नयाँ वर्षमा मस्त झुम्यो पोखरा

गण्डकी । नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा यतिबेला मस्त झुमिरहेको छ । नयाँवर्षको छेको पारेर लेकसाइडमा आयोजना गरिएको फेवा नयाँवर्ष महोत्सवले बेग्लै रौनक ल्याएको छ ।
रङ्गीचङ्गी तुल, ध्वजापतका र प्रवेशद्वारले पोखराको लेकसाइड क्षेत्र सिँगारिएको छ । नयाँवर्ष मनाउन पोखरा आएका पर्यटकले यहाँका होटल भरिभराउ छन् ।लेकसाइड क्षेत्री पसल र रेष्टुराँबाट निस्कने सङ्गीतको मधुर धुनसँगै आगन्तुकहरू ओहोरदोहोर गरिरहेका देखिन्छन् ।
सडक छेउछाउ राखिएका व्यावसायिक कक्षमा किनमेल गर्नेको भीड छ । मौलिक झाँकी, नृत्यदेखि साङ्गीतिक ‘कन्सर्ट’मा पर्यटक झुमिरहेका छन् । आइतबारदेखि सुरु भएको महोत्सव आज मधयरातसम्म चल्नेछ । आयोजक होटल सङ्घ पोखरामा अध्यक्ष लक्ष्मण सुवेदीले २१औँ संस्करणको महोत्सव आयोजना भइरहेको बताए ।
तीन दिनसम्म दसौँ हजार पर्यटकले महोत्सव अवलोकन गर्ने उहाँको भनाइ छ । नयाँ वर्ष मनाउने गन्तव्यका रूपमा फेवा महोत्सव स्थापित भइरहेको अध्यक्ष सुवेदीले बताए । महोत्सवमा संस्कृति संरक्षण, मनोरञ्जनसँगै व्यवसाय प्रवद्र्धनका गतिविधि सञ्चालन गरिएको उहाँको भनाइ छ ।
लेकसाइडको हलनचोकदेखि ड्यामसाइडसम्म करिब तीन किलोमिटर सडक क्षेत्रमा महोत्सव आयोजना भइरहेको हो । ‘पर्यटन, संस्कृति र खाना’ नारा दिइएको महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, खाना प्रदर्शनीलगायत सडकमै राखिएको छ ।
सबै उमेर समूहका पर्यटकलाई लक्षित गरी विविध मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएको छ । पर्यटकीय याम पनि चलिरहेकाले यतिबेला पोखरामा विदेशी पर्यटकहरूको पनि चहलपहल बढेको छ । महोत्सवस्थलमा नेपाली पञ्चेबाजा र गीतसङ्गीतमा विदेशीहरू पनि नाच्दै, रमाउँदै गरेका देखिन्छन् । विश्व पर्यटन बजारमा चिनिएको पोखरा पछिल्लो समय नयाँ वर्षको गन्तव्यका रूपमा स्थापित भएको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले यस्ता मेलामहोत्सवले पोखराको पर्यटकीय गतिविधिलाई चलायमान बनाउने बताए । उनले स्थानीय अर्थतन्त्र उकास्न र व्यवसायीहरूको मनोबल बढाउन पनि मेला–महोत्सव आयोजना भइरहनुपर्ने धारणा राखे । पोखरामा हुने यस्ता गतिविधिले यहाँको पर्यटनलाई प्रवद्र्धन गर्ने, आर्थिक अवसर सिर्जना हुने विश्वास लिइएको छ ।
नयाँ वर्षका दिन फेवातालमा रहेको ताल बाराही मन्दिरमा पनि भक्तजन र पर्यटकको भीड लागेको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष परशुराम शर्मा पहारीले बताए । “नयाँ वर्षमा देवी भगवतीको दर्शन गर्नाले मनोकामना पूरा हुन् र वर्षभरि कुनै दुःखकष्ट नपर्ने जनविश्वास रहेको छ”, उनले भने, “आज बिहान ६ः०० बजेदेखि नै ताल बाराहीमा भक्तजनको घुइँचो लागेको छ ।”


















नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
प्रतिक्रिया