आइतबार, फागुन २४, २०८२

प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद

मेरोन्यूज २०८२ फागुन २३ गते १६:४९

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहमद बिन जायद अल नाह्यानसँग टेलिफोन संवाद गरेकी छिन्।

Advertisement
nepal life insurencenepal life insurence

प्रधानमन्त्री कार्कीले पवित्र रमजानका अवसरमा शान्ति, न्याय र सद्भावको लागि हार्दिक शुभकामना व्यक्त गरिन्।

संवादका क्रममा प्रधानमन्त्री कार्कीले युएईको सार्वभौम क्षेत्रमा नागरिक पूर्वाधारलाई समेत लक्षित गरी भएका आक्रमणहरूको निन्दा गर्दै यस विषम परिस्थितिमा संयुक्त अरब इमिरेट्सलाई नेपालका तर्फबाट ऐक्यबद्धता व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले यस परिस्थितिमा सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन, तनाव नबढाउन र नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेकी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

युद्ध कहिल्यै शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उनले कूटनीति र संवादका माध्यमबाट मात्र दिगो शान्ति सम्भव हुने बताइन्। पश्चिम एसियाको परिस्थिति यथाशीघ्र सामान्य अवस्थामा फर्कने विश्वास उनले व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले सार्वजनिक सुरक्षा सुनिश्चित गरेकामा र त्यहाँ रहेका नेपाली नागरिकसहित सबै बासिन्दा, आगन्तुक र ‘ट्रान्जिट’मा रहेका मानिसको समान रूपमा हेरविचार गरेकामा युएई सरकारप्रति हार्दिक आभार व्यक्त गरिन्।

प्रधानमन्त्रीले यही फागुन १७ गते जायद अन्तरराष्ट्रिय विमानस्थलमा सेवाप्रवाहका क्रममा एक नेपाली नागरिकले जीवन गुमाएको जानकारी प्राप्त हुँदा आफूलाई दुःख लागेको बताइन्।

साथै फागुन २१ गते अबुधाबीको आइसिएडी क्षेत्रमा दुई जना नेपाली घाइते भएको जानकारी पाउँदा चिन्ता लागेको उनले बताइन्।

युएईका राष्ट्रपतिले दुवै मुलुकका राजदूतले नेपाली नागरिकको सुरक्षा तथा हित संरक्षणका लागि सक्दो प्रयास गरिरहेका बताए। साथै उनले नेपालीको सुरक्षाका लागि हरसम्भव प्रयत्न गर्न आफू तत्पर रहेको बताए।

केही नेपाली नेपाल फर्कन चाहेको आफूले जानकारी पाएको उल्लेख गर्दै युएईका राष्ट्रपतिले परिस्थिति सहज भएपछि सबै किसिमको सहयोग उपलब्ध गराइने उल्लेख गरे।

प्रतिक्रिया