सात महिनामा एक करोड बढीलाई कोरोना खोप

काठमाडौँ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाएको सात महिनामा नै एक करोड बढीले खोप लगाउन सफल भएका छन् ।
सरकारले गत माघ १४ गतेबाट खोप लगाउन सुरु गरेयता सात महिनामा नै एक करोड ९२ हजार १६४ जनाले खोप लगाएका हुन् । नेपालमा पहिलोपटक सकंमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते संक्रमण देखिएको थियो । कम्तीमा ६० प्रतिशत जनसंख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाइएको छ ।
मन्त्रालयले अहिलेकै दरमा संक्रमण बढे तेस्रो लहर असोज १५ देखि कात्तिक १५ गतेभित्र आउने सक्ने चेतावनी दिएको छ । सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ५० वर्षमाथिका प्रायः सबैलाई दिइसकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो मात्रा १७.९ प्रतिशत अर्थात् ५४ लाख २४ हजार ८३६ जनाले र पूर्ण मात्रा १५.४ प्रतिशत अर्थात् ४६ लाख ६७ हजार ३२८ जनाले लगाएका छन् । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले विभिन्न चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउने अभियान सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार अहिले विभिन्न विश्वविद्यालयमा परीक्षा दिने विद्यार्थीलाई खोप लगाउन थालिएको छ । “हामी प्राथमिकतामा परेका व्यक्तिलाई खोप दिँदै आएका छौँ”, उनले भने, “खोप आएपछि फेरि प्राथमिकीकरण गरेर खोप अभियान सञ्चालन गर्ने छौँ ।”
उनका अनुसार अहिलेसम्म एक करोड ३२ लाख खोप आइसकेको छ । नेपालमा अहिले कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका खोप लगाइएको छ । सरकारले १८ वर्षभन्दा माथिका ७१.६ प्रतिशत अर्थात् कूल दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जनाएको छ ।
सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि खरिद, अनुदान र कोभ्याक्स सुविधामार्फत खोप ल्याएर लगाइरहेको छ । नेपाललाई सुरुमा माघ ८ गते भारतले १० लाख मात्रा कोभिशिल्ड खोप उपलब्ध गराएको थियो । त्यसपछि सरकार आफैँले १० लाख मात्रा कोभिशिल्ड उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग गत फागुन ९ गते १० लाख मात्रा खोप खरिद गरेको थियो ।
कूल लक्षितमध्ये २० प्रतिशत कोभ्याक्स सुविधामार्फत खोप ल्याउने सरकारको तयारी छ । कोभ्याक्सबाट निःशुल्क रूपमा एक करोड १३ लाख मात्रा खोप प्राप्त गर्ने सरकारको योजना छ । यसैगरी भारतसहित चीन र भुटानबाट नेपालले अनुदानका ४६ लाख ३० हजार मात्रा खोप प्राप्त गरेको छ । तीमध्ये भारतले १० लाख मात्रा कोभिशिल्ड, चीनले ३४ लाख मात्रा भेरोसेल र भुटानले दुई लाख ३० हजार एस्ट्राजेनिका खोप उपलब्ध गराएको छ ।
यसैगरी कोभ्यासको अनुदानमा पनि नेपाललाई विभिन्न देशले ३४ लाख ९७ हजार ५९० मात्रा खोप उपलब्ध गराएका छन् । भारतबाट तीन लाख ४८ हजार मात्रा कोभिशिल्ड, अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एण्ड जोन्सन र जापानबाट एस्ट्राजेनिका १६ लाख १४ हजार ७४० मात्रा खोप प्राप्त भएको छ । त्यस्तै नेपालले भारत र चीनबाट विभिन्न समयमा ५४ लाख मात्रा खोप खरिद गरेको छ । सरकारले भारतसँग २० लाख मात्रा कोभिशिल्ड खरिद गरेकामा १० लाख मात्रा प्राप्त भएको छ । यस्तै चीनबट ४४ लाख मात्रा भेरोसेल खोप खरिद गरेको छ । सरकारले असोज मसान्तभित्र एक करोड पाँच लाख ४८ हजार मात्रा खोप र चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याइसक्ने जनाइएको छ ।
नेपालमा विसं २०७७ साउनको तेस्रो हप्ता कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिएको थियो । यस्तै २०७७ चैत पहिलो साता नेपालमा सङ्क्रमणको दोस्रो लहर फैलिएको थियो । २०७८ वैशाख २८ गते सबैभन्दा बढी नौ हजार ३१७ जनामा सङ्क्रमण देखिएको हो ।
सरकारले १८ वर्षमुनिका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाइने छ । मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याइने छ । नेपालमा हालसम्म आठ लाख ४८ हजार २०४ जनामा सङ्क्रमण देखिएको छ । यस्तै सात लाख १९ हजार ३३६ जना सङ्क्रमणमुक्त भएका छन् भने १० लाख ७७० जना सङ्क्रमणबाट मृत्यु भएको छ । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । रासस
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया