शनिबार, वैशाख २७, २०८२

नेपालबाट अमेरिकामा निर्यात सामान ४६ प्रतिशतले वृद्धि

मेरोन्यूज २०७८ भदौ २१ गते १२:४५

काठमाडौँ । गत आर्थिक वर्ष नेपालबाट सामान निर्यात हुने देश भारतपछि अमेरिका बनेको छ । गत आर्थिक वर्ष २०७७-७८ मा नेपालको सबैभन्दा बढी निर्यात व्यापार हुने देश अमेरिका बनेको हो ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालबाट कूल एक खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ । जसमा अमेरिकामा मात्रै १३ अर्ब ७९ करोड ३५ लाख रुपैयाँ बराबरको सामान निकासी भएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.१ प्रतिशत बढी हो ।

आर्थिक वर्ष २०७६-७७ मा नेपालबाट ९ अर्ब ४४ करोड ४३ लाख रुपैयाँ बराबरको सामान अमेरिका निर्यात भएको थियो । सोही अवधिमा अमेरिकाबाट हुने आयात भने घटेको थियो ।

गत आर्थिक वर्षमा नेपालले १५ खर्ब ३९ अर्ब ८४ करोड रूपैयाँ बराबरको सामान आयात गरेको छ । जसमा अमेरिकाबाट १९ अर्ब ५० करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । जुन आर्थिक वर्ष २०७६-७७ को तुलनामा १७.२ प्रतिशतले कमी हो ।

गत आर्थिक वर्षमा नेपालबाट अमेरिकामा निर्यात भएका सामानमा उलन कार्पेट, तामा तथा यसका भाँडाहरू, कटन झोला, औषधिय तेल, पश्मिना, तयारी गहनालगायत रहेका छन् ।

प्रतिक्रिया