प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजकले नै खाईदिए श्रमिकको ज्याला
ढुंगा खरिद गर्न रकम लिएको हो, विवाद बनाउन साथिहरुले उजुरी दर्ता गर्नुभयो : वडाअध्यक्ष शाही

काठमाडौं । रोजगारी सिर्जना गरेर जनताको जीवनस्तर माथि उकास्ने उदेश्यका साथ हाल देशैभर प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा छ । देशका सबैजसो क्षेत्रहरुमा सञ्चालनमा रहेको यो कार्यक्रम धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकामा पनि सञ्चालनमा छ । तर कार्यक्रमका कामदारले प्राप्त गर्ने ज्याला भने कार्यक्रमका संयोजकले अवैध रुपमा असुल गरेको खुलासा भएको छ ।
ज्वालामुखी गाउँपालिका २ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक लालबहादुर कार्कीले ४७ जना मध्ये ३७ श्रमीकको तलब ढुंगा किन्ने नाममा अवैध रुपमा असुलेको पाइएको हो । बैंकबाट पैसा तलब झिकेर फर्किने क्रममा अवैध रुपमा पैसा असुलेको एक श्रमिकले नाम नबताउने सर्तमा मेरोन्युजलाई बताए । उनले भने, ‘हामी पैसा लिन १८ गते बैंक पुगेका थियौँ तर पैसा लिएर फर्किर्दै गर्दा कार्यक्रमका संयोजक कार्कीले तलब माग्नुभयो ।’

उनले ३७ जना श्रमिकबाट फरकफरक रकमका दरले जम्मा २ लाख १६ हजार १३१ रुपैयाँ असुलेको गाउँपालिकाका कार्यपालिका सदस्य ज्ञानु परियारले बताए । उनले अवैध रुपमा पैसा असुलेको खबर थाहा पाएपछि कार्यपालिका सदस्य ज्ञानु परियार र ज्वालामुखी ३ का वडा अध्यक्ष रुद्रमान श्रेष्ठको संयोजकत्वमा कार्कीविरुद्ध रकम फिर्ता पाउँ भन्दै गाउँपालिकामा उजुरी दर्ता गरेको ज्वालामुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले मेरोन्युजलाई बताए । उनले भने, ‘अवैध रुपमा रोजगार कार्यक्रम अन्तर्गत आउने मासिक तलब असुलेको भन्दै उजुरी दर्ता गर्नुभएको छ, हामी त्यस विषयमा छलफल गर्दैछौं ।’
ढुंगा खरिद गर्न रकम लिएको हो : वडाअध्यक्ष

रोजगार कार्यक्रमको रकमले सामान खरिद गर्न नपाउने भएपछि ढुंगा किन्नको लागि श्रमिकहसँग पैसा असुलेको ज्वालामुखी – २ का वडाअध्यक्ष रणबहादुर शाहीले मेरोन्युजलाई बताए । उनले भने,‘ गाउँपालिकाबाट रोजगार कार्यक्रमको योजना छनोट गरी पठाइदिनु भन्ने परिपत्र आएपछि हामीले बैठक बसेर साँढे ४ सय मिटर सोलिङ गर्ने भनेर कार्यक्रम तय गर्यो तर रोजगारको लागि छुट्याइएको रकमले सामन खरिद गर्न नपाउने भएपछि श्रमिककै सहमतिमा आ-आफ्नो खाताबाट रकम दिने सहमति बमोजिम नै लालबहादुर कार्कीको संयोजकत्वमा रकम असुल गरेका हौँ ।’ सहमतिमा भएको भए उजुरी किन हालियो त भन्ने मेरोन्युजको प्रश्नमा वडा अध्यक्ष शाहिले भने,‘केही साथीहरुले विवाद गर्नका लागि उजुरी दर्ता गर्नुभयो’ । यद्यपि श्रमिकले नै लालबहादुरविरुद्ध उजुरी दर्ता गरेका छन् ।
कार्यक्रमका संयोजक लालबहादुर कार्की नेपाली कांग्रेसका नेता हुन् । उनि यसअघि नेकपा (माओवादी केन्द्र)का साविक मैदीकाे ईन्चार्ज समेत थिए । स्थानीय बालीकालाई बलात्कार गरेको अभियोगमा कार्की गत २०६८ साल वैशाखमा जिल्ला कारागार चलान भई २०७३ साल माघमा सजाय पूरा गरि रिहा भएका थिए।
कारागारबाट निस्किएपछि कार्कीलाई नेपाली कांग्रेसले पार्टी प्रवेश गराएको थियो । प्रवेश गरेपछि उनलाई वडाले नै प्रधानमन्त्री राेजगार कार्यक्रमको संयोजक बनाएको थियो ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
प्रतिक्रिया