आइतबार, वैशाख ७, २०८२

सन् २०२४ भित्र सबै वडामा व्यक्तिगत घटना दर्ता अनलाईनबाटै गराउने तयारी

दया दुदराज २०७८ असार ५ गते १८:१२

काठमाडौँ । अनलाइनमार्फत सबै वडा कार्यालयहरुमा व्यक्तिगत घटना दर्ता गराउन कार्यलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले आगमी २०२४ भित्र देशका सबै वडाभित्र अनलाईन मार्फत व्यक्तिगत घटना गर्दा गर्ने तयारी गरेको छ ।

सन् २०२४ सम्मका लागि नेपालका सम्पूर्ण वडाबाट अनलाइनमार्फत नै व्यक्तिगत घटना दर्ता गराउने पञ्जीकरण विभागको लक्ष्यलाई कार्यन्वयन गर्दै देशका आधाभन्दा बढी वडाहरुमा अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता सुरु गरिएको हो । विभागले यसलाई व्यक्तिगत घटना दर्ता सन् २०१५–२०२४ दशकको लक्ष्य दिएको हाे।

विं.सं. २०७१ सालको चैत्र ११ गतेबाट काठमाडौँ महानगरपालिकाको केही वडाबाट सुरु गरिएको अनलाइन व्यक्तिगत घटना दर्ता हालसम्म आइपुग्दा व्यक्तिगत घटना दर्ता तथा संकलनको काम राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले गर्दै आएको छ । विभागका अनुसार अनलाइनमार्फत दर्ता हुने व्यक्तिगत घटनामध्ये सबैभन्दा धेरै जन्म दर्ता भएको पाइन्छ । हालसम्म देशका ६ हजार ७ सय ४३ वडा कार्यालयमध्ये ४ हजार ६ सय ९९ वडा कार्यालयमा अनलाइनमार्फत घटना दर्ता सुरु गरिएको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

विभागका प्रवक्ता युवराज कट्टेलका अनुसार हालसम्म १० लाख ७५ हजार ८ सय २८ वटा जन्मका घटनाहरु अनलाइनमार्फत दर्ता भएका छन् । यस्तै, ४ लाख १९ हजार ६ सय विवाह दर्ता अनलाइनमार्फत दर्ता भएका छन् ।

त्यस्तै २ लाख ७२ हजार ७०२ वटा मृत्यु, २ लाख १ हजार ७०९ वटा बसाइँ सराई र १२ हजार ६११ वटा सम्बन्ध विच्छेदका घटना अनलाइनमार्फत दर्ता भएका छन् । यो विभागका लागि सबल पक्ष भएको समेत प्रवक्ता कट्टेलले बताए ।

व्यक्तिगत घटना दर्ता के हो ?

कुनै पनि व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँ सराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जीकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाण पत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ताका रुपमा मानिन्छ । जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ मिति २०३४ वैशाख १ गतेदेखि कार्यान्वयनमा आएपछि नेपालमा व्यक्तिगत घटना दर्ताको प्रारम्भ भएको राष्ट्रिय परिचयपत्र तषा पञ्जीकरण विभागले जनाएको छ ।

व्यक्तिगत घटना दर्ताअन्तर्गत जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसार्इंसराईंको घटना दर्ता गर्ने गरिन्छ । राज्यको प्रशासनिक अभिलेखको रुपमा कानुन बमोजिम दर्ता गरिने व्यक्तिगत घटनाको स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म महत्व रहको पाइन्छ । व्यक्तिगत घटना दर्ता प्रणालीबाट राज्यले प्रशासनिक अभिलेख र जनसांख्यिक तथ्यांकको लागि आधार स्तम्भका रुपमा लिइन्छ ।

जनसांख्यिकी तथ्यांकको महत्वपूर्ण श्रोतको रुपमा रहेको यो प्रणालीले व्यक्तिगत र राज्यस्तर दुवैमा यसको बृहत महत्व रहेको पाइन्छ । जसले व्यक्तिगत घटनाहरुलाई अमर राख्ने गर्दछ फलस्वरुप राष्ट्रिय स्तरमा नै यसको प्रभाव झल्किन्छ र सरकारी काम कारबाहीमा सहजीकरण हुने गरेको जानकारहरु बताउँछन् ।

किन गरिन्छ दर्ता ?

व्यक्तिगत स्तरमा हेर्ने हो भने घटना दर्ता प्रणालीले सरकारले प्रदान गर्ने नागरिकता, राहदानी, विद्यालय भर्ना आदिमा ठूलो टेवा पु¥याउँछ । नाता कायम, चल अचल सम्पत्तिको भोग, बेचबिखन, हस्तान्तरणमा समेत यसले सहजीकरण बनाउँछ ।

पति पत्नीबीचको नाता सम्बन्ध कायम गर्न मात्र नभई सम्बन्ध विच्छेदको प्रमाणीकरणमा समेत घटना दर्ता प्रणालीले मद्दत पुर्याउँद छ । यस प्रणालीको सहयोगमा मतदाता नामावलीमा नाम समावेश गर्न, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिकाका लागि बाल पोषण भत्तालगायत सामाजिक सुरक्षा भत्ता प्राप्तिमा समेत यसले अहंम भूमिका खेल्ने राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

विभागका अनुसार घटना दर्ताले व्यक्तिगत मात्र नभई राष्ट्रिय स्तरमा समेत यसले ठूलो भूमिका खेलेको हुन्छ । जसको सहयोगमा नागरिकता वितरण तथा नागरिकता समस्या समाधानमा सरल हुने, विकास योजनाको मुख्य आधार देशको जनसंख्याको स्थितीमा भर पर्ने हुँदा घटना दर्ता प्रणालीद्वारा संकलित तथ्यांकले राष्ट्रका विभिन्न प्रकारका नीति निमार्ण र योजना तर्जुमाका लागि विश्वासनीय आधार रहेको पाइन्छ । साथै, यस प्रणालीको सहयोगमा राज्यमा रहेका लक्षित वर्गको समेत पहिचानमा टेवा प¥ुयाएको हुन्छ ।

घटना दर्ताको सहयोगमा प्राथमिकता प्राप्त कार्यक्रम जस्तै सामाजिक सुरक्षा, गरिबी निवारणलगायतका कार्यक्रमहरुको उचित कार्यान्वयनमा समेत सहयोग पुर्याएको हुन्छ । साथै अभिलेखहरु जीवित राख्न वा तथ्यांक प्राप्त गर्नमा समेत महत्वपूर्ण भूमिका खेलेको हुन्छ । साथै स्वास्थ्य क्षेत्रमा सम्बन्धित कोरा जन्मदर, मृत्यु दर, शिशु मृत्यु दर, मातृ मृत्युदरको अनुपात जस्ता सूचकहरु उपलब्ध गराउन समेत सहजीकराण हुन्छ ।

३५ दिनको अवधि

स्थानीय तहको प्रत्येक वडा कार्यालयममा रहेको स्थानीय पञ्जीकाधिकारीको कार्यालयमा व्यक्तिगत घटना दर्ता हुन्छ । सम्बन्धित व्यक्ति वा घटना दर्ता गराउने व्यक्ति सूचक बनी व्यक्तिगत घटनाको लागि पेश गरेको सूचनाका आधारमा स्थानीय पञ्जीकाधिकारीद्वारा जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्चेद र बसाइँ सराइँ जस्ता घटना दर्ता गरिन्छ ।

व्यक्तिगत घटना दर्ताको लागि सूचक दिने कर्तव्य भएको व्यक्तिले स्थानीय पञ्जीकाधिकारीको कार्यालयमा घटना घटेको मितिको ३५ दिनभित्र सूचना दिई निःशुल्क घटना दर्ता गराउन सकिन्छ । घटना घटेको ३५ दिन भन्दापछि दर्ता हुन आउँदा नियमअनुसार दस्तुर तथा जरिवाना लिएर मात्रै दर्ता गर्ने व्यवस्था राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया