सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य गर्न सञ्चारमन्त्रीकाे निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) अनिवार्य गराउनेगरी काम गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिएका छन् ।
सञ्चार मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले मन्त्रालयको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै मन्त्रालय र निकायलाई कागजरहित बनाउनुपर्नेमा जोड दिए ।
सञ्चारमन्त्री खरेलले भने, “अहिलेकै कार्यकालमा जिआइओएमएसलाई हरेक मन्त्रालयमा अनिवार्य गराउनेगरी काम गर्न आग्रह गर्दछु, यसले सेवा प्रभावकारिता र सुशासन कायम गर्न मद्दत गर्नेछ ।” उनले सुशासनसहित मुलुकको विकास र आर्थिक समृद्धिका लागि सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने भएकाले विभागलाई नीतिगत र संरचनागत सुधार गरिनुपर्नेमा जोड दिए ।
हाल अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयले जिआइओएमएस लागू गरिसकेका छन् । सरकारी निकायबाट सम्पादन हुने कार्यलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी सम्पादन गरी कागजरहित बनाउने सरकारको अवधारणालाई कार्यान्वयन गर्न यो प्रणाली सुरु गरिएको जनाइएको छ ।
सूचना प्रविधि विभागद्वारा विकास गरिएको यो प्रणाली प्रयोगगरी विद्युतीयमाध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापनलगायत अनिवार्य रुपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरी सम्पादन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्रीमन्त्री खरेलले निर्धारित मितिमा निर्वाचन हुने र त्यसपछि बन्ने संसद् र सरकारमा युवाको वर्चश्व हुने भएकाले मुलुकको सूचना प्रविधि क्षेत्रको विकासका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले विभागको कामलाई बढी प्रविधिमैत्री एवं सेवालाई चुस्त र प्रभावकारी बनाउन आग्रह गरिन् । सूचना प्रविधि विभागका महानिर्देशक श्री चन्द्र साहले विभागलाई नीतिगत र संरचनागत सुधार गरी सेवालाई प्रविधिमैत्री बनाइने विश्वास व्यक्त गरे ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रतिक्रिया