सोमबार, जेठ ५, २०८२

सेक्टेम्बर ११ अर्थात अमेरिकामाथि हमलाको २० वर्ष

अमेरिका कमजोर बन्दा तालिबान पुनः अफगानिस्तानको सत्तामा

पुरुषोत्तम पौडेल २०७८ भदौ २६ गते ८:४५
अफगानिस्तानमा सत्ता कब्जा गरेको तालिबानले चयन गरेका नयाँ प्रधानमन्त्री महुल्ला हसनलगायतका नेताहरु

आज सेक्टेम्बर ११, अर्थात २० वर्षअघि अमेरिकास्थित विश्व व्यापार केन्द्र र पेन्टागन दुई टावरमाथि हवाई आक्रमण भएको दिन । त्यसको आरोप लाग्यो आतंकवादी समूह अल कायदालाई । अलकायदाले अफगानिस्तानबाट आफ्नो कार्य सञ्चालन गर्थे भने उनीहरूलाई अफगानिस्तानको तत्कालीन सरकार तालिबानले संरक्षण दिएको थियो ।

यो २० वर्षको अवधिमा अमेरिकामा हवाई आक्रमण गर्ने प्रमुख योजनाकारका रुपमा रहेको विश्वास गरिएका ओसामा विन लादेनको हत्याबाहेक अरु खास उल्लेखनीय सफलता हात पार्न अमेरिकाले सकेन । २० वर्षमा अमेरिका दुई वटा प्रमुख युद्धमा होमियो, इराक र अफगानिस्तानमा । यद्यपि, दुवैमा उसको पराजय भयो । यसको पछिल्लो उदाहरण अफगानिस्तान हो ।

अमेरिकाको समर्थनमा बनेको अफगानिस्तानी सरकारमाथि तालिबानले अगष्ट १५ मा सत्ता कब्जा गरेसँगै अफगानिस्तान युद्धमा अमेरिका औपचारिक रुपमा पराजित भएको हो । यसरी सन् २००१ मा अमेरिकी शक्तिका कारण सत्ताबाट अपदस्थ भएको तालिबानी समूहले २० वर्षमा पुन: अफगानिस्तानको सत्ता आफ्नो हातमा लिन सफल भयो । अमेरिकी इतिहासमा नै अफगानिस्तान यस्तो देश हो, जहाँ अमेरिका करिब २० वर्ष युद्धमा होमियो । तर, निराशबाहेक खास उपलब्धि केही भएन ।

यसैबीच अफगानिस्तानमा सत्ता कब्जा गरेको तालिबानले मंगलबार महुल्ला हसनलाई नयाँ प्रधानमन्त्री चयन गरेको छ । उनी संयुक्त राष्ट्र संघको कालो सूचीमा परेका व्यक्ति हुन् । यस्तै नवगठित सरकारको आन्तरिक व्यवस्था मन्त्रीका रुपमा चयन भएका सेराजुद्दीन हक्कानी अमेरिकी सुरक्षा निकाय एफबिआईले ‘आतंककारीको सूची’मा राखेका व्यक्ति हुन् ।

अमेरिकास्थित विश्व व्यापार केन्द्र र पेन्टागन दुई टावर । साथमा बिन लादेन । जसलाई अमेरिकाले सेक्टेम्बर ११ को यो आक्रमणको मुख्य दोषी ठहर गर्दै अफगानिस्तानमा मारेको थियो ।

२००१ सेक्टेम्बर ११ को घटनाले अन्तर्राष्ट्रिय राजनीतिलाई एउटा नयाँ मोड दिएको थियो । आफ्नो देशमाथि हवाई आक्रमण गर्ने समूहविरुद्ध युद्धको घोषणा गरेको अमेरिकाले विश्वका अन्य देश माझ ‘अमेरिकासँग’ अथवा ‘अमेरिकाविरुद्ध’ नीति लियो । गएको दुई दशकमा अमेरिकाले मध्यपूर्व एसिया र अफगानिस्तानमा युद्ध छेडे पनि कतै सफलता प्राप्त गरेको छैन । यस अर्थमा गएको दुई दशकलाई अमेरिकी विदेश नीतिको असफलताको दशकका रुपमा व्याख्या गर्न सकिन्छ ।

सन् २००१ मा अफगानिस्तानमा अमेरिकी सेना प्रवेश गरेदेखि फिर्ता हुँदासम्म करिब २ हजार ५०० अमेरिकी सैनिकको मृत्यु भयो । यस क्रममा २० हजार अमेरिकी सैनिक घाइते भएका छन् भने खबौँ डलर खर्च भएको छ । आफ्नो ‘स्याटेलाइट स्टेट’का रुपमा अफगानिस्तालाई अघि बढाउन प्रयास गर्दै आएको अमेरिकाले यति धेरै लगानीका बाबजुत तालिबानी समूहसँग हार व्यहोरेको घटनालाई अमेरिकी असफलताको अर्को उदाहरणका रुपमा इतिहासले सम्झने छ ।

दोस्रो विश्व युद्धपछि अमेरिकाले हारेको युद्ध

यो घटनालाई अमेरिका र विश्वले लामो समयसम्म किन पनि सम्झिनेछ भने दोस्रो विश्व युद्धअघि सम्म अमेरिकाले लडेको प्रायः सबै युद्धमा उसको सेनाले विजयी हासिल गरेको पाइन्छ । तर, दोस्रो विश्व युद्धपछि लडेका कमै मात्र युद्धमा अमेरिकी सेना विजयी भएको छ । सन् १९९१ को ‘गल्फवार’लाई छोड्ने हो भने अमेरिकाले अन्य युद्धमा खास सफलता प्राप्त गरेको देखिदैन ।

दोस्रो विश्व युद्धपछि अमेरिकाले हारेको पहिलो र महत्वपूर्ण युद्ध भनेको कोरिया युद्ध हो । उक्त युद्ध सन् १९५० देखि १९५३ सम्म चलेको थियो । दोस्रो विश्व युद्धपछि अमेरिका असफल भएको यो नै पहिलो युद्ध हो । दोस्रो विश्व युद्धअघि कोरिया जपानको अधिनस्त राष्ट्र थियो ।

दोस्रो विश्व युद्धमा जापान पराजित भएसँगै अमेरिका र सोभित संघमा कोरिया विभक्त भयो । जहाँ दक्षिण कोरिया अमेरिकाको नियन्त्रणमा रहँदा उत्तर कोरिया सोभियत संघको नियन्त्रणमा रहेको थियो । शीत युद्धका समयमा दुवै कोरियाबीचमा वैमन्यस्याता उत्पन्न भयो । परिस्थिति बिग्रिदा त्यो युद्धमा रुपान्तरण भयो ।

यस युद्धमा दक्षिण कोरियाको समर्थन गर्दै युद्धमा होमिएको अमेरिका पराजित भयो । यसरी २५ जुन १९५० बाट शुरु भएको युद्ध २७ जुलाई १९५३ मा समापन भएको थियो ।

दोस्रो विश्व युद्धपछि अमेरिकाले हारेको अर्को महत्वपूर्ण युद्ध भियतनाम युद्ध हो । करिब २० वर्षसम्म दक्षिण भियतनाम र उत्तर भियतनामबीच चलेको युद्धमा अमेरिकाको समर्थन दक्षिण भियतनामलाई थियो । सन् १९५५ बाट शुरु भएको यो युद्ध १९७५ मा समाप्त भए पनि अमेरिका भने १९७३ मा मात्रै युद्धमा प्रत्यक्ष सहभागी थियो । शीत युद्ध कालको प्रोक्सी युद्धका रुपमा लिइने यो युद्धलाई प्रजातान्त्रिक र कम्युनिष्ट विचारधारबीचको युद्धका रुपमा पनि अर्थ्याउने गरेको पाइन्छ ।

के अमेरिकी सेना कमजोर हुँदै गएको हो ?

दोस्रो विश्व युद्धअघि र पछि, अमेरिका संलग्न रहेका युद्धमा धेरै नै भिन्नता रहेको पाइन्छ । विश्व युद्धअघि अमेरिकाले परम्परागत युद्ध लडेकोमा त्यसपछि लडेका युद्ध परम्परागत छैनन् । ‘द राइट वे टु लुज अ वारः अमेरिका इन एन एज अफ अन विन एवलकन्फ्रिट’ पुस्तकमा लेखक डोमिनिक ट्रिनी अमेरिकाको चहाना परम्परागत युद्ध भएको बताउँछन् । बर्दिधारी अमेरिकी सैनिकले अर्को देशको बर्दिधारी सैनिकसँग लड्ने युद्धलाई उनी परम्परागत युद्धको संज्ञा दिन्छन् ।

लेखक ट्रिनी एक राजनीतिशास्त्री हुन्, जसले अमेरिकाले युद्धमा सधै किन ठूलो अपेक्षा राख्छ भन्ने विषयमा गहिरो अध्ययन गरेको पाइन्छ ।
उनी गैर परम्परागत युद्धमा अमेरिकी सेनालाई युद्ध कसरी सञ्चालन हुन्छ र सम्भावित शत्रु को हुन् ? भन्ने नै थाहा नहुँदा पराजय भोग्नु परेको दाबी गर्छन् ।

तालिबानले भनेको थियो, ‘हामी हार स्वीकार गर्छौं, हामीलाई कुनै स्थान दिए हामी राजनीतिक दलका रुपमा काम गर्न चहान्छौँ ।’

यस्तै आफ्नो देशभन्दा धेरै टाढा रहेको अर्को देशमा युद्ध लड्न जाँदा पनि अमेरिकाले पराजय भोग्नु परेको उनको बुझाई छ । ‘अफगानिस्तानमा सन् २००१ मा युद्ध लड्न जाँदा अमेरिकी सेनासँग उक्त ठाउँको भौगोलिक बनोट कस्तो छ भनेर अध्ययन गर्न नक्सा समेत थिएन’, उनी दाबी गर्छन् ।

२० वर्षअघिको सेक्टेम्वर ११ को घटनापछि अफगानिस्तानमा अड्डा जमाएर बसेको अमेरिकी सेना तालिवानले पुन: सत्तामा कब्जा जमाएपछि स्वदेश फर्किंदै ।


यस्तै आफू संलग्न रहेका युद्ध अमेरिकाले हार्नुमा लेखक ट्रिनी सैनिकमा स्थानीय भाषाको ज्ञान नहुनुलाई कारण मान्छन् । सन् २००६ को घटनालाई उनले उदाहरणका रुपमा प्रस्तुत गरेका छन् । उनी भन्छन्, ‘इराक युद्ध उत्कर्षमा थियो, त्यस समयमा इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा करिब एक हजार अमेरिकी थिए, जसमध्ये ६ जनालाई मात्रै स्थानीय भाषाको ज्ञान थियो ।’

यसो त अफगानिस्तानमा भएको अमेरिकी सेनाको हारको प्रमुख दोषी अमेरिकी प्रशासन हो । सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा नियन्त्रण जमाएसँगै सन् २००२ मा तालिबानले आफ्नो हार स्वीकार गरेको थियो । हार स्वीकार गर्दै तालिबानले तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुससँग नयाँ अफगानिस्तानमा आफूहरूलाई स्थान दिन आग्रह गरेको थियो । उक्त आग्रहलाई पराजीत मानसिकता सम्झिँदै अमेरिकाले उनीहरूको आग्रहलाई तिरस्कार गरेको थियो । तालिबानले भनेको थियो, ‘हामी हार स्वीकार गर्छौं, हामीलाई कुनै स्थान दिए हामी राजनीतिक दलका रुपमा काम गर्न चहान्छौँ ।’

युद्धको शुरुवाती चरणमा अमेरिकी सेनाले धेरै संख्यामा अलकायदा र तालिबानका सैनिकको हत्या गर्न सफल भएको थियो । जसले गर्दा सन् २००१ को अन्त्यसम्ममा तालिबानले आफ्नो हार स्वीकार गरेको अवस्था थियो । त्यसलाई औपचारिकता २००२ मा दियो । अमेरिकासमक्ष आफ्नो हार स्वीकार गरे । तर, अमेरिकाले तालिबानलाई मूल प्रवाहमा नल्याउँदा त्यो आफैलाई प्रति उत्पादक हुन सक्ने आंकलन गर्न सकेन । परिणाम स्वरुप दुई वर्ष अर्थात सन् २००४ बाट तालिबान फेरी सक्रिय भएको थियो ।

अफगानिस्तान करिब ४० वर्षदेखि युद्धमा छ । सन् १९७९ मा सोभियत संघले अफगानिस्तानमाथि युद्ध छेडेको थियो । उद्देश्य अफगानिस्तानको कम्युनिष्ट शासकलाई सहयोग गर्नु थियो । शीत युद्ध कालीन उक्त समयमा सोभियत संघविरुद्ध अमेरिकाले अफगानिस्तानमा मुजाहिद्दिनलाई आर्थिक सहयोग गर्यो । सन् १९८९ मा सोभियतले अफगानिस्तानबाट आफ्नो सैनिक फिर्ता गर्यो ।

सोभियत संघको फिर्तीसँगै अफगानिस्तानमा तालिबानले आफ्नो पकड बढाउन थालेको पाइन्छ । फलतः सन् १९९६ सम्म आइपुग्दा अफगानिस्तानमा तालिबानले आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल भएको थियो ।

सन् २००१ मा अमेरिकामाथि भएको हवाई आक्रमणको केही हप्तामा नै अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गर्यो । हवाई आक्रमणकको आरोपी अलकायदालाई अफगानिस्तानमा संरक्षण दिएको आरोपमा तालिबान अमेरिकी सेनाको तारो बन्यो । करिब २० वर्षको अन्तरालमा तालिबानले अमेरिकी सेनालाई नै पराजित गर्दै देशको सत्ता आफ्नो हातमा लिएको छ ।

प्रतिक्रिया