बुधबार, माघ १४, २०८२

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

मेरोन्यूज २०८२ माघ १४ गते ७:४२

बैतडी। बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो । हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताए ।

हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ । यसैगरी, ढोरपाटनबाट रासस प्रतिनिधिले जनाएअनुसार ढोरपाटनसहित बागलुङका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ ।

गए रातिदेखि बाक्लो हिउँ परेको छ । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएका छन् । हिमपातका कारण धारामा पानी जमेको छ । निरन्तर हिमपात भइरहेकाले स्थानीयलाई हिँडडुल गर्न कठिन भएको छ ।

ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ । हिमपातसँगै हिउँदे बाली सप्रने विश्वास स्थानीय किसानहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया