कांग्रेसको १४ औं महाधिवेशन
पौडेल सभापति, प्रधानमन्त्री कि राष्ट्रपतिको उम्मेदवार !

काठमाडौं । २०७२ फागुनमा भएको नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा ५२६ मतले पराजित रामचन्द्र पौडेल १४ औं महाधिवेशनमा स्वभाविक दाबेदार हुन् ।
आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने तय भएको महाधिवेशनमा सभापतिमा आफूलाई सघाउन पौडेलले ११ असारमा आफ्नो समूहका नेताहरूको बैठक राखेर आग्रह गरे ।
बसुन्धारास्थित एक पार्टी प्यालेसमा भएको कांग्रेसका पूर्वसंस्थापनका नेताहरूको बैठकमा सभापतिको उम्मेदवार बन्ने घोषणा गर्दै आफूलाई सहयोग गर्न आग्रह गरे ।
‘म १३औं महाधिवेशनमा सभापतिमा पराजित भएर घाइते भएको छु । फेरि पनि सभापति लड्छु । मिल्ने फर्मुला के हो ? सबैले भन्दिन पर्यो,’ पौडेलले सहभागी नेताहरूसँग सहयोग माग्दै भने ।
तर, उनको आग्रहपछि धारणा राख्ने क्रममा पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला, सुजाता कोइराला, शेखर कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महत र कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दिने भन्दै उल्टै सहयोग गर्न भने ।
आफू समूहमा र पार्टीमै सिनियर र निष्ठावान नेता भएकाले १४ औं महाधिवेशनमा पौडेल स्वाभाविक सभापतिका दाबेदार भए पनि आफ्नै समूहका आकांक्षी उनको इच्छाको बाधक बन्ने देखिएको छ ।
यसै संस्थापन बलियो रहेको अवस्थामा आफ्नो समूहबाट सभापतिका आकाक्षीको लर्को देखिएपछि के गर्ने भन्नेमा नेता पौडेल रनभुल्लमा परेका छन् ।
सकभर सबैलाई मिलाएर आफै गुटको एकल उम्मेदवार बन्ने प्रयास उनको छ । त्यही प्रयास अनुरुप उनले १४ असारमा गुटबाटै सभापतिका दाबेदार डा. शेखर कोइरालालाई बोहोराटारमा बोलाएर भेटे ।
डा. शेखरले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गर्दै लामो समयको राजनीतिक अनुभव मुलुकको कार्यकारी बनेर देश विकासमा प्रयोग गर्न आग्रह गरे ।
आफूले सभापति जितेमा आगामी निर्वाचनमा २०५६ सालको आवधिक निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई जस्तै पहिल्यै प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने प्रस्ताव पनि डा. शेखरले पौडेललाई गरे ।
डा. शेखरको प्रस्तावमा कुनै पनि प्रतिक्रिया नदिएका पौडेलले सभापतिकै उम्मेद्वारीका विषयमा त्यसको दुई दिनपछि १६ असारमा उपसभापति विमलेन्द्र निधिलाई पनि आफ्नै निवास बोहोराटारमा भेटे ।
सभापतिको दौँडमा रहेका निधिले पौडेललाई आफूलाई सहयोग गर्न आग्रह गर्दै उचित सम्मान दिने बताए । कुरा नमिल्ने देखेपछि पौडेलले पहिला क्रियाशील सदस्यता र अन्य पार्टीबाट आएका नेता कार्यकर्ताको नियमसँगत तरिकाले समायोजन गरेपछि मात्रै सभापतिको विषयमा कुरा गरौँला भनेर टारिदिए ।
अझ पौडेललाई अर्को टाउको दुःखाइ बनेको छ । संस्थापक नेताहरू विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरू महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह र उपसभापति निधिको गठजोडकोे प्रयास ।
तीनै जना सभापपतिका दाबेदार भएकाले कस्लाई छोड्ने भन्नेमा कुरा मिलेको छैन । एक अर्काका घरमा तीन पटक भेटघाट गरेका नेता त्रयले शुक्रबारका लागि केन्द्रीय सदस्यहरूसँग छलफलका लागि समय तय गरेका थिए ।
कतै त्यही भेलाबाट कुनै सहमति बन्छ र उनीहरू मिलिहाल्छन् कि भनेर डराएका पौडेल त्यो भेला रोक्न सफल भएका छन् । तर, उनीहरूले भेला पुनः बोलाउने तयारी भने छोडेका छैनन् ।
सभापतिमा उम्मेद्वार नबनेमा पौडेललाई आगामी निर्वाचनबाट राष्ट्रपति र प्रधानमन्त्रीमा अफर आइरहेका छन् । सभापतिका दाबेदार डा. शेखर, महामन्त्री डा. शशांक र पूर्वमहामन्त्री सिंहले प्रधानमन्त्रीको उम्मेद्वार बनाउने प्रस्ताव गरेका छन् । सभापतिमा पुनः दोहोरिन चाहेका देउवाले सघाएमा राष्ट्रपति बनाउने आश्वासन पौडेललाई दिएका छन् । तर, पौडेलले कुनै निर्णय गर्न सकेका छैनन् ।
१३ औं महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि पदाधिकारीसहित ६४ जनाका लागि भएको निर्वाचनमा पौडेलको प्यानलबाट २७ जनाले जितेका थिए । जसमा महामन्त्री डा. शशांक, कोषाध्यक्ष सितादेवी यादवसहित अन्य केन्द्रीय सदस्य थिए ।
तर, अहिले त्यो अवस्था छैन । त्यसबेला पौडेल समूहबाट जितेका आनन्दप्रसाद ढुंगाना, गोविन्द भट्टराई पूरै संस्थापनको लाइनमा पुगेका छन् । पौडेलका खम्बाका रूपमा चिनिएका नविन्द्रराज जोशीको निधन भएको छ ।
उनकै समूहबाट जितेका महामन्त्री डा. शशांक, डा. शेखर, पूर्वप्रधानमन्त्री सिंह, डा. महत, सुजाता र गुरुङ सभापतिमा दाबी गरिरहेका छन् ।
अरु त अन्य पदका लागि बार्गेनिङ गर्न सभापतिमा उम्मेद्वार घोषणा गरे पनि कोइराला परिवारको एउटा उम्मेद्वार पक्कै हुनेछ । र सिंहले पनि नछाड्ने अवस्था देखिन्छ ।
यसले पौडेललाई आफ्नै समूहमा आफ्नै नाममा सहमति जुटाउन ‘फलामको च्यूरा’ सरह देखिन्छ । पौडेल निकट नेताहरू पनि सहमति जुट्नेमा शंका व्यक्त गर्छन् ।
पौडेल भने उम्मेद्वारी दिन मिलाउन अझै लागिरहेका छन् । उनी आफू निकट नेताहरूसँग भनिरहेका छन्, ‘मेरो अन्तिम पटक हो, सहयोग गर्न पर्यो ।’ सधै कोइराला परिवारसँग रहेका पौडेलले आफ्नो छुट्टै गुट बनाएका छैनन् ।
कोइराला परिवारबाट उम्मेद्वार हुने भएपछि आफूले हार्ने निश्चित रहेकोमा पौडेल ढुक्क छन् । तसर्थ कोइराला परिवारलाई आफ्नो पक्षमा ल्याउन चाहन्छन् ।
अघिल्लो महाधिवेशनमा पौडेल समूहबाट जितेका २७ मध्य १७ जना कोइराला परिवारसँग छन् । उनीहरूले सघाउने अवस्था नआएमा सभापतिको उम्मेदवार नबन्ने रणनीतिमा पौडेल छन् ।
पौडेलले सबैलाई मिलाएर उम्मेद्वार बन्ने तयारीमा आफू रहेको बताएका छन् । ‘सकभर सबैलाई मिलाएर नभए पनि पूर्वसंस्थापनलाई मिलाएर सभापतिको उम्मेद्वार बन्ने प्रयासमा छु । कुराकानी भइरहेको छ । अन्य अवस्थाबारे तत्काल कुरा गर्ने बेला भएको छैन,’ पौडेलले भने ।
तर, उनी पक्षीय नेताहरूले सहमति जुट्नमा आशंका व्यक्त गर्छन् । ‘पौडेल समूह एक भएर महाधिवेशनमा जानु राम्रो कुरा हो। तर पौडेललाई फेरि एकपटक सभापतिको उम्मेदवार मानेर अघि बढ्न समूह एकजुट हुने सम्भावनामा निकै कमजोर छ,’ एक नेताले भने ।
सहमति नजुट्ने अवस्थामा प्रधानमन्त्रीको उम्मेदवार बनाउनेलाई सहयोग गर्ने कि राष्ट्रपतिको उम्मेद्वार बनाउनेलाई सहयोग गर्ने भन्ने दोधारमा छन् ।
अहिलेको अवस्थामा प्रधानमन्त्री बनाउँछौ भन्नेले जित्ने अवस्था नरहेकोले राष्ट्रपति बनाउने तर्फ लाग्ने कि भन्ने रणनीति पौडेलको छ । सकभर प्रयास गर्ने नभए देउवालाई सहयोग गरेर राष्ट्रपतिको उम्मेदवारमा आफ्नो सुनिश्चितता खोज्ने रणनीति उनको छ ।
प्रधानमन्त्रीको उम्मेद्वार बनाए पनि आफूले नै निर्वाचनमा पराजय व्यहोरे के गर्ने भन्नेमा पौडेल छन् । उनले प्रधानमन्त्री रहेका कृष्णप्रसाद भट्टराईलाई त हराएको कोइराला परिवारले आफूलाई नहराउला भन्ने ज्ञारेन्टी नरहेको पनि निकटस्थहरूसँग बताउने गरेका छन् ।
राष्ट्रपतिको उम्मेद्वार बनाउनेतर्फ लागेमा त सांसद नभए पनि बन्न पाइने आफू निकटकाहरूलाई बताइरहेका छन् ।
















रास्वपाको संसदीय दलको बैठक जारी
कोशी प्रदेशसभा बैठकः प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐनसम्बन्धी संशोधन विधेयक पेस
रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन
रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्छौँः पुन
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया