बुधबार, माघ ७, २०८२

निजी क्षेत्रसँग सहकार्य : मुख्यमन्त्री पोखरेल

मेरोन्यूज २०७८ असार २१ गते ७:३८

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न खोजेको बताए । प्रदेश नीति तथा योजना आयोगले मौद्रिक नीतिका बारेमा आइतबार साँझ गरेको छलफलमा उनले प्रदेशको वस्तुस्थितिअनुसारको मौद्रिक नीति आओस् भनेर व्यवसायीहरूसँग छलफल गरिएको बताए ।

नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढेको बताउँदै उनले सरकारको मापदण्डमा रहेर निजी क्षेत्रको सहयोगमा सरकार खोप किन्न तयार रहेको र यसका लागि सम्पर्क स्थापित गर्न व्यवसायीहरूको सहयोग जरुरी रहेको उल्लेख गरे ।

बिना विभागीयमन्त्री हरिशरण आचार्यले राज्य र निजी क्षेत्रको सम्बन्ध प्रष्ट पारेर अघि बढेमा मात्र समृद्धि सम्भव भएको  बताए । नीति तथा योजना आयोग उपाध्यक्ष डा रघुराज काफ्लेले सङ्घीय प्रणालीमा आएपछि पनि मौद्रिक नीतिको ढाँचामा परिवर्तन हुन नसकेको धारणा राखे । 
रोजगारी बढाउन, आर्थिक सूचक माथि उठाउन सरकारले सुझाव सङ्कलन गरी राष्ट्र बैंकमा आधिकारिक रूपमा लेखी पठाउने उनले जानकारी दिए ।
नेपालराष्ट्र बैंक पोखराका निर्देशक ईश्वरी भट्टराईले प्रदेशअनुसार ब्याजदर निर्धारण नसकिए पनि प्राथमिकताअनुसार काम गर्न सकिने बताए 
 कार्यक्रममा सहभागी व्यवसायी तथा विज्ञहरूले आगामी आर्थिक वर्षको बजेटको दुई तिहाइ हिस्सा आन्तरिक राजस्व र करबाट उठाउने लक्ष्य राख्ने सरकारले व्यवसाय रक्षाका लागि  केही पहल नगर्नु दुःखदायी रहेको बताएका थिए । रासस

प्रतिक्रिया