खोटाङ समाज हङकङद्वारा लाखौंको स्वास्थ्य सामग्री सहयोग

खोटाङ । खोटाङ समाज हङकङले खोटाङ जिल्लाका सबै स्थानीय तहलाई नौ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
विश्वभर फैलिएको कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन समाजले दुई नगरपालिका र आठ गाउँपालिकालाई शनिबार नौ लाख ५२ हजार ५६ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषको समन्वयमा खोटाङ समाज हङकङले चार थान अक्सिजन सिलिण्डर, स्यानिटाइजर स्प्रे, पिपिइ, फेसशिल्ड, पल्स अक्सोमिटर, थर्मलगन, गाउन, सर्जिकल ग्लोब्स, ह्याण्ड स्यानिटाइजर, स्ट्रेचर, ह्वीलचेयरलगायतका सामग्री उपलब्ध गराएको छ ।
जिल्लाका सबै स्थानीय तहमा पठाउने गरी समाजका सदस्य धर्मराज राईले जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवं अस्पताल विकास समितिका अध्यक्ष बबि चाम्लिङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
खोटाङमा जन्मिएर हाल हङकङमा बसिरहेका खोटाङेले स्थापना गरेको समाजको अगुवाइमा हङकङमा सञ्चालन गरिएको सहयोग अभियानका क्रममा जम्मा भएको रकमबाट काठमाडौँमा स्वास्थ्य सामग्री खरिद गरेर जिल्ला ल्याइएको समाजका सदस्य राईले बताए ।
समाजमा आवद्ध खोटाङेले आफ्नो मातृभूमिका लागि उपलब्ध गराएको स्वास्थ्य सामग्री जिल्लाका हरेक स्थानीय तहमा करिब ९०/९० हजार रुपैयाँ बराबरको पुग्ने अनुमान गरिएको छ ।
यसअघि खोटाङ सेवा समाज युके (बेलायत)ले जिल्ला अस्पताल खोटाङ र स्थानीय तहलाई दुई चरणमा स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।
‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ भन्ने नाराका साथ समाजले २४ लाख ६० हजार २०० रुपैयाँको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
पहिलो चरणमा थर्मलगन, कन्सन्ट्रेटर मेसिन, पल्स अक्सोमिटर, इन्ट्युवेशन सेट, अक्सिजन मास्क, सक्सन ट्युब, गाइड्लर एरवेज, थ्रीवएज अक्सिजन कारमेला र दोस्रो चरणमा पोर्टेबल एक्सरे मेसिन, प्यासेन मनिटर, स्टाण्ड माउन्टेड, एन्टिजेन टेस्ट कीटलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको समाजका सदस्य जानुका राईले बताइन् ।
समाजका अध्यक्ष डा. प्रमोद कोयी राईले भर्चुअल माध्यमबाट एक कार्यक्रम गरी खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलको रोहबरमा जिल्ला कोभिड अस्पताल र स्थानीय तहलाई स्वास्थ्य स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
दश स्थानीय तह रहेको जिल्लामा हाल कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन घट्दै गएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी) खोटाङले जनाएको छ ।
डिसीसिएमसीका अनुसार गत वैशाखयता दुई हजार ५१४ जनालाई सङ्क्रमण देखिएको जिल्लामा हाल ३६९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पूर्वी पहाडी जिल्ला खोटाङमा अहिलेसम्म निषेधाज्ञा लागू गरिएको छैन । निषेधाज्ञाले जिल्लामा निर्माणाधीन विकास निर्माणका काममा समस्या हुनुका साथै विभिन्न विकृति फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू नगरेको हो ।
सरकारले ठूला शहर तथा बजारमा ५०० र पहाडी जिल्लामा २०० सक्रिय सङ्क्रमित भएको खण्डमा निषेधाज्ञा लागू गर्न निर्देशन दिएको थियो ।
जिल्लामा निषेधाज्ञा लागू नगरिए पनि सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गरिएको प्रमुख जिल्ला अधिकारी एवं डिसीसिएमसीका संयोजक शर्माले बताए ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया