सोमबार, माघ १२, २०८२

प्रधानमन्त्री देउवाले पाए १६५ मत

मेरोन्यूज २०७८ साउन ३ गते २१:५३

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । दोस्रोपटक विघटित प्रतिनिधिसभा पुनर्स्थापनसँगै बसेको बैठकबाट उनले विश्वासको मत पाएका हुन् ।

प्रधानमन्त्री देउवाले कूल खसेकाे मतमध्ये १६५ मत पाएका छन् । कूल २४९ मत खसेकाे मध्ये उनले १६५ मत पाएका हुन् । उनको विपक्षीमा ८३ मत खसेको छ । उनलाई बहुमत प्राप्त गर्नका लागि कूल मतकाे १३६ मत आवश्यक रहेको थियो ।

उनको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका नेता माधव कुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चाका सांसदहरूले मत दिएका हुन् ।

गत २९ गते सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनर्स्थापना र संविधानको धारा ७६(५) बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

यससँगै देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनु पर्ने प्रावधान भए पनि देउवाले पुनर्स्थापित बैठकको पहिलो दिन नै विश्वासको मत लिएका हुन् । मतदान सकिए पनि घोषणा हुन बाँकी रहेकाे छ ।

प्रतिक्रिया