खिर खाएर मनाइयो साउन १५

काठमाडौं । नेपाली समाजमा परापूर्व कालदेखि मनाउँदै आएको संस्कृतिक पर्व साउन १५ आज घरघरमा खिर खाएर मनाइएको छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको परम्परा नेपाली समाजमा रहँदै आएको छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले बताएका छन् ।
साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन शुरु भएको हो ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुन सक्ने धर्मशास्त्रविद् गौतमले बताए । तर यसको कुनै शास्त्रीय वचन वा प्रमाण भने छैन ।
ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्रद्धाका दिन अनिवार्यरुपमा गाईको दूधमा पायस अर्थात् बनाउँछन् ।
यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरिएको छ ।
नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।
खिर खाने पर्वका रुपमा साउन १५ मनाइने भएकाले आज बजारमा दूधको बिक्री पनि धेरै भएको व्यवसायीले जनाएका छन् । धेरै स्थानमा दिउँसै दूध सकिएको थियो । मैतीदेवमा रातोपुल डेही सञ्चालन गर्दै आएका हरेन्द्र श्रेष्ठले आज धेरै ग्राहकलाई दूध विना नै फर्काउनुपरेको बताए । यसै वर्षदेखि राष्ट्रिय दुग्ध विकास बोर्डले खिर दिवसका रुपमा घोषणा गरेको छ । दूधमा बनेका परिकारले कोरोनाजस्ता भाइरसबाट बचाउन सफल हुने भएकाले रोग प्रतिरोधी क्षमता वृद्धिमा सहयोग पुग्ने बोर्डले जनाएको छ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया