एमालेले महाधिवेशनमा एक लाख कार्यकर्ता उतार्ने
एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल

काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर १० गतेदेखि चितवनमा आयोजना गर्न लागेको महाधिवेशनमा एक लाख नेता कार्यकर्ता उतार्ने भएको छ ।
मङ्सिर १० देखि १२ गतेसम्म हुने १०औँ राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा जनवर्गीय सङ्गठनका एक लाख नेता तथा कार्यकर्ताको उतार्ने तयारी गरेको हो ।
जनसङ्गठन तथा जनपरिचालन समितिका संयोजक खिमलाल भट्टराईकाअनुसार, पार्टीको २२ वटा जनवर्गीय सङ्गठनका तर्फबाट महाधिवेशन उदघाटन समारोहमा एक लाख सहभागी हुनेछन् ।
उदघाटन समारोहमा एमालेले पाँच लाख सहभागी गराउने भएको छ । एमालेले चितवनको नारायणी नदी किनारमा रहेको खाली मैदानमा महाविधेशनको उदघाटन समारोह गर्ने भएको छ ।
छिमेकी जिल्ला पूर्वी नवलपरासीमा एमाले बलियो मानिएको छ । एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी) नवलपुरमा कमजोर देखिएको छ ।
एमालेले सबैभन्दा बढी पूर्वी र पश्चिम नवलपरासी, रुपन्देहीबाट सबै भन्दा बढी कार्यकर्ता उतार्ने तयारी गरेको छ ।
यस्तै, कपिलवस्तु, पर्सा, धादिङ्, गोरखालगायत जिल्लाबाट पनि उदघाटन समारोहमा एमालेले कार्यकर्ता उतार्ने तयारी गरेको छ ।
उनका अनुसार जनवर्गीय सङ्गठनबाट सहभागी हुने नेता तथा कार्यकर्ताले हातमा नेपालको झण्डा, आ–आफ्नो सङ्गठनको ब्यानर र झाँकीसहित सहभागी हुनेछन् ।
यस्तै, महाधिवेशनका लागि ३ सय स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ । उद्घाटन समारोहका दिन भरतपुर बजारको मुख्य चोकमा डिजिटल स्क्रिनसमेत राखिने जनपरिचालन समितिका संयोजक भट्टराईले बताए । मैदानमा सबै सहभागी नअट्ने भएपछि बजारको मुख्य मुख्य चोकमा एमालेले डिजिटल स्क्रिन राख्न थालेको हो ।
एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल
एमालेले पार्टीका सदस्यहरुलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको छ ।
बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै पार्टी सदस्यहरुले एक सय रुपैयाँ दिनुपर्ने निर्णय गरेको हो ।
बैठकले सबै सदस्यहरुलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । त्यसका लागि नेकपा एमालेले राष्ट्रिय बाणिज्य बैंक, टेकू शाखामा १७–००१००००११५९००१ नम्बरको चल्ती खाताको व्यवस्था गरेको छ ।
सबै पार्टी सदस्यहरुले महाधिवेशनको खर्चका लागि मोबाइलमार्फत् वा सो बैंकको खातामा कम्तीमा १०० रुपैयाँ पैसा जम्मा गर्न अपिल गरिएको पार्टीका भट्टराईले जानकारी दिए ।
महाधिवेशनमा चन्दा नउठाउने निर्णय
एमालेले यसअघि नै पार्टीको महाधिवेशनमा चन्दा नउठाउने निर्णय गरिसकेको छ । प्रचार विभाग प्रमुख भट्टराईका अनुसार एमालेसँग हाल करिव ७ लाख ३० हजार पार्टी सदस्य छन् ।
प्रचार विभाग प्रमुख भट्टराईका अनुसार पार्टी सदस्यहरुबाट कम्तीमा १ सय रुपैयाँ उठाउँदा ७ करोड ३० लाख रुपैयाँ उठछ ।
‘यो महाधिवेशनलाई सम्पन्न गर्न एउटा ठूलो आर्थिक खर्च पनि छ । ठूलो पार्टी छ । ठूलो जनसहभागिता जुटाउनु पर्नेछ । देशभरबाट प्रतिनिधिहरु आउनेछन । विदेशी मित्रहरु पनि यसमा सहभागी हुनेछन । र ठूलै खर्च यो महाधिवेशनमा हुन्छ । त्यसकारणले आजको व्यवस्थापन कमिटीको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तिमा पनि रुपैयाँ १०० महाधिवेशनको निम्ति खोलिएको खातामा अनलाईन सिष्टमबाट जम्मा गर्ने, त्यो हामीले अपिल गरेका छौं ।’– उनले भने ।
बैठकले पार्टीको महाधिवेशनसम्बन्धि सम्पूर्ण कार्ययोजना पनि परिमार्जनसहित पारित गरेको छ । जस अनुसार मंसीर १० गते राष्ट्रिय महाधिवेशनको उद्घाटन अपरान्ह १२ बजे चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा रहेको विशाल मैदानमा अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।
एमालेले यही कार्तिक २७ गते देशभर एक साथ प्रतिनिधि छनौट गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।
महाधिवेशनको बन्द सत्र चितवनको सौराहामा हुनेछ । प्रतिनिधिहरुका लागि त्यही आसपासका लज, गेष्ट हाउसहरुमा आवास र महाधिवेशन स्थलमै सामूहिक खानाको पनि व्यवस्था गर्ने औपचारिक निर्णय गरिएको पनि प्रचार विभाग प्रमुख भट्टराईले बताए ।
एमालेले महाधिवेशनको नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि इलेक्ट्रोनिक भोटिङ सिष्टम प्रयोग गर्नेछ । बैठकले महाधिवेशनमा पोष्टर र भित्ते लेखन नगर्ने निर्णय पनि गरेको छ । इलेक्ट्रोनिक सञ्चार माध्यामहरुको प्रयोग गरेर महाधिवेशनको प्रचार प्रसार गर्ने निर्णय पनि बैठकले गरेको प्रचार विभाग प्रमुख भट्टराईले बताए ।
बैठकले महाधिवेशनका लागि दक्षिणी एशीयाली राष्ट्रका सत्तारुढ दल र विपक्ष दलहरुलाई अनिवार्य रुपमा निमन्त्रणा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ ।
एमालेको महाधिवेशनमा २२५ केन्द्रीय कमिटी, अनुशासन आयोग तथा लेखा आयोगका १५/१५ जना गरी कूल २५५ जना निर्वाचित हुनेछन्। पहिलो पटक विद्युतीय मेसिनबाट मतदान हुने महाधिवेशनमा एक हजार ९९९ जना नबढ्ने गरी प्रतिनिधि सहभागी हुनेछन् ।









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
एनपिएल : आज दुई खेल हुँदै
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
प्रतिक्रिया