निर्वाचन आयोगसँगकाे सहकार्यमा टिकटकले सुरु गर्यो ‘इन–एप इलेक्सन सेन्टर’

काठमाडौं । टिकटकले नेपालमा ‘इन–एप इलेक्सन सेन्टर’ सुरु गरेको घोषणा गरेको छ। आगामी आम निर्वाचनलाई लक्षित गर्दै प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले उक्त सुविधा सञ्चालनमा ल्याइएको जनाइएको छ।
टिकटकका अनुसार सन् २०२० देखि विश्वभर २०० भन्दा बढी निर्वाचनमा लागू गरिँदै आएका निर्वाचन निष्पक्षता र नैतिकता सम्बन्धी पहलको निरन्तरता स्वरूप नेपालमा पनि यो सेवा सुरु गरिएको हो।
यसक्रममा टिकटकले निर्वाचन आयोग, नेपालसँग निर्वाचनको निष्पक्षता र नैतिकता प्रवर्द्धन गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरेको छ। आयोग परिसरमा क्षमता अभिवृद्धि कार्यशाला समेत सञ्चालन गरिएको टिकटकले जनाएको छ। कार्यशालामा जिम्मेवार डिजिटल सहभागिता, भ्रामक सूचना नियन्त्रणका उपाय तथा सरोकारवालाबिच निर्वाचन नैतिकता सम्बन्धी समझदारी बलियो बनाउने विषयमा छलफल भएको थियो।
एपभित्र उपलब्ध ‘इलेक्सन सेन्टर’ निर्वाचन आयोगसँगको सहकार्यमा विकास गरिएको हो। यसमा नेपालको निर्वाचन प्रक्रिया, कहाँ र कसरी मतदान गर्ने, भ्रामक सूचना पहिचान गर्ने उपाय तथा आयोगका आधिकारिक स्रोतमा जोडिने लिङ्कहरू समावेश छन्। निर्वाचनसम्बन्धी कन्टेन्ट र सर्चमा विशेष ट्याग प्रयोग गरी प्रयोगकर्तालाई सो केन्द्रतर्फ मार्ग निर्देशन गरिने जनाइएको छ।
दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फेर्दौस मोत्ताकिनले निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण क्षण भएको उल्लेख गर्दै प्लेटफर्मले सुसूचित सहभागिता र सुरक्षित डिजिटल वातावरण प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको बताए।
टिकटकले हानिकारक तथा भ्रामक सूचना नियन्त्रणका लागि कडा नीति लागू गरेको जनाएको छ। एड्भान्स मोडरेशन प्रविधि र सुरक्षा विज्ञहरूको सहयोगमा कन्टेन्ट अनुगमन गरिने र नेपालका लागि ‘इलेक्सन टास्कफोर्स’ समेत परिचालन गरिएको उल्लेख छ। अपुष्ट सामग्रीमा लेबल लगाउने, सिफारिसबाट हटाउने वा सेयरअघि सचेत गराउने जस्ता उपाय अपनाइने बताइएको छ।
साथै, गोप्य प्रभाव सञ्चालन, नक्कली पहिचान र बोट नेटवर्कजस्ता कृत्रिम संलग्नता निषेध गरिएको छ। यस्ता गतिविधिविरुद्ध गरिएका कारबाही ‘ट्रान्सपेरेन्सी सेन्टर’मार्फत सार्वजनिक गरिने टिकटकले जनाएको छ।
एआईद्वारा निर्मित सामग्रीलाई अनिवार्य रूपमा लेबल गर्नुपर्ने व्यवस्था गरिएको र C2PA Content Credentials जस्ता प्रविधि प्रयोग गरी अन्य प्लेटफर्ममा सिर्जित एआई सामग्री समेत पहिचान गर्न सकिने जनाइएको छ।
आगामी आम निर्वाचनका सन्दर्भमा आफ्ना पहल र अद्यावधिक विवरण ‘ग्लोबल इलेक्सन इन्टेग्रिटी हब’मार्फत सार्वजनिक गर्दै जाने टिकटकले जनाएको छ।

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
प्रतिक्रिया