मंगलबार, वैशाख ९, २०८२

बौद्ध घटनाको २५ दिन : भेटिएन भरपर्दो ‘क्लु’, के गर्दै छ प्रहरी

दया दुदराज २०७८ असार १९ गते १५:२८

काठमाडौँ । गत जेठ २५ गते बौद्धको नयाँ बस्तीमा सिमेन्टको बोराभित्र राखेर फ्याँकिएको अवस्थामा मान्छेको एउटा खुट्टा भेटिएको घटनामा प्रहरीलाई अझै भरपक्का प्रमाण जुटाउन कठिन भएको छ । मान्छेको खुट्टा कसले किन र कहिले फालेको भन्नेबारे अहिलेसम्म कुनै तथ्य प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ ।

त्यस दिन बिहान दुवो टिप्न पुगेका एक महिलाले बोराभित्र शंकास्पद वस्तु भेटेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौँको संयुक्त टोली घटनास्थलमा पुगेको थियो । घटनाबारे प्रहरी अनविज्ञ भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली घटना स्थल पुगेका थिए । प्रहरीले तालिम प्राप्त कुकुरलाई पनि बोलाइएको थियो ।

सुरुमा बोराभित्र शव रहेको खबर आए पनि प्रहरीले बोरा खोलेर हेर्दा परालले बेरेर राखेको एउटा खुट्टा, खरानी रङको स्वीटर, रातो कपडा र एक थान सानो रुमाल मात्र फेला पारेको थियो । घटना स्थलमा पुगेका प्रहरी अधिकृतहरूले हत्यापछि शव व्यवस्थापन गर्न खोजिएको हुन सक्ने दाबी गरे । घटना स्थन नजिकै खुट्टाको मासुसमेत भेटिएको थियो । त्यसबाहेक अन्य सुराक भेटिएको छैन ।

घटनाको ५ दिनपछि पोस्टमार्टम र डिएनए परीक्षणको रिपोर्टबाट उक्त खुट्टा वयस्क महिलाको हुन सक्ने चिकित्सकले बताएका थिए । बौद्धको नयाँ बस्तीस्थित ‘टाउन प्लानिङ’मा भेटिएको उक्त खुट्टा युवतीको भएको पोस्टमार्टम र डिएनए परीक्षणले पुष्टि गरेको हो । यद्यपि, प्रहरीले त्यो खुट्टा महिलाको नै हो भनेर यकिन गर्न सकेको छैन ।

सिसिटिभी फुटेजमा के देखियो ?

प्रहरीका अनुसार उक्त खुट्टा चार जना युवाले बोरामा राखेर फालेको पाइएको छ । घटना स्थल वरिपरीका सिसिटिभी फुटेजबाट प्रहरीले बौद्ध गेटबाट चार युवाले बोरामा खुट्टा बोकेर ल्याएको देखिए पनि मध्यराति भएकाले भिडियो स्पष्ट नदेखिएको भन्दै पहिचान गर्न कठिन भएको जनाएको छ ।

उनीहरूले बोरामा खुट्टा फाल्न हिँडेको बेला र फालेर फर्किंदाको ‘मुभमेन्ट’ सिसिटिभीमा कैद भएको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले मेरोन्युजलाई बताए । उनले भने, ‘२४ जेठको पौने १२ बजे कैद भएको फुटेजमा हुलिया स्पष्ट देखिएको थिएन, हामीले उक्त फुटेजलाई डिजिटल फरेन्सिक ल्याबमा पठाइएका थियौँ, ल्याबमा परीक्षणपछि रातिको समय कैद भएको उक्त फुटेजमा देखिएका युवाहरूको पहिचान गर्न समेत समस्या भएको छ ।’

एसपी कोइरालाका अनुसार कैद भएका दृष्यलाई युवाहरू मादक पदार्थको नशामा हिँडिरहे जस्तो देखिएको छ । तस्वीरमा ४ जना युवक खुट्टा भेटिए नजिकै केही फ्याँक्दै गरेका देखिन्छन् । तर, दृश्य स्पष्ट नहुँदा उनीहरूसम्म पुग्न सकेको छैन ।

के गर्दैछ प्रहरी ?

घटना स्थलमा कुनै भरपक्का ‘क्लु’ नभेटिएकाले र सिसिटिभि फुटेजमा देखिएका युवाहरूको हुलिया पहिचानमा समस्या आएपछि प्रहरी रनभुल्लमा छ । महानगरीय अपराध महाशाखाका अनुसार प्रहरीले आफ्नो काम गरिहरेको छ ।

एसपी कोइरालाका अनुसार घटनाको झण्डै महिना दिन पुग्न लाग्दा कुनै पीडित भेटिएको छैन । उनले भने, ‘हामीले पीडित भेटेका छैनौँ, कोही व्यक्ति अथवा पीडित मेरो मान्छे हरायो भनेर आएका छैनन्, हामीले पहिलेका पीडितलाई जुधाएर हेर्दा समेत केही उपलब्धि भएको छैन ।’

प्रहरीले सिसिटिभि फुटेजको आधारमा नै अनुसन्धानलाई अगाडि बढाइरहेको कोइराललाले बताए । उनले भने, ‘मूलतः हामी सिसिटिभि फुटेजमै केन्द्रीत रहेर अनुसन्धान गरिरहेका छौँ, फुटेजमा ४ जनाले बोरा फाल्दै गरेको देखिन्छ, ती व्यक्ति को हुन् ? पहिचान गर्ने एंगलबाट नै अनुसन्धान भइरहेको छ ।’

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया