शनिबार, पुष ५, २०८२

स्याङ्जामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा पुष्टि

मेरोन्यूज २०७८ असार २७ गते २१:३७

काठमाडौँ । स्याङ्जाका दुई जनामा कोरोना भाइरस (कोभिड १९)को डेल्टा भेरियन्ट पुष्टि भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ६० र १४ वर्षीय दुई पुरुषमा नयाँ भेरियन्ट पत्ता लागेको हो ।

नयाँ भेरियन्टको आशंकामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका लागि काठमाडौँस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकामा डेल्टा भेरियन्ट पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्तिमार्फत जानकारी गराएको छ । निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार उनीहरूमा नयाँ भेरियन्ट डेल्टा बि.१.६१७.२ भएको पुष्टि भएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट जाँचका लागि जेठ ३१ गते काठमाडौँ पठाइएकामा स्याङ्जाका दुईसहित गोरखाको बारपाक सुलीकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया तीन महिला गरी पाँच जनामा नयाँ भेरियन्ट फेला परेको हो ।

नयाँ भेरियन्ट पुष्टि भएका स्याङ्जाका दुवै जना संक्रमित निको भएर घर फर्किसकेका कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खीमबहादुर थापाले बताए । संक्रमितमा अहिले त्यस्तो कुनै पनि समस्या नरहेको उनले जानकारी दिए ।

डेल्टा भेरियन्ट भाइरस यसअघिको अल्फा भेरियन्टभन्दा बढी संक्रमित हुने भएकाले थप सचेतना अपनाउन प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

प्रतिक्रिया