सोमबार, चैत ९, २०८२

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

मेरोन्यूज २०८२ चैत ९ गते ११:४५

काठमाडौँ। खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननको अनुमति दिएको छ । स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्यबाट विभागले खनिजजन्य उद्योगहरूको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले उत्खननको इजाजत प्रदान गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

विभागले गत आर्थिक वर्षसम्ममा अनुमति दिएका खनिजजन्य वस्तुहरूमा टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट र तामालगायत खानी छन् । खानी अनुमतिपत्र प्रदान गर्ने नियमअनुसार उत्खनन अनुमति माग भएका कम्पनीमध्ये खानी प्रस्ताव अध्ययन गरी आवश्यकताअनुसार प्रक्रिया पूरा भएका विभागले निजी तथा स्वदेशमा दर्ता भएका विभिन्न अन्तरराष्ट्रिय कम्पनीका १६६ संस्थालाई अनुमति प्रदान गरेको सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए ।

देशको खनिज सम्पदाको खोजतलास, अन्वेषण, विकास र उत्खननसमेत गर्दै आएको विभागले खानी अनुमति प्रदान गर्दा वातावरणीय प्रभाव मूल्याङ्कनमा प्रभाव नपर्ने, दर्ता तथा उत्पादनको अनुपातमा राजस्व सङ्कलन, स्थानीयको लाभ हुने गरी आवश्यक सर्तहरू तोक्ने गरेको जनाइएको छ ।

विभागले करिब एक सय चुनढुङ्गा खानीले उत्खननको इजाजत प्राप्त गरेको जनाएको छ । भौगोलिक विकटता र यातायातको अभावलगायत कारणले देशमा खनिज सम्पदाको आवश्यक विकास हुन नसकेको सूचना अधिकारी बाँस्कोटाले जानकारी दिए । नेपालमा खनिज सम्पदाको विकास हुन नसक्नुका मुख्य कारणहरूमा पुँजी र आधुनिक प्रविधिको अभाव, भौगोलिक विकटता एवं नीतिगत समस्या पाइएको छ ।

पूर्वाधारको कमी, खनिज सम्पदाको विस्तृत अन्वेषण हुन र वातावरणीय जोखिम, खनिज उत्खननका लागि आवश्यक महँगो प्रविधि, उपकरण र ठूलो पुँजीको अभाव, र लगानीमैत्री वातावरण नबन्नाका कारण खनिज उत्खनन चुनौतीपूर्ण बनेको छ । धेरैजसो खनिज पदार्थ दुर्गम र भिरालो स्थानमा रहेकाले उत्खनन पनि ढुवानीमा कठिन रहेको जनाइएको छ ।

प्रतिक्रिया