शुक्रबार, माघ ९, २०८२

महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा

मेरोन्यूज २०८२ माघ ८ गते १८:२५

कीर्तिपुर (काठमाडौँ) । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बंगलादेशले जित हासिल गरेसँगै सुपर सिक्समा स्थान पक्का गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको खेलमा बंगलादेशले लगातार तीन जित हासिल गरेसँगै सुपर सिक्समा प्रवेश गरेको हो ।

आज सम्पन्न तेस्रो खेलमा बङ्गलादेशले नामिबियालाई ८० रनले पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको हो । यसअघि बंगलादेशले अमेरिका र पपुवान्युगिनीलाई हराएको थियो । यो जितसँगै बङ्गलादेश छ अंकका साथ ‘ए’ समूहको शीर्ष स्थानमा छ ।

खेलको सुरुमा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४४ रन बनाएको थियो । बङ्गलादेशका लागि शोभना मोस्तरीले सर्वाधिक २७ र दिलेरा अख्तरले २५ रन जोडेका छन् ।

नामिबियाको बलिङमा साइमा टुहादेलेनी र सिल्भिया सिहेपोले समान दुई/दुई विकेट लिए भने विल्का म्वाटिले र जुरियन यायरगार्डट्ले एक÷एक विकेट लिएका छन् । जवाफी ब्याटिङमा नामिबियाले १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो ।

नामिबियाका लागि सुने विटमानले सर्वाधिक १९ र मेजरली इगोरासेसले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । बंगलादेशकी शोर्ना अख्तरले चार र रबेया खान तथा फहिमा खातुनले समान तीन/तीन विकेट लिएका छन् ।

प्रतिक्रिया