आइतबार, फागुन १७, २०८२

निर्वाचन लक्षित सुरक्षा तयारी पूरा, स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेः गृहमन्त्री अर्याल

मेरोन्यूज २०८२ फागुन १७ गते १६:५२

जानकी (बाँके)। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा तयारीको सम्पूर्ण काम पूरा भएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

यही फागुन २१ गते हुने निर्वाचनका क्रममा आवश्यक सुरक्षा व्यवस्थाकाबारेमा जानकारी लिने उद्देश्यले आज नेपालगञ्ज आइपुगेका गृहमन्त्री अर्यालले भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

आज बाँकेको नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले कुनै पनि कसर बाँकी नराख्ने स्पष्ट गर्दै ढुक्क भएर मतदान गर्न देशवासीसँग अनुरोध गरे ।

गृहमन्त्री अर्यालले जिल्लास्थित प्रमुखहरुसँगको भेटघाटपछि उनले भने, “बाँके जिल्लाको निर्वाचन सुरक्षाको अवस्था र व्यवस्थासहित रणनीति बुझ्ने क्रममा यहाँ आएको हुँ । सम्बद्ध सुरक्षा प्रमुखहरुबाट समग्र विषयवस्तुका बारेमा जानकारी प्राप्त भयो । सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ, निर्धक्क भएर मतदान गर्न सबैसँग अनुरोध गर्दछु । ”

गृहमन्त्री अर्यालले जिल्ला सुरक्षा समिति, प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृतलगायत निर्वाचनसँग सम्बन्धित सबै निकायको कामकारबाहीसहित आउनसक्ने चुनौतीको पूर्वतयारी सन्तोषजनक रहेको बताए ।

उनले अहिले समग्र देशको सुरक्षा अवस्था सुदृढ भएको र देशव्यापी रुपमा निर्वाचनको माहोल बनेकाले अत्यधिक जनताको सहभागितासहित उल्लासमय वातावरणबीच शान्तिपूर्ण ढङ्गबाट निर्वाचन सफल हुने विश्वास व्यक्त गरे ।

कहीँकतैबाट निर्वाचन बिथोल्न प्रयास हुनसक्नेतर्फ सचेत गराउँदै गृहमन्त्री अर्यालले भने “राजनीतिक दल नभई केही समूह त्यसमा सक्रिय छन् । त्यस्ता समूहलाई हामीले नियन्त्रणमा लिएका छौँ र लिन्छौँ पनि । जसले कानुनविपरीत काम गर्छ र मताधिकार जस्तो लोकतान्त्रिक प्रक्रियामा अवरोध गर्छ, तिनीहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिनेछ ।”

उनले एकफरक प्रसङ्गमा बाँके जिल्लामा कायम रहेको धार्मिक सहिष्णुताको प्रशंसा गर्दै गलत तत्वलाई समयमै पहिचान गरी रोकथाम गर्न यहाँको नेतृत्व सफल भएको बताए । सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्रीले ‘जेनजी’ आन्दोलनका बेला भएका घटनाको विस्तृत अध्ययन भइरहेको र त्यसका लागि सरकारले समय थप गरेकोसमेत जानकारी दिए ।

गृहमन्त्री अर्यालको भ्रमण टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललगायत उच्चपदस्थ सुरक्षा अधिकारी छन् । गृहमन्त्री अर्याल सुदूरपश्चिम प्रदेशअन्तर्गतका बझाङ, बाजुरालगायत जिल्लाको सुरक्षा व्यवस्थासम्बन्धी स्थलगत जानकारी लिने क्रममा आज नेपालगञ्ज आइपुगेका हुन् ।

प्रतिक्रिया