एमालेले महाधिवेशनमा एक लाख कार्यकर्ता उतार्ने
एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल

काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर १० गतेदेखि चितवनमा आयोजना गर्न लागेको महाधिवेशनमा एक लाख नेता कार्यकर्ता उतार्ने भएको छ ।
मङ्सिर १० देखि १२ गतेसम्म हुने १०औँ राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा जनवर्गीय सङ्गठनका एक लाख नेता तथा कार्यकर्ताको उतार्ने तयारी गरेको हो ।
जनसङ्गठन तथा जनपरिचालन समितिका संयोजक खिमलाल भट्टराईकाअनुसार, पार्टीको २२ वटा जनवर्गीय सङ्गठनका तर्फबाट महाधिवेशन उदघाटन समारोहमा एक लाख सहभागी हुनेछन् ।
उदघाटन समारोहमा एमालेले पाँच लाख सहभागी गराउने भएको छ । एमालेले चितवनको नारायणी नदी किनारमा रहेको खाली मैदानमा महाविधेशनको उदघाटन समारोह गर्ने भएको छ ।
छिमेकी जिल्ला पूर्वी नवलपरासीमा एमाले बलियो मानिएको छ । एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी) नवलपुरमा कमजोर देखिएको छ ।
एमालेले सबैभन्दा बढी पूर्वी र पश्चिम नवलपरासी, रुपन्देहीबाट सबै भन्दा बढी कार्यकर्ता उतार्ने तयारी गरेको छ ।
यस्तै, कपिलवस्तु, पर्सा, धादिङ्, गोरखालगायत जिल्लाबाट पनि उदघाटन समारोहमा एमालेले कार्यकर्ता उतार्ने तयारी गरेको छ ।
उनका अनुसार जनवर्गीय सङ्गठनबाट सहभागी हुने नेता तथा कार्यकर्ताले हातमा नेपालको झण्डा, आ–आफ्नो सङ्गठनको ब्यानर र झाँकीसहित सहभागी हुनेछन् ।
यस्तै, महाधिवेशनका लागि ३ सय स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ । उद्घाटन समारोहका दिन भरतपुर बजारको मुख्य चोकमा डिजिटल स्क्रिनसमेत राखिने जनपरिचालन समितिका संयोजक भट्टराईले बताए । मैदानमा सबै सहभागी नअट्ने भएपछि बजारको मुख्य मुख्य चोकमा एमालेले डिजिटल स्क्रिन राख्न थालेको हो ।
एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल
एमालेले पार्टीका सदस्यहरुलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको छ ।
बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै पार्टी सदस्यहरुले एक सय रुपैयाँ दिनुपर्ने निर्णय गरेको हो ।
बैठकले सबै सदस्यहरुलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । त्यसका लागि नेकपा एमालेले राष्ट्रिय बाणिज्य बैंक, टेकू शाखामा १७–००१००००११५९००१ नम्बरको चल्ती खाताको व्यवस्था गरेको छ ।
सबै पार्टी सदस्यहरुले महाधिवेशनको खर्चका लागि मोबाइलमार्फत् वा सो बैंकको खातामा कम्तीमा १०० रुपैयाँ पैसा जम्मा गर्न अपिल गरिएको पार्टीका भट्टराईले जानकारी दिए ।
महाधिवेशनमा चन्दा नउठाउने निर्णय
एमालेले यसअघि नै पार्टीको महाधिवेशनमा चन्दा नउठाउने निर्णय गरिसकेको छ । प्रचार विभाग प्रमुख भट्टराईका अनुसार एमालेसँग हाल करिव ७ लाख ३० हजार पार्टी सदस्य छन् ।
प्रचार विभाग प्रमुख भट्टराईका अनुसार पार्टी सदस्यहरुबाट कम्तीमा १ सय रुपैयाँ उठाउँदा ७ करोड ३० लाख रुपैयाँ उठछ ।
‘यो महाधिवेशनलाई सम्पन्न गर्न एउटा ठूलो आर्थिक खर्च पनि छ । ठूलो पार्टी छ । ठूलो जनसहभागिता जुटाउनु पर्नेछ । देशभरबाट प्रतिनिधिहरु आउनेछन । विदेशी मित्रहरु पनि यसमा सहभागी हुनेछन । र ठूलै खर्च यो महाधिवेशनमा हुन्छ । त्यसकारणले आजको व्यवस्थापन कमिटीको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तिमा पनि रुपैयाँ १०० महाधिवेशनको निम्ति खोलिएको खातामा अनलाईन सिष्टमबाट जम्मा गर्ने, त्यो हामीले अपिल गरेका छौं ।’– उनले भने ।
बैठकले पार्टीको महाधिवेशनसम्बन्धि सम्पूर्ण कार्ययोजना पनि परिमार्जनसहित पारित गरेको छ । जस अनुसार मंसीर १० गते राष्ट्रिय महाधिवेशनको उद्घाटन अपरान्ह १२ बजे चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा रहेको विशाल मैदानमा अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।
एमालेले यही कार्तिक २७ गते देशभर एक साथ प्रतिनिधि छनौट गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।
महाधिवेशनको बन्द सत्र चितवनको सौराहामा हुनेछ । प्रतिनिधिहरुका लागि त्यही आसपासका लज, गेष्ट हाउसहरुमा आवास र महाधिवेशन स्थलमै सामूहिक खानाको पनि व्यवस्था गर्ने औपचारिक निर्णय गरिएको पनि प्रचार विभाग प्रमुख भट्टराईले बताए ।
एमालेले महाधिवेशनको नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि इलेक्ट्रोनिक भोटिङ सिष्टम प्रयोग गर्नेछ । बैठकले महाधिवेशनमा पोष्टर र भित्ते लेखन नगर्ने निर्णय पनि गरेको छ । इलेक्ट्रोनिक सञ्चार माध्यामहरुको प्रयोग गरेर महाधिवेशनको प्रचार प्रसार गर्ने निर्णय पनि बैठकले गरेको प्रचार विभाग प्रमुख भट्टराईले बताए ।
बैठकले महाधिवेशनका लागि दक्षिणी एशीयाली राष्ट्रका सत्तारुढ दल र विपक्ष दलहरुलाई अनिवार्य रुपमा निमन्त्रणा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ ।
एमालेको महाधिवेशनमा २२५ केन्द्रीय कमिटी, अनुशासन आयोग तथा लेखा आयोगका १५/१५ जना गरी कूल २५५ जना निर्वाचित हुनेछन्। पहिलो पटक विद्युतीय मेसिनबाट मतदान हुने महाधिवेशनमा एक हजार ९९९ जना नबढ्ने गरी प्रतिनिधि सहभागी हुनेछन् ।

















आमा बनिन् काठमाडौं–१ की उम्मेदवार रञ्जु दर्शना
धादिङ बस दुर्घटनाः युएईद्वारा दुःख व्यक्त
प्रविधि विस्तारबाट गहुँको उत्पादन बढाइने
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
पोखरा गोल्डकपको उपाधि सहारालाई
प्रतिक्रिया