शनिबार, मंसिर ६, २०८२

केन्द्रीय कमिटी बैठक रोक्न ओलीलाई ३ नेताको आग्रह

मेरोन्यूज २०७८ असार १८ गते १३:०९

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेता माधव नेपालनिकट नेताहरूले भेटेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठक बस्नुअघि नेपाल पक्षका नेताहरू सरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले ओलीलाई भेटका हुन् ।

केन्द्रीय कमिटी बैठक बस्ने तयारी हुँदै गर्दा नेपाल समूहका तीन नेताले ओलीसँग छुट्टै भेट गरेको हो । उनीहरूसँगको छलफलका कारण बैठक करिब डेढ घण्टा ढिला गरी सुरु भएको थियो ।

नेपाल पक्षका तीन नेताहरूले प्रधानमन्त्री ओलीलाई एकता कार्यदल औपचारिक रुपमा ब्युँताएर एकताको प्रयास गर्न प्रस्ताव गरेका छन्। उक्त कार्यदलसँग अध्यक्ष ओली र नेता नेपालसमेत बसेर छलफल गर्न उनीहरूले प्रस्ताव गरेका थिए ।

स्रोतका अनुसार अध्यक्ष ओलीसँगको छलफलमा तीन नेताहरूले बैठक रोकेर पार्टी एकताको प्रयास थप मजबुद बनाउन अनुरोध गरिएको थियो । यसको जवाफमा ओलीले साथीसँग छलफल गरेर निर्णय दिने जानकारी गराएका थिए ।

नेता नेपाल समूहका नेताहरूले पुरानो स्थायी कमिटी बैठक बोलाएर कार्यदल बनाई दुई दिनभित्र एकताको काम सम्पन्न गर्न तयारी गर्न ओलीलाई सुझाव दिएका थिए । यसअघि गएराति अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोन वार्ता भएको थियो ।

प्रतिक्रिया