जर्मन सरकारले झण्डै ५ अर्ब अनुदान दिने
मेरोन्यूज
२०७८ जेठ ३१ गते १६:२४
काठमाडौँ । जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोग स्वरुप चार अर्ब ८० करोड अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदान स्वरुप उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो ।
नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले सोमबार अनुदान सहायतासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको जर्मनीको राजदूतावासले जनाएको छ ।
नेपालका मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा ऊर्जा तथा नवीकरणीय ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका लागि उक्त रकम प्रदान गरिने दूतावासले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया