शेखर, सशांक र सुजाता : टुटेको राजनीति, छोडिएको सम्बन्ध

काठमाडौं । देशकै सबैभन्दा पाको र जेठो पार्टी नेपाली कांग्रेसमा दुई ढंगले नेतृत्व चयन हुँदै आएको थियो । एउटा वंश परम्परा र अर्काे वरिष्ठता ।
वि.सं. २००३ माघ १२–१३ मा कांग्रेसको जन्म भएको थियो । त्यसयता पार्टी इतिहासको ४९ वर्ष कोइराला परिवार र त्यसपछिका २६ वर्ष मात्रै कांग्रेसको नेतृत्व कोइराला वाहेकको अन्य नेताको काँधमा पुग्यो ।
७५ वर्षको इतिहासमा कोइराला परिवारका चार सभापतिले मात्रै ४९ वर्ष कांग्रेसको काँध थापे । बीपी कोइरालाले पाँचपटक गरी २५ वर्ष, मातृकाले दुईपटकमा चार वर्ष, गिरिजाप्रसादले तीनपटक गरी १४ वर्ष र सुशील कोइरालाले कार्यबाहकसहित दुई पटकमा ६ वर्ष कांग्रेसको नेतृत्व गरे ।
सुशीलबाहेक अरु कोइराला एकै परिवारका हुन् । तर सुशीलको पनि कोइराला परिवारसँगैको साइनो सम्बन्ध भने थियो । गिरिजाप्रसाद र सुशीलचाहिँ ठूलीआमा–सानीआमाका छोरा हुन् ।
त्यसबाहेक कांग्रेसमा सुवर्ण समशेर राणा, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवाले वरिष्ठताका आधारमा पार्टीको नेतृत्व गर्ने मौका पाए । खासगरी ०७२ फागुनमा सुशील कोइरालाको निधन भएपछि कांग्रेसको पार्टी र सत्ता कोइराला परिवारको हातबाट गुमेको थियो ।
त्यसयता कोइराला परिवारलाई यो पटक आफनै गुमेको वंश परम्परा (बिरासत) फर्काउने उपयुक्त मौका थियो । ०७२ को १३ औं महाधिवेशनबाट गुमेको वंश राजनीति ‘कमब्याक’ गर्ने कोइराला परिवारलाई मौका थियो । अर्थात १३ औं महाधिवेशनवाट कोइराला परिवारवाट पार्टी सत्ता खोसेका शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा कोइराला परिवारकै शेखर चुनावी मैदानमा थिए ।
कोइराला परिवारबाट सशांक, सुजाता र शेखर राजनीतिमा थिए । कोइराला परिवारका यी तीन ‘भेट्रान’ आ–आफैँबीच तीब्र प्रतिस्पर्धामा थिए । कोइराला परिवारको विरासत कसले धान्ने ? यसमा उनीहरूबीच अघोषित युद्ध थियो ।
तर कोइराला परिवार मिल्नुपर्ने दवावमा उनीहरु गत १३ औं महाधिवेशनदेखि नै थिए । त्यही बुुझेरै उनीहरुले त्यसयता केही प्रयास पनि गरे । आफुहरुलाई मिल्न दवाव दिने नेता–कार्यकर्ता र आम कांग्रेसजनलाई अर्थपूर्ण लाग्ने गरी ०७४ साउनयता भने कोइराला परिवारका यी तीन नेताले भेटघाट र भोजभतेरको शृंखला बढाए ।

०७४ साउनमा ४ मा कांग्रेसका संस्थापक बीपी कोइरालाका पुत्र सशांक कोइरालाको टोखास्थित निवासमा उनीहरुले सँगै खाना खाए, तस्बिर खिचाए र सार्वजनिक गरे । यसको रणनीतिक अर्थ रहेको त्यसबेला कोइराला परिवारका यी तीन भेट्रान नेताहरु बताउँथे ।
खासगरी कांग्रेसको विरासत कसले थाप्ने भन्नेमा चर्काे प्रतिद्वन्द्व थियो– शेखर र सशांककाबीचमा । तर यसमा सुजाताले मध्यस्थता गर्न खोजिरहिन् । उनी सशांंकलाई भन्दा पनि शेखरलाई कोइराला परिवारको बिडो थाम्ने तहमा पु¥याउन चाहन्थिन् । यी तीन मध्ये उमेरले पनि शेखर जेठा थिए । राजनीतिमा पनि सशांक भन्दा शेखर नै अगाडि थिए । नागरिकता अनुसार ९ भदौ ००७ सालमा जन्मिएका हुन्, शेखर । अर्थात्, दाजु–भाइ–बहिनीमध्ये शेखर जेठा हुन् । ९ असोज ०११ मा सुजाता र ८ कात्तिक ०१५ मा सशांक जन्मिएका हुन् ।
त्यसयता अघोषित युद्धकैबीच पनि उनीहरुले कोइराला परिवारका सदस्य एक ठाउँ रहेको सन्देश दिन निक्कै कोसिस गरे । भेटघाट र भोजभतेरको श्रृंखला निक्कै बढाए ।
डा. सशांक पार्टी महामन्त्रीको हैसियतमा थिए । सुजाताले जीपी कोइराला फाउन्डेसनमार्फत प्रभाव बढाएकी थिइन्, शेखर भने १३ औं महाधिवेशन यता नै छुट्टै राजनीतिक कार्यक्रम लिएर देशदौडाहा गरिरहेकै थिए । त्यसमाथि कोइराला परिवारका यी तीन सदस्य एकै ठाउँ हुने र मिल्ने हो भने गुमेको पारिवारिक विरासत कांग्रेसमा फेरि फर्काउन सक्ने आंकलन कोइराला परिवारसँगको निकट रहेका नेता कार्यकर्ताको थियो ।
यस्ता, आफ्ना अनुयायीलाई नेतात्रय (सशांंक, शेखर र सुजाता) ले १० भदौ २०७५ मा विराटनगरस्थित कोइराला निवासमा एउटै माला पहिरिएर कोइराला परिवारका तीनै नेता एक भएको सन्देश दिएका थिए । अझ उक्त कार्यक्रममा सुजाताले त भनेकै थिइन्,– ‘कसैले टाउको दुखाउनु पर्दैन । चिन्ता नगर्नुस्, हामी तीन कोइराला एकै थियौं । एकै छौं र एक हुनेछौं ।’
त्यसपछि पनि कहिले सशांंक निवास, कहिले सुजाता निवासमा उनीहरुले भेटघाट श्रृखला जारी राखे । पार्टीभित्रको समग्र राजनीति, निर्वाचनमा यसबीचमा भएको पराजयको समीक्षादेखि पार्टी महाधिवेशनको नेतृत्वसम्मका कोइरालाहरुकाबीचमा छलफल हुन्थे । कहिलेकाँही त थप निकट नेताहरुलाई समेत सँगै डाँकेर दिवा भोज लगाउने सम्मको काम यसबीचमा कोइराला परिवारका यी तीन नेताको सहमतिमा भए ।
तर यस्ता छलफलमा सुजाताले भने आफु प्रतिस्पर्धी नभई शेखर र सशांंककाबीचमा सहजीकरणका लागि मात्र पहल गरेको बताउने गर्थिन् । नेतृ सुजाता शेखर कोइरालालाई एकपटक पार्टी नेतृत्वका लागि प्रतिस्पर्धाको मैदानमा उतार्न चाहन्थिन् । त्यसका लागि उनले निक्कै प्रयास पनि गरेकी थिइन् ।
त्यहीबीचमा सशांकले पनि शेखरलाई सभापतिमा साथ दिने समझदारी गरिसकेका थिए । तीनै कोइराला एकै ठाँउमा उठेर शेखरका लागि सभापतिमा सहमति गरेको पत्रकार सम्मेलन गर्ने तयारी पनि भएको थियो । सुजातालाई फोन पनि भएको थियो । तर अन्तिम समयमा सशांक सहमतिवाट ब्याक भएपछि तोकिइसकेको पत्रकार सम्मेलन स्थगित गर्नु परेको थियो ।
खासगरी सशांकलाई नेतृत्व नछोड्न केन्द्रीय सदस्यहरु डा. मीनेन्द्रप्रसाद रिजाल, दिलेन्द्रप्रसाद बडु, दीपक गिरी, सरिता प्रसाईं, बद्री पाण्डे र गुरुराज घिमिरे, बर्दियाका सभापति सञ्जय गौतम, पूर्वसांसद दीपक खड्का तथा पूर्वसांसद एवं केन्द्रीय सदस्य दिलबहादुर घर्तीले दवाव बढाइरहेका थिए ।
तर अन्तिम समयमा देउवाइतर समुहमा शेखर र प्रकाशमान सिंहले सभापतिको दावी नछोडेपछि सशांंक र रामचन्द्र पौडेल सभापतिको ‘प्रतिस्पर्धा’ बाटै बाहिरिए । शेखर उम्मेदवार बने । तर जहिल्यै शेखरलाई पार्टी नेतृत्वका लागि प्रतिस्पर्धाको मैदानमा उतार्न चाहेकी सुजाता शेखरकै टिममा रहिनन् । उनले शेखर छाडेर प्रकाशमान सिंहको टिम रोजिन् । त्यसपछि दोस्रो चरणमा पुगेको सभापतिको चुनावमा पनि उनले शेखरलाई साथ दिइनन् । शेरबहादुर देउवालाई नै रोज्न पुगिन् ।
सुजातामात्रै होइन, सभापतिको मैदानमा देउवासँग शेखरले प्रतिस्पर्धा गरिरहँदा सशांंकले पनि शेखरलाई साथ दिएनन् । उनी मौन बसिदिए । शेखरले सशांंकलाई चुनावमा खुलाउन मीनेन्द्र रिजाललाई निवासमै पठाएपनि सशांक खुलिदिएनन् । बरु उनले देउवालाई वल पुग्ने गरी भेटघाट गरिदिए ।
यसले जतिसुकै भेटघाट र भोजभतेरको श्रृंखला सुजाता, सशांंक र शेखरले गरेपनि खास सन्दर्भमा काम लागेन । तीन कोइराला तीनतिर मुख फर्काएर हातमै आईसकेको नेतृत्वको विरासत फेरि देउवाकै काँधमा जिम्मा लगाए ।
यसले सशांंक र सुजाताको राजनीतिमा प्रश्न उठेपनि शेखर भने कांग्रेसभित्र नेताका रुपमा उदाएका छन् । उनी कोइराला परिवारको विरासत थेग्ने नेताका रुपमा उदाएका छन् । कांग्रेसमा १४ औं महाधिवेशनले बनाएको नयाँ धुव्रीकरणपछि बनेको दुई समूहमध्ये एउटाको समुहको नेता शेखर बनेका छन् ।
प्रतिक्रिया