बेपत्ता शिक्षक कार्कीको खोजी र दोषीलाई कारबाहीको माग

म्याग्दी । विभिन्न संघ, सङ्गठनले रहस्यमयरूपमा बेपत्ता बनाइएका जिल्लाको बेनी नगरपालिका–५ बगुवाखोलाका शिक्षक भक्त कार्कीको खोजी गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।
बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक कार्की आइतबार साँझदेखि बेपत्ता छन् । विद्यालय नजिकै म्याग्दी नदीको किनारमा रगतका दाग, कार्कीले लगाउने हाफ ज्याकेट, चप्पल र मोबाइल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
म्याग्दीस्थित नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले मङ्गलबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीलाई बेपत्ता कार्कीको खोजी गरी घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुवेदीको नेतृत्वमा शिक्षक संघ सङ्गठनका प्रतिनिधिहरुले प्रशासनमा पुगेर ध्यानाकर्षण गराएका थिए । बौद्धिक अपाङ्गता स्रोत कक्षा सञ्चालन भएको बालजागृति आधारभूतका प्रअ कार्की साहित्यसँगै विभिन्नि सामाजिक संघसंस्थामा आवद्ध थिए ।
यसैगरी म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुवलाल शर्मा, सूर्यनारायण पुरस्कार संस्थाका सचिव अजयमिलन श्रेष्ठ र पुलत्स्य साहित्य समाजका अध्यक्ष कृष्णबहादुर बानियाले मङ्गलबार नै संयुक्त विज्ञप्ति जारी गर्दै बेपत्ता कार्कीको खोजी गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।
पौलस्त्य साहित्य समाज, म्याग्दीका संस्थापक अध्यक्ष/संरक्षक, म्याग्दी साहित्य समाजका सल्लाहकार कार्की जनसाहित्य मञ्च नेपालका केन्द्रीय सदस्य छन् । मञ्चका अध्यक्ष राम विनयले पनि मङ्गलबार एक विज्ञप्ति जारी गरेर बेपत्ताको खोजीको माग गरेका छन् ।
कार्कीलाई बेपत्ता बनाएको अभियोगमा प्रहरीले बेनी नगरपालिका–५ चुत्रेनीका एक युवालाई कुश्माबाट पक्राउ गरेको छ । विद्यालयमा कार्यरत अन्य दुई कर्मचारीसँग पनि प्रहरीले निरन्तर सोधपुछ गरिरहेको छ । पक्राउ परेका कसैको पनि नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
आइतबार बगुवाखोलामै देखिए पनि पक्राउ परेका व्यक्ति घटनापछि हिँडेरै कुश्मा पुगेका बताइएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले अनुसन्धानकै क्रममा रहेकाले हत्या अथवा बेपत्ता भन्ने खुलिनसकेको बताए ।
“घटनास्थलको प्रकृति हेर्दा कर्तव्य ज्यान गरेको जस्तो देखिन्छ”, उनले भने, “बेपत्ताको खोजीसँगै शङ्कास्पद व्यक्तिहरुसँग सोधपुछ र अनुसन्धानलाई निरन्तरता दिएका छौं ।”
बेपत्ता कार्कीको खोजीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको छ । नदी किनार र सम्भावित ठाउँमा निगरानी बढाइएको छ ।
कपडा भेटिएको ठाउँ नजिकै स्काभेटरले खोलाको बहाव फर्काएर पनि खोजी गरिएको थियो । आइतबार बिहान ८ बजे घरबाट विद्यालय जान भनेर निस्किएका कार्की साँझ घर नआएपछि परिवारले खोजी थालेको थियो ।










कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
शंकर पोखरेल र महेश बस्नेत आउने भएपछि बारामा विरोध प्रदर्शन, ‘कर्फ्यू’ आदेश जारी
ताप्लेजुङको तेम्बा बजारमा आगलागी, एक करोड १८ लाखभन्दा बढीकाे क्षति
मोटोपनले अस्वस्थ महिला, कसरी बच्ने ?
भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया