मंगलबार, चैत १०, २०८२

साहारा खोज्दै जुम्लादेखि जर्मनी पुगेका धन

नरेन्द्र राैले २०७८ भदौ ५ गते १७:०३

काठमाडौँ । अचेल भाषा अनुवादक धन चौलागाईको दौडधुप बढ्दो छ । नेपाली, जर्मनी र अंग्रेजी भाषाको अनुवादकका रुपमा उनी जर्मनी, अष्ट्रिया, स्वीट्जरल्याण्ड र अन्य देशका कुना–कुना दौडिरहेका छन् । विभिन्न देशका सरकार तथा कम्पनीले उनको सहयोग माग्ने गरेको छ । भाषाप्रतिको प्रेमले सन् २००९ मा उनले डल्मेट्चर नेपाली नामक भाषा अनुवाद गर्ने कम्पनी सुरु गरिसकेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

जर्मनीको म्युनिख सहरमा सुरु गरिएको डल्मेट्चर नेपाली कम्पनीमार्फत धनले अनुवादसँगै अड्डा अदालतमा पर्ने गरेका मुद्दा, सरकारी तथा निजी कम्पनीका कार्यालयमा आइपर्ने काम गर्दै आएका छन् । यस्तै, उनी पथ प्रदर्शकको काममा समेत क्रियाशील छन् । जर्मनी भाषासम्बन्धि व्यावसायिक काम थाल्ने उनी औँलामा गन्न सक्ने नेपालीभित्र पर्छन् । जर्मनीस्थित नेपाली राजदूतावासमा काम गर्ने राजेन्द्र स्थापितपछि उनी एक्ला नेपाली हुन् ।

जर्मनीको म्युनिख विश्व विद्यालयबाट सोसल वर्कमा स्नातक गरेका चौलागाई वर्षेनी पर्यटकहरूलाई घुमाउन नेपाल आइपुग्छन् । यति, मात्र होइन सामाजिक सहयोगका काममा उनले हात हालेका छन् । आफू जहाँ रहे पनि मन नेपालमै हुन्छ, उनको । जर्मनीमा विभिन्न च्यारिटी कार्यक्रम गरेर त्यसबाट उठ्ने रकम नेपालमा सामाजिक सेवामा खर्चिने गर्छन् । नेपालका भूकम्प पीडितका लागि उनले तीन सय घर बनाउन सफल बने । ‘गोरखा, ओखलढुंगा, नुवाकोट जिल्लाका भूकम्प पीडितहरूका लागि नयाँ आवास बनाउन सफल भएपछि निकै खुसी लाग्यो,’ उनले सुनाए, ‘म जहाँ रहे पनि नेपाल र नेपालीका लागि योगदान गरिरहन्छु ।’

जुम्लाको नुवाकोटमा जन्मिएका चौलागाईलाई आफ्नो जीवन कुनै चलचित्रको कथा जस्तै लाग्छ । सानै हुँदा बुवा–आमा गुमाए । परिवारमा दाइ, काका, काकी भए पनि पढ्ने, लेख्ने वातावरण पाएनन् ।

गाई चराउने, खेतमा काम गर्नु पर्ने बाध्यता थियो । उनको दयनीय अवस्था देखेर बाल मन्दिरमा काम गर्ने एक व्यक्तिले उनलाई काठमाडौँ ल्याए । त्योबेला उनको उमेर ८ वर्ष मात्र थियो । तर, बाल मन्दिरमा ५ वर्ष पुगेकालाई मात्र भर्ना लिइन्थ्यो । ‘जसले मलाई काठमाडौँ ल्याउनु भयो उहाँको नाम त याद छैन, तर मलाई आफ्नो उमेर ५ वर्ष भन्नु भनेर सम्झाइरहनु हुन्थ्यो,’ उनले सुनाए, ‘मैले त्यसै गरेँ, मेरो भर्ना भयो ।’

जुम्लादेखि काठमाडौँसम्म ल्याउने ती व्यक्ति बेलाबेला भेट्न आइरहन्थे । चाँदबाग स्कुलले त्यही बेला एउटा परीक्षा लियो । परीक्षामा नाम निकाल्नेहरुूलाई त्यही पढ्न पाउने व्यवस्था थियो । परीक्षा दिने ४५ जनामध्ये ५ जनामा पर्न उनी सफल भए ।

४ कक्षासम्म चाँदबागमै पढेका उनी फेरि बाल मन्दिरमै फर्के । त्यही बेला उनले बाल मन्दिर वेल्फेयर क्लब खोलेर अतिरिक्त क्रियाकलापमा सक्रिय बने । यसै क्लबमार्फत पशुपति बृद्धाश्रममा गएर सहयोग गर्ने, कला, पेन्टिङ जस्ता सिर्जनात्मक काममा लाग्ने, आफ्ना साथीहरूलाई संलग्न गराउन थाले । बाल मन्दिरमा रहँदा धेरैका प्रिय थिए । कोही बिरामी भए अस्पताल लैजाने, अस्पतालमा कुर्ने, अफ्ठ्यारो पर्दा अरुलाई सहयोग गर्ने, काम आयोजना गर्दा नेतृत्व गर्ने गर्थे ।

त्यही बेला जर्मनीकी नागरिक डा. रोशी स्रोइटर निरन्तर बाल मन्दिर आउने जाने गर्थिन् । र, त्यहाँका बालबालिकालाई सहयोग गर्थिन् । त्यसै क्रममा उनीसँग धनको बोलचाल, भेटघाट बाक्लिदै गयो । यहाँको अवस्थाबारे उनले बयान गर्थे ।

सम्बन्ध विस्तारै राम्रो बन्दै गयो । ‘माया दिने केयर गर्ने कोही भेटे झैं लाग्यो,’ त्यो पल सम्झिदै उनले भने । डा. रोशीले धनसँगै बसिरहेकी पोखराकी एक विद्यार्थी अनुराधालाई धर्म पुत्रीका रुपमा ग्रहण गरिन् । त्यसै मौकामा धनलाई छोरा मानेर जर्मनी पुर्याइन् । धनले त्यहीको शिक्षा दिक्षा पाए । जर्मन र अंग्रेजी भाषा राम्रो बनाउँदै गए । तर, नेपाली भाषा, संस्कृतिलाई पनि उत्तिकै माया गरिरहे । हरेक दिन नेपाली भाषाका समाचार, तथा लेख पढ्ने, युट्युबहरुमा नेपाली भाषामै बनेका डकुमेन्टी हेर्ने क्रम छुटाएनन् । अहिले पनि त्यो सिलसिलालाई निरन्तरता दिइरहेका छन् ।

जर्मनी भाषामा कारिसिमोको शब्दको अर्थ हुन्छ, सकारात्मक । कारिसिमो संस्थाका सचिव रहेका धनले जर्मनीमा विभिन्न च्यारिटी सो कार्यक्रमहरु आयोजना गरेर नेपालका विद्यार्थीका लागि निरन्तर सहयोग गर्दै आइरहेका छन् । नेपालको चिल्ड्रेन्स फ्यूचर अर्गनाइजेसनले विभिन्न जिल्लाका एक सय ९ जना अनाथलाई पढाइरहेको छ । बाँकी १ सय ८० जना बालबालिकाको पढाईमा सहयोग पुर्याउँदैै आएको छ ।

यसलगायत अरु संस्थासँग समन्वय गरेर उनी अगाडि बढिरहेका छन् । आफ्ना लागि मात्र नभई उनले नेपालका विद्यार्थीहरूको सुनौलो भविष्यका लागि योगदान पुर्यायाइरहेका छन् । उनले केही वर्षअघि मात्रै धादिङको सुनगाभा एकेडिमीमा पढ्ने १५ जना विद्यार्थीलाई जर्मनी घुमाउने व्यवस्था मिलाए ।

तीन हप्ताको त्यो बसाईमा नेपाल र जर्मनीका विद्यार्थीहरुले एक अर्कासँग धेरै कुरा सिक्ने मौका पाए । यसपालि तनहुँ, नुवाकोट, पोखरा, धादिङ, ओखलढुंगालगायत अन्य केही जिल्ला पुगेका उनी यस्तै रचनात्मक कामलाई निरन्तरता दिन घोत्लिरहेका हुन्छन् । नेपालका विभिन्न ठाउँ कुदिरहेका हुन्छन् । उनका बारेमा निर्माण गरिएका तीनवटा डकुमेन्ट्री जर्मनीका टेलिभिजनले प्रशारण गरिसकेका छन् । त्यस्तै, जर्मनी, अष्ट्रियाका विभिन्न पत्रपत्रिका र अनलाइनले उनका बारेमा समाचार छापिसकेका छन् ।

धनको सकारात्मक पक्ष भनेको उनी अरुलाई दोष दिएर, गुनासो गरेर बस्दैनन् । बरु आफूले आफ्नो स्थानबाट के सहयोग गर्न सकिन्छ, सधैँ त्यसैमा जोड दिन्छन् । राजनीतिमा उनको रूची छ । समाजसेवा त उनले आफूसँगै अघि बढाएका छन् ।

हरेक दिनजसो नयाँ डकुमेन्ट्री हेर्न छुटाउँदैनन् । नेपाली गीत, संगीत उनको मुटुमा छ । एक्लै हुँदा सुनेर आनन्दित बन्छन् । ‘म जहाँ पुगे नि के भयो ?’ उनी भन्छन्, ‘मेरो मन त, नेपाली हो ।’

प्रतिक्रिया