सोमबार, माघ ५, २०८२

सभामुखद्वारा विपद् प्राधिकरणको टोली र विशेषज्ञसँग छुट्टाछुट्टै छलफल

मेरोन्यूज २०७८ असार ८ गते १९:३३

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले यसवर्ष मनसुनको सुरुआतसँगै देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो र डुबानबाट भएको क्षति र प्रतिकार्यका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणको टोली र सम्बन्धित क्षेत्रका विशेषज्ञहरुसँग छुट्टा–छुट्टै छलफल गरेका छन् ।

सिंहदरबारस्थित कार्यकक्षमा आज भएको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलसहितको टोलिले सिन्धुपाल्चोक, मनाङ्लगायत देशका विभिन्न स्थानमा बाढी पहिरो र डुबानले पुर्याएको मानवीय र भौतिक क्षति र प्राधिकरणबाट भइरहेका प्रतिकार्यकाबारे सभामुख सापकोटालाई जानकारी गराएका थिए ।

सो अवसरमा उनले विपदग्रस्त क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना अनुसार कार्य अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए । सभामुख सापकोटाले विपत्तिबाट समस्यामा परेकाहरुलाई यथासक्य छिटो सम्बोधन गर्न र सबै भन्दा धेरै समस्या भोग्नु परेको सिन्धुपाल्चोकमा छुट्टै युनिट बनाएर काम अघि बढाउन सुझाव दिए ।

सभामुख सापकोटाले यसअघि आइतबार सिंहदरबारस्थित कार्यकक्षमा विपद् व्यवस्थापनसँग सम्बन्धित विज्ञहरुसँग छलफल गरेका थिए । देशभर र मूलतः सिन्धुपाल्चोकमा हालैको मनसुनजन्य विपत्तिबाट भएको क्षति, प्रभाव, पुनर्स्थापना एवं पूर्व तयारीका विषयमा केन्द्रीत सो छलफलका सहभागीहरुले नेपालका ७७ जिल्ला मध्ये भूगोल र मौसमका हिसाबले सिन्धुपाल्चोक निकै जोखिममा रहेको जानकारी गराउँदै अलग्गै योजना बनाएर काम गर्नु उपयुक्त हुने बताएका थिए ।

विज्ञहरुले पूर्व तयारीका लागि पूर्व सूचना प्रणालीको विकास, जोखिम अध्ययन गरी पहिरो, नदि नियन्त्रणका क्षेत्रमा तत्काल काम सुरु गर्नुपर्ने धारणा राखेका थिए । सिन्धुपाल्चोकमा विपद् व्यवस्थापनको नमुनायोग्य काम गरी देशका अन्य स्थानमा पनि सो विधि लागू गर्न सकिने उनीहरुको सुझाव थियो ।

छलफलमा विज्ञहरु डा गंगालाल तुलाधर, डा हरिकृष्ण श्रेष्ठ, डा रञ्जनकुमार दाहाल, डा कृष्ण देवकोटा र डा रविनराज निरौला सहभागी भएका थिए ।

प्रतिक्रिया