मंगलबार, माघ २०, २०८२

लुम्बिनी प्रदेशको पहिलो मन्त्रिपरिषद् बैठकले गर्‍यो आठ निर्णय

मेरोन्यूज २०७८ साउन २८ गते २१:४०

काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएलगतै पहिलो मन्त्रिपरिषद्को बैठक बसेको छ । बिहीबार साझ मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा मन्त्रिपरिषदको बैठक बसेको हो ।

आजै मुख्यमन्त्रीमा नियुक्त भएका केसीले सात सदस्य मन्त्रिपरिषद् गठन गरेका थिए । मुख्यमन्त्री र मन्त्रीले सपथ ग्रहण गरेपछि बैठक बसेको हो । पहिलो बैठकले आठ ओटा निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर ५ प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै, कोभिड–१९ का बिरामीको तत्काल उद्धार गर्न हटलाइन र सवारी साधन (एम्बुलेन्स)को व्यवस्था गर्ने र सोको खर्च प्रदेश सरकारले व्यहोर्ने, कोरोना प्रभावित क्षेत्रमा घुम्ती शिविरमार्फत एन्टिजेन परीक्षणको व्यवस्था गथरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने, कोभिड–१९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाइ प्रदेशवासी जनतालाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने, प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्कालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्तै, मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा अमरबहादुर डाँगीलाई नियुक्त गर्ने, क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फेर्ने बिरामीहरुलाई उपचारका लागि हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारका तर्फबाट थप दुई लाख रुपैयाँका दरले उपलब्ध गराउने, मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको मागको आधारमा एउटा पोर्टेबल अल्ट्रासाउन्ड मेसिनसहित तालिमप्राप्त नर्स उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया