मंगलबार, फागुन १९, २०८२

मुस्ताङबाट ३५ करोड रुपैयाँ बराबरको च्याङग्रा बाहिरियो

मेरोन्यूज २०७८ कार्तिक २० गते १९:५७

काठमाडौँ । मुस्ताङबाट यसपालीको दसैं तिहारमा ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैया भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

केन्द्रका प्रमुख दण्डपाणी सापकोटाले दसैँमा सात हजार र तिहारका लागि तीन हजार वटा च्याङग्रा निकासी भएको जानकारी दिए । “स्वास्थ्य परिक्षण गरेर निकासी गरेका आधारमा करिब दश हजार च्याङग्रा बाहिरिएका छन्”, उनले भने, “कृषकले गोठबाटै प्रतिगोटा रु। ३५ हजारका दरले च्याङग्रा बेचेका छन् ।”

अघिल्ला वर्षहरुमा २० देखि २५ हजारको संख्यामा भेडा च्याङग्रा निकासी हुँदै आएको थियो । निकासी भएका अधिकांश भेडाच्याङ्ग्रा मुस्ताङकै हुन् । व्यापारीहरुले घटाएर विवरण दिने भएकाले अभिलेख राख्न समस्या भएको केन्द्रका प्रमुख शर्माले बताए ।

पशु चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण गराउँदा प्रतिगोटा रु १५ शूल्क तिर्नु पर्ने हुन्छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले थासाङ गाउँपालिका, बंगुर जोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकहरुसँग समन्वय गरेर भेडा च्याङ्ग्राको स्वास्थ्य परिक्षण गर्ने प्रवन्ध मिलाएको थियो ।

कार्यालयका अनुसार, यस वर्ष मुस्ताङबाट ठूलो संख्यामा च्याङग्रा र थोरै संख्यामा भेडा निकासी भएको छ । यो वर्ष तिब्बतबाट भेडा च्याङग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरुले उत्पादन गरेका भेडा च्याङग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीहरुले मूल्य बढाएका छन् ।

गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मूल्य बढेको व्यापारीहरुले बताएका छन् । जोमसोम पुगेर २ सय च्याङ्ग्रा खरिद गरेका काठमाडौका प्रदिप बस्नेतले अघिल्लो वर्षको तुलनामा प्रतिगोटा पाँच देखि १० हजार रुपैयाँसम्म बढी तिर्नु परेको बताए ।

‘‘अघिल्लो वर्ष प्रतिगोटा २५ हजारसम्ममा खरिद गथ्र्यौ, यो वर्ष ३५ हजार सम्म परेको छ”, उनले भने, “खोरमै धेरै मूल्य तिर्नु पर्दा बजारमा च्याङग्रा बेच्न गाहे भयो ।”

प्रतिक्रिया