शुक्रबार, मंसिर ५, २०८२

‘भोट चल्छ, हाम्रो बोली किन चल्दैन ?’

मेरोन्यूज २०७८ साउन ३० गते १४:१३

काठमाडौँ । कोरोना भाइरस महामारीका कारण भैरहवा शान्तिनगरकी ३४ वर्षीया तमन्ना गुरुङको रोजीरोटी खोसिएको छ । जीवन चलाउन उनी अहिले कामका खोजीमा छिन् ।

कोरोना भाइरस (कोभिड–१९)का कारण देखाउँदै कोही काम दिन तयार हुँदैनन् । ‘कोरोनाले गर्दा जीवन धान्नै नसक्ने अवस्थामा पुगेकी छु, तेस्रो लिङ्गी भनेर समाजले गर्ने फरक व्यवहारले झन् पीडा थपेको छ,’ उनले गुनोसो गरिन् ।

परिवार र समाजले स्वीकार नगर्दाको पीडा उनलाई छँदै छ । उनले भनिन्, ‘कोरोनाले भोकभोकै मर्ने स्थिति आयो, हामीलाई देख्नेबित्तिकै कार्यालयले काम पनि दिँदैनन् ।’

रुपन्देहीको देवदहकी सायरा गुरुङको पनि पीडा उस्तै छ । सानैमा बुवा गुमाएकी उनलाई आमाले मजदुरी गरेर हुर्काइन् । पढाइमा अब्बल उनले विद्यालयमा राम्रो व्यवहार नभएकै कारण कक्षा १२ पुगेपछि अध्ययनलाई निरन्तरता दिन सकिनन् ।

उनले भनिन्, ‘कोरोनाले गर्दा घरको स्थिति नाजुक छ, आमाको कमाइले परिवारका तीन सदस्यको गुजारा चल्ने अवस्था छैन, तेस्रो लिङगी भएकै कारण मैले काम पाउँदिन ।’

तिलोत्तमा नगरपालिकाका आशिका थापा पनि कोरोनाको मारले समस्यामा परिन् । यौनिक तथा अल्पसंख्याक समुदायको भएकै कारण शान्ति नमूना माविमा कक्षा ११ मा पढ्दै गर्दा बीचमै उनको रोजगारी छैन ।

उनहरु त प्रतिनिधि पात्र मात्रै हुन् । यौनिक तथा अल्पसंख्याक समुदायको भएका कारण परिवार र समाजबाट अपहेलित भएका उनहरुलाई कोरोनाले झनै समस्या थपिदिएको छ । कोरोना महामारीका समयमा स्थानीय तहले राहतका कार्यक्रम ल्याए पनि उनहरुले भने केही पनि नपाएको गुनासो गरिन् । ‘प्रदेशका सबै स्थानीय तहले राहत वितरण गरे । हामीले पाएनौँ । हामीलाई राहतमा पनि विभेद गरियो,’ वृक्ष समूहका प्रदेश संयोजक रेशम न्यौपाने भने ।

सरकारले दिने राहतलगायत विभिन्न सुविधाका लागि परिचयपत्र वा नागरिकताको आवश्यकता हुन्छ । यो समुदायका धेरै नागरिक नागरिकताबाट बञ्चित छन् । सरकारले दिने सेवा सुविधाबाट समेत आफूहरु बञ्चित हुनु परेको समूहका अध्यक्ष अवान्तिका घर्तीको गुनासो छ ।

‘पछिल्लो समय सरकारले नागरिकता विधेयकमा ‘लिङ्ग परिवर्तन र चिकित्सकबाट प्रमाणित हुनु पर्ने’ भन्ने गलत प्रावधान राखेको छ । यसलाई हटाएर स्वघोषणाका आधारमा नागरिकता दिने व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

ब्लुडाइमण्ड सोसाइटीका राष्ट्रिय दिशानिर्देश तथा परिचालन अधिकृत आनिक राना भने ‘हामीले तिरेको कर चल्छ, भोट चल्छ तर हामीले भनेको किन चल्दैन ?’

अधिवक्ता इन्दिरा आचार्य कानुनमा उल्लेख भएर पनि कार्यान्वय नभएका विषयमा सबै मिलेर सम्बन्धित निकायलाई घच्घचाउनु पर्ने सुझाव दिन्छन् । ‘समाजमा हुने अन्याय र विभेदका विरुद्ध कानूनी प्रक्रियाका आधारमा अघि बढ्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया