ प्रतिशतले घटेको छ। गत वर्ष संयुक्त राज्य अमेरिका जाने विदेशी विद्यार्थीहरूको शीर्ष स्रोत रहेको भारतमा सबैभन्दा नाटकीय गिरावट आएको छ र अघिल्लो वर्षको तुलनामा ४४.५ प्रतिशत कम विद्यार्थीले भिसा पाएका छन् । चिनियाँ विद्यार्थीहरूको लागि भिसा जारी गर्ने क्रम पनि घटेको छ तर लगभग समान दरमा होइन।

संयुक्त राज्य अमेरिकाले अगस्टमा मुख्य भूमि चीनका विद्यार्थीहरूका लागि ८६ हजार ६४७ भिसा जारी गरेको छ। यो भारतीयहरूलाई जारी गरिएको सङ्ख्याको दोब्बरभन्दा बढी हो। तथ्याङ्कले अमेरिकामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको समग्र सङ्ख्यालाई प्रतिबिम्बित गर्दैन, किनभने उनीहरूमध्ये धेरै पहिले जारी गरिएको भिसामा छन्। ह्वाइट हाउसमा पुनः फर्किएपछि ट्रम्पले आप्रवासन नियन्त्रण र विश्वविद्यालयहरूमाथि दवाव दिने दुवै कामलाई उच्च प्राथमिकता दिनुभएको छ।

विश्वविद्याल आप्रवासनलाई उहाँको प्रशासनले वामपन्थीहरूको प्रमुख शक्ति आधारको रूपमा हेर्छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत जुनमा केही समयका लागि विद्यार्थी भिसाको प्रक्रिया स्थगित गरिएको घोषणा गर्नुभएको थियो । रुबियोले अमेरिकी विदेश नीति चासोको बिरूद्ध जाने मानिसहरूलाई प्रवेश गर्न अस्वीकार गर्न सक्ने आधारमा प्रायः इजरायलको आलोचना गरेको कारण हजारौं विद्यार्थी भिसा रद्द गरेका छन् ।

विशेष गरी भारतीयहरूलाई असर गर्ने नियमहरूमा, ट्रम्प प्रशासनले आवेदकहरूलाई उनीहरूको देशमा अमेरिकी वाणिज्य दूतावासको क्षेत्राधिकार बाहिर भिसाका लागि आवेदन दिन अझ गाह्रो बनाएको छ । ट्रम्पले भारतसँग असहमतिमा धेरै कदम चाल्नुभएको छ । यसलाई दशकौंदेखि दुवै पार्टीका अमेरिकी नीति निर्माताहरूले समर्थन गर्दै आएका थिए। उनीहरूले भारतलार्ई चीनको स्वाभाविक ‘काउन्टरवेट’को रूपमा हेरेका थिए।

राष्ट्रपति ट्रम्पले अधिकांश भारतीय प्रविधि कामदारहरूले प्रयोग गर्ने गरेका एच–१ बी भिसामा पनि नयाँ शुल्क लगाउनुभएको छ। यद्यपि चिनियाँ विद्यार्थीहरूको भिसा ‘आक्रामक’ रूपमा रद्द गर्ने रुबियोको प्रतिवद्धताका बावजुत ट्रम्पले दुई शक्तिहरूबीचको सम्बन्ध बढाउनका लागि चिनियाँ विद्यार्थीहरूको सङ्ख्या बढाउने आशा व्यक्त गर्नुभएको छ। पछिल्लो तथ्याङ्कले धेरै मुस्लिम बहुल देशहरूबाट विद्यार्थी भिसामा पनि तीव्र गिरावट देखाएको छ । इरानबाट भर्ना हुने विद्यार्थीको सङ्ख्या ८६ प्रतिशतले घटेको छ।

प्रतिक्रिया