अखाद्य वस्तु मिसिएको बिस्कुट उत्पादक कम्पनीलाई कारबाही गर – मानव अधिकार आयोग

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा अखाद्य वस्तु मिसिएको बिस्कुट भेटिएको विषयमा छानबिन गरी तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन राष्ट्रिय मानवअधिकार आयोगले निर्देशन दिएको छ ।
दिक्तेल बजारमा धागो तथा प्लाष्टिकका टुक्रा टाँस्सिएको डाइजेष्टिभ बिस्कुट भेटिएको विषयमा तत्काल छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन राष्ट्रिय मानवअधिकार आयोग प्रदेश १ शाखा कार्यालय खोटाङले जिल्ला प्रशासन कार्यालय खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई निर्देशन दिएको हो ।
क्वालिटी फुड एण्ड स्न्याक्स इन्डस्ट्रिज प्रालि दुहवी सुनसरीले उत्पादन गरेको बिस्कुटमा धागो तथा प्लाष्टिकका टुक्रा टाँस्सिएको भेटिएको खबर स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि आयोगले ध्यानाकर्षण भएको जनाउँदै बिस्कुट उद्योग, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई उपभोक्ता अधिकार संरक्षणमा सचेत हुन आग्रह गरेको छ ।
इन्डस्ट्रिजलाई पत्र पठाउँदै मानवअधिकार आयोगले अखाद्य वस्तु बजारमा रहेका भए तत्काल बिक्री वितरण रोकेर यथाशीघ्र जानकारी उपलब्ध गराउन लिखित निर्देशन दिएको छ ।
“बिस्कुटमा के, कसरी अखाद्य वस्तु मिसावट भएको हो ? मिसावटबाट उपभोक्ताको स्वास्थ्यमा असर पर्छ, पर्दैन ? असर पर्न गएको अवस्थामा त्यसको जिम्मेवारी कम्पनीले लिनुपर्ने हो या होइन ? पटक–पटक अखाद्य वस्तु मिसावट भइरहेको सन्दर्भमा त्यस्ता सामग्री तत्काल बजारबाट फिर्ता लिई नष्ट गर्नेतर्फ कम्पनीको के–कस्तो कार्यक्रम छ ?”, आयोगले लेखेको पत्रमा भनिएको छ, “अहिले पनि अखाद्य वस्तु बजारमा रहेका भए बिक्री वितरण गर्ने कार्य तत्काल रोकेर नेपालको संविधान धारा ४४ र उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३ ले प्रदान गरेको उपभोक्ताको मानवअधिकार संरक्षण गर्नुपर्ने हो, होइन ? सो समेतको विवरण शीघ्र उपलब्ध गराउन मानवअधिकार आयोग ऐन, २०६८ को दफा २१ (१) र राष्ट्रिय मानवअधिकार आयोग उपभोक्ताको मानवअधिकार संरक्षण तथा प्रवर्दन अनुगमन निर्देशिका, २०६८ बमोजिम गरिन्छ ।”
दिक्तेल बजारका एक स्थानीय बासिन्दाले बच्चालाई खुवाउन किनेका डाइजेष्टिभ बिस्कुटमा धागो टाँस्सिएको भेटिएको विभिन्न सञ्चारमाध्यमबाट खबर सार्वजनिक भएको थियो । गत जुलाइमा उत्पादन गरिएको बिस्कुटमा बोरा सिलाउन प्रयोग हुने धागो टाँस्सिएको पाइएको उपभोक्ताले बताएका छन् ।
गत साउन १८ गतेका दिन पत्रकार भीम राईले प्लाष्टिक टाँस्सिएको डाइजेष्टिभ बिस्कुट फेला पारेरे आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।
अखाद्य वस्तु मिसिएको बिस्कुट भेटिएको विषयमा राष्ट्रिय मानवअधिकार आयोग शाखा कार्यालय खोटाङका मानवअधिकार अधिकृत चिरञ्जीवी कोइरालाले जिल्ला प्रशासन कार्यालय र नगरपालिकालाई शीघ्र बजार अनुगमन गरी उत्पादक कम्पनीलाई जिम्मेवार बनाउन र सोको जानकारी कार्यालयमा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
राष्ट्रिय मानवअधिकार आयोगले उक्त विषयमा यथाशीघ्र कारबाहीको प्रक्रिया अगाडि बढाउन र उपभोक्ता अधिकार संरक्षण गर्न र उत्पादक कम्पनीलाई जिम्मेवार बनाउन जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।
यता प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले उक्त विषयको जानकारी आएको र कारबाहीका लागि आवश्यक अनुसन्धान सुरु गरेको बताएका छन् ।
दश स्थानीय तह रहेको जिल्लाका अधिकांश बजारमा म्याद नाघेका अखाद्य सामग्री बिक्री तथा वितरण हुने गरेको खबरसमेत सार्वजनिक भएको छ ।
जिल्लामा म्याद नाघेका अखाद्य सामग्री खुलेआम बिक्री तथा वितरण भइरहेको पाइए पनि अहिलेसम्म व्यापारीमाथि सम्बन्धित निकायले कारबाहीको प्रक्रिया अगाडि बढाएको छैन ।











टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया