पशुपति क्षेत्रमा तयारी अन्तिम चरणमा,शिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन आग्रह

काठमाडौँ।महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रि पर्व मनाउनका लागि आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति बढ्न थालेको छ । महाशिवरात्रिका लागि कोषले सम्पूर्ण व्यवस्थापन कार्य पनि उच्च प्राथमिकताका साथ गरेको आज कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
महाशिवरात्रि पर्व सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति गठन गरिएको छ । मन्त्रीको अध्यक्षतामा गठन गरिएको १७१ सदस्यीय मूल समारोह समितिले पनि सक्रियरुपमा काम गरिरहेको छ ।
मन्त्री सिन्हाको निर्देशन र प्रत्यक्ष उपस्थितिमा कोषले तयारीका काम गरिरहेको छ । पर्व सम्पन्न गर्न नौ वटा विषयगत उप–समिति गठन गरिएको छ । पशुपतिनाथ आउने दर्शनार्थीलाई सहज सेवा दिन सम्पूर्ण ध्यान केन्द्रित गरेको कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले सुनाए । यसपटक महाशिवरात्रि पर्व उल्लासमय वातावरणमा मनाइँदैछ । पशुपति क्षेत्र फूल र बत्तीले आकर्षक रुपमा सिँगार्न थालिएको छ ।
नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मारसहित विश्वका धेरै देशबाट भक्तजनको उपस्थिति भइरहेको छ । व्यवस्थित रुपमा पूजाआजा र दर्शनको व्यवस्था गर्नका लागि आइतबार बिहान २ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने निर्णय भएको उनले बताए ।
कोषको प्राथमिकता भक्तजनको सुविधा र सहजता भएकाले त्यसै अनुरुप काम गरिएको छ । दर्शनार्थी, साधुसन्त एवं भक्तजनको सङ्ख्या वृद्धि भएकाले सुरक्षा तथा स्वास्थ्यका मापदण्ड पालना गर्न कोषले आह्वान गरेको छ । भगवान्को दर्शन गर्न लामो समय प्रतीक्षा गर्न नपर्ने गरी व्यवस्थापन गरिएको छ । पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था पनि महाशिवरात्रिकै लागि प्रभावकारी बनाइएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको छ । सुरक्षा निकायसँगै कोषको आफ्नो सुरक्षा टोली पनि पशुपति क्षेत्रमा खटाइएको छ । दर्शनार्थीको सुरक्षामा विशेष ध्यान दिइएको छ । साधुसन्त, महन्थ र भक्तजनको सुरक्षा गर्दै अनुगमन गर्ने प्रबन्ध गरिएको छ ।
सामाजिक एवं धार्मिक संघसंस्था परिचालन गरी महाशिवरात्रि पर्वलाई सहज रुपमा व्यवस्थापन गर्न लागिएको छ । कालिका साधना संघ, नेपाल रेडक्रस, स्काउट, लायन्स क्लब र धार्मिक संघ संगठनका तर्फबाट स्वयंसेवक खटाइएको कोषले जनाएको छ । भक्तजनका लागि स्वास्थ्य सेवाको उचित व्यवस्था गरिएको छ ।
अस्पतालमा शैया बुक गर्ने तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँगै विभिन्न क्षेत्रबाट स्वास्थ्यकर्मी, औषधी र एम्बुलेन्स तयार अवस्थामा राखिएको छ । साधुसन्तको व्यवस्थापन मन्दिर परिसरमा गरिएको छ । मन्दिर परिसरस्थित धर्मशालामा बस्ने व्यवस्था गरिएको छ । तिलगंगासँगै हंशमण्डप, वनकालीसहितका क्षेत्रमा निःशुल्क आवास, भोजन आदिको व्यवस्थापन गरिएको छ । यी स्थलमा हजारौँ भक्तजनको भीड जम्मा हुन थालेको छ ।
भगवान् पशुपतिनाथको दर्शन, चन्दन वितरणसहित दर्शनार्थीको सम्पूर्ण सेवालाई व्यवस्थित गर्नेगरी महाशिवरात्रि पर्व मनाउने तयारी गरिएको छ । महाशिवरात्रि पर्वलाई विशेष बनाउन मन्दिर परिसरलाई आकर्षक रुपमा सिँगारिएको छ । पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीलाई फेरि पनि आउने गरी आकर्षित गर्ने गरी तयारी गरिएको छ ।
पशुपतिनाथ मन्दिर आउने भक्तजनलाई फागुन कृष्ण एकादशी अर्थात् शुक्रबारदेखि नै गुठी संस्थानले खाने, बस्ने र धुनी जगाउने व्यवस्था गरेको जनाइएको छ । कोषका सदस्य सचिव प्रकाशमणि शर्मा भुसाल विश्व शान्ति शिवतत्वबाट नै हुने भएकाले विश्व शान्तिसँग जोडेर महाशिवरात्रि पर्व मनाउने तयारी गरिएको बताउनुहुन्छ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रको सरसफाइमा विशेष ध्यान दिइएको र पर्यावरण जोगाएर नै पर्व मनाउने व्यवस्था मिलाइएको उनले बताए।
काठमाडौँ महानगरपालिकाले आगामी फागुन ३ गते परेको शिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन साझेदारहरूलाई विगतको कमजोरी दोहोरिन नदिन आग्रह गरेको छ । कार्यवाहक प्रमुख सुनिता डङ्गोलले साझेदारसँग छलफल गर्दै विगतमा जस्तो कमी कमजोरी हुन नदिन आग्रह गरेका हुन् । “महाशिवरात्रि पर्वमा पाशुपत क्षेत्रसहित श्रद्धालुहरूको भीड हुने शिव मन्दिरहरूको व्यवस्थापनका लागि हामीले जनशक्ति, स्रोत, साधन र उपकरणको परिचालन गरिसकेका छौँ ।
सरसफाइ र स्वच्छताका लागि ब्रुमर सञ्चालन गर्ने, पानी छर्किने काम थालिएका छन्”, कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो, “विगतदेखि सञ्चालन हुँदै आएका स्वास्थ्य शिविरलगायत कार्यक्रमलाई नियमितता दिनेछौँ । यस वर्ष पशुपति क्षेत्रमा दमकल र एम्बुलेन्स तैनाथ राख्नेछौँ । आकस्मिक स्वास्थ्य सेवा तथा विपद्जन्य अन्य प्रतिकार्यका लागि विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राख्नेछौँ ।
पर्व तयारीबाट थालिएको काम पर्व सञ्चालन हुँदा र सकिएपछि पनि हामी नियमित काममा नै हुनेछौँ ।” महानगरभित्रका शिव मन्दिरहरू सबैमा कामपाको समान दृष्टि हुनेछ । उहाँले भन्नुभयो, “कामपाको तर्फबाट सम्पदा तथा पर्यटन समितिका संयोजक तथा पशुपति भएको वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले संयोजन गर्नेछन् ।
उनी (सङ्गत)सँगै छिमेकी वडा नं ७ का अध्यक्ष विमलकुमार होडा र शिव मन्दिर भएका सम्बन्धित वडाका जनप्रतिनिधिले कामपाका तर्फबाट संयोजन गर्नेछन् ।” बैठकमा सम्पदा तथा पर्यटन समितिका संयोजक सङ्गतले विगतमा पर्व व्यवस्थापनका लागि स्थानीयले निर्वाह गर्दै आएको भूमिका खोसिदै गएको बताउँदै स्थानीय सहभागी नभएको पर्व जीवन्त हुन नसक्ने बताए।
सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीले निर्वाचन सुरक्षा कार्यक्रम सुरु भइसकेकाले यस वर्ष जनशक्ति व्यवस्थापनमा थप काम गर्नुपर्ने अवस्था रहेको बताए । यस वर्ष पशुपतिमा करिब आठ लाख श्रद्धालुले मन्दिरको प्रत्यक्ष दर्शन गर्ने अनुमान छ । मन्दिर परिसरमा करिब २० लाख श्रद्धालु आउने अनुमान छ । यस पर्वका लागि काठमाडौँको पशुपति क्षेत्रसहित वसन्तपुर क्षेत्रमा रहेको महेन्द्रेश्वर महादेव, वडा नं ३२ मा रहेको कोटेश्वर महादेवसहित विभिन्न शिव मन्दिरहरूमा श्रद्धालुको भीड हुने गरेको छ ।

















प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो
Price of gold and silver declines in domestic market
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया