बुधबार, फागुन २०, २०८२

कांग्रेसमा सुनील थापा : पर्ख र हेरको नीतिमा

सञ्जिता खनाल २०७८ असोज १६ गते १४:०६

काठमाडौँ । नेपाली कांग्रेसमा गत वर्ष मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर सुनिल थापा प्रवेश गरे । पञ्चहरूको पार्टी राप्रपाका संस्थापकमध्येका एक सूर्यबहादुर थापाका छोरासमेत रहेका सुनिलको कांग्रेस प्रवेशलाई कांग्रेसले निकै प्राचारसमेत गर्यो । लगत्तै देउवाले उनलाई कांग्रेको मनोनित सहमहामन्त्री बनाए ।

Advertisement
nepal life insurencenepal life insurence

देउवाले पार्टी प्रवेश गराउनेदेखि सहमहामन्त्रीसम्म बनाएपछि उनको स्वभाविक साथ देउवालाई नै हुन थाल्यो । कांग्रेसभित्र उनी अहिले देउवा क्याम्पका नेताका रुपमा चिनिन्छन् । कांग्रेस प्रवेशपछि उनले गृहजिल्ला धनकुटालाई केन्द्र बनाएर राजनीति अगाडि बढाएका छन् ।

कांग्रेसमा अहिले महाधिवेशनको चटारो छ । नेताहरूले महाधिवेशनमा आफ्नो उम्मेदवारीका बारेमा लेखाजोखा गरिरहेका छन् । थापाले आफू कुन पदमा उम्मेदवारी दिने विषयमा खुलेर सार्वजनिक रुपमा बोलेका छैनन् । पहिला प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सकिएपछि महाधिवेशन प्रतिनिधिको आंकलन गरेर सबैको सल्लाहमा उम्मेदवारी घोषणा गर्ने थापाले बताउँदै आएका छन् । थापाले उपसभापति बन्ने चाहना सभापति देउवासामु व्यक्त गरिसकेका स्रोत बताउँछ ।

अर्को थापाले सुरुमा उपसभापति भनेर भन्ने पछि सह–महामन्त्री पद भए पनि सुरक्षित राख्न बार्गेनिङ मात्र गरेको देउवा समूहका एक नेताले बताए । देउवा समूहमा थापा जसरी लाग्ने अरु पनि छन् । उनीहरुले पनि थापाले जस्तै एउटा पदमा दाबी गर्ने र नभए सहमहामन्त्रीमा भए पनि आफूलाई सुरक्षित राख्ने रणनीति बनाएका छन् । यस्तो दाबी गर्नेमा धेरै जसो महामन्त्रीका आकांक्षीहरू छन् ।

थापालाई कांग्रेसको महामन्त्री र उपसभापति बन्नका लागि भने निक्कै पापड बेल्नु पर्ने हुन्छ । कांग्रेसको विधानमा महामन्त्री २ र उपसभापति २ निर्वाचित हुने व्यवस्था छ । देउवा समूहमा महामन्त्री र उपभापति बन्ने आकांक्षीको लाइन लामो छ ।

विधानअनुसार दलित, आदिवासी जनजाति, महिला, मधेसी, खस आर्य, थारु, मुस्लिम र पिछडिएका वर्ग गरी आठ जना सहमहामन्त्री खुल्ला प्रतिस्पर्धाबाट आउने छन् । तर, अबको महाधिवेशनमा भने थापालाई सह–महामन्त्री नै दोहोर्याउन पनि त्यति सजिलो भने देखिदैन् ।

सहमहामन्त्री पनि खुल्ला प्रतिस्पर्धाबाट चुनाव लड्नु पर्ने हुन्छ । देउवा समूहबाट पद नपाउने अवस्था देखेर देउवालाई खम्बा बनेर साथ दिएका विमलेन्द्र निधिको समूहमा जानेको संख्या पनि देखिन थालेको छ ।

देउवा समूहमा विजयकुमार गच्छदार र कृष्ण प्रसाद सिटौला पनि आए थापा समूह झनै संकटमा पर्न सक्छ । अहिलेको विधानअनुसार कोषध्यक्ष मात्र मनोनित पद रहेको छ । थापा मात्र होइन् सोही समूहका केन्द्रीय कार्य समिति र महासमिति सदस्यहरू फेरि पद दोहोर्‍याउने तयारीमा छन् । अहिले कांग्रेसमा थापा समूहबाट आएका ९ हजार जना क्रियाशील सदस्य छन् ।

थापा निकट नेता केन्द्रीय सदस्य किरण गिरीले आफूहरुले सभापति देउवालाई नै अबको महाधिवेशनमा सहयोग गर्ने र सभापतिमा जिताउन लागि पर्ने बताए । थापासहित राप्रपाबाट कांग्रेसमा आएका सबैको त्यही मत रहेको उनले बताए ।

‘अहिले सभापति शेरबहादुर देउवालाई १४ औं महाधिवेशनमा सफल पार्नका लागि हाम्रो टिम कटिबद्द बनेर लागेको छ,’ गिरीले मेरोन्युजसँग भने, ‘१६५को क्षेत्रीय निर्वाचन नसकिएसम्म हामी आफ्नो भूमिकाको सुरक्षित अवतरणका लागि सोचेका छैनौँ ।’ उनका अनुसार थापा समूह १४ औँ महाधिवेशनमा पनि अहिलेकै सभापतिको नेतृत्व स्थापित गराउन लागिपरेको छ ।

यस कारण थापा कांग्रेसमा प्रवेश गरे

सुनिल थापा स्वर्गीय नेता राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा हुन् । पहिला सूर्यबहादुर पनि नेपाली कांग्रेसमै थिए । तर, पछि थापाले कांग्रेस परित्याग गरेर राप्रपा स्थापना गरेका थिए । बाबु सूर्यबहादुरले स्थापना गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर सुनिल कांग्रेस प्रवेश गरेका हुन् । उनी कांग्रेस प्रवेश गरेको एक वर्ष बितिसक्यो ।

सुनिलसहित १३ जनाको समूह नेपाली कांग्रेस २०७७ साउन १३ गते प्रवेश गरेको थिए । उक्त समयमा सुनिलसहितको समूहलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पार्टीका वर्तमान र पूर्वपदाधिकारीहरुले भव्य स्वागत गरेर नै कांग्रेस प्रवेश गराएका थिए ।

‘म फेरि नेपाली कांग्रेससँग टुटेको नाता जोड्न आएको छु,’ सुनिलले पार्टी प्रवेशको समयमा भनेका थिए, ‘मलाई थाहा भएसम्म मेरो बुवा पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापा सायद २००८ मा विराटनगरको नेपाली कांग्रेसको कोषाध्यक्ष भएको र पछि धनकुटाको प्रथम सभापति भएको सुनेको थिएँ, त्यो पुरानो टुटेको साइनोलाई जोड्न पुन म कांग्रेसमा आएको छु ।’

थापालाई सह महामन्त्री दिने विषयमा संस्थापनइतर समूहमा किचलो नै देखिएको थियो । त्यही किचलोका कारण पार्टी प्रवेश गरेको ३ महिना पछि अर्थात कर्तिक २८ गते मात्र थापालाई कांग्रेसले सहमहामन्त्री बनाएको थियो ।

थापासँगै प्रवेश गरेका अन्य ७ जना केन्द्रीय सदस्य र २ जनालाई आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थियो । जसमा केन्द्रीय सदस्यको जिम्मेवारी पाउने नेताहरुमा रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं), टि.एन. योगी (ललितपुर), दिलीप राई (झापा) रहेका छन् । त्यस्तै, कैलालीका आशाराम चौधरी र कपिलवस्तुका राजेशबहादुर सिंह आमन्त्रित केन्द्रीय सदस्य छन् ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया