बिहीबार, पुष १०, २०८२

कांग्रेसका निर्वाचित महामन्त्रीको आर्शीवाद ‘कुटनीति’

शीर्ष नेताका घरदैलो चहार्दै आर्शीवाद थाप्दै हिड्न थालेका छन् नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा

मेरोन्यूज २०७८ पुष ४ गते २०:३८

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा आर्शीवादका लागि दौडधुपमा लागेका छन् । सस्थापन इतर समुह छाडेर पार्टी प्रवक्ताका लागि सभापति शेरवहादुर देउवा निकट बनेका शर्मा १४ औं महाधिवेशनमा भने देउवा समुह छाडेर प्रकाशमान सिंहकाे समुहबाट महामन्त्रीमा चुनाव लडेका थिए ।

प्रकाशमान सिंहको कमजोर धरातलमा चुनाव लडेपनि उनले भने वलियो समुहमा रहेका भनिएका सभापति शेर बहादुर देउवा समुहका दुई उम्मेदवार डा प्रकाशशरण महत र प्रदीप पौडेल तथा शेखर कोइराला समुहका डा मिनेन्द्र रिजाललाई पाखा लगाउँदै महामन्त्री निर्वाचित भए । महामन्त्रीमा झण्डै दुई तिहाई मतसहित शर्मासँगै गगन थापा पनि विजयी भए ।

दुई महामन्त्रीमा दुवै युवा नेता कांग्रेसले महामन्त्रीमा पाएको छ । तर, यो निर्वाचन पछि गगन र विश्वप्रकाश काग्रेसभित्रको लोकप्रिय रहेछन ? भन्ने पनि टिप्प्णी र लेखाजोखा हुने गरेको देखिन्छ । भोटका हिसाबले गगनले विश्वप्रकाशको भन्दा ११ सय जति मत बढी ल्याएर चुनाव जितेका थिए । तर, सभापतिमा शेखरले ल्याएको र प्रकाशमान सिंहले ल्याएको मतका आधारमा हेर्दा गगन र विश्वप्रकाश दुवैले कांग्रेसमा बराबरी लोकप्रिय मत ल्याएको भनी चर्चा पनि गर्ने गर्छन । अर्थात शेखरले १७ मत ल्याउदा प्रकाशमानले ३ सय बढी मत ल्याएका थिए । शेखरको टिमका गगनले ३ हजार मत ल्याउँदा प्रकाशमानको टिममा रहेका विश्वप्रकाशले १९ सय बढी मत ल्याएर कांग्रेस महामन्त्री जितका थिए ।

यस हिसाबले हेर्दा कांग्रेसी नेता कार्यकर्ता गगन र विश्वप्रकाश दुवै कांग्रेसमा बराबरी लोकप्रिय रहेछन भनेर ब्याख्या विश्लेषण पनि गर्न थालेका छन् ।

विश्वप्रकाशको आर्शीवाद कुटनीति

पार्टी सभापतिमा प्रकाशमान सिंहले ४ सय मत पनि नल्याउँदा धेरैले प्रकाशमान सिंहको समुहबाट महामन्त्री भिडेका विश्वप्रकाशलाई चुनाव जित्न मुश्किल पर्ने अनुमान लगाएका थिए । पपुलारिटीका आधारमा गगन थापा र वलियो टिमका आधारमा डा प्रकाशशरण महतले महामन्त्रीमा जित्न सक्ने अनुमान धेरै जसो कांग्रेसका थिए । तर परिणाममा गगन र विश्वप्रकाशले बाजी मारे । बाजी मारेपछि विश्वप्रकाशको भने आर्शीवाद कुटनीति चल्न थालेका छन् ।

उनी कांग्रेसको महाधिवेशन सकेसँगै कार्यक्रमस्थल भृकुटीमण्डपमा फोहोर सरसफाईमा देखिए । महामन्त्री निर्वाचित भएसँगै उनले विपि संग्राहलय सुन्दरीजल पुगेर विपिप्रति श्रद्दासुमन अर्पण गरे । उनले उम्मेदवारी पनि सुन्दरीजलमै पुगेर घोषणा गरेका थिए । कांग्रेसभित्र सानो विपि भनेर चिनिने शर्माले विपिको शालिक अगाडि माल्यापर्ण गर्ने काम गरेका थिए ।

त्यसलगत्तै उनी ०६२/०६३ को जनआन्दोलनका बेला घाइते भएका र वर्षे देखि वेडमा रहेका मुकेश कायस्थ र माओवादी आक्रमणका बेला मेरुदण्ड भाँचिएर जीवन संर्घष गरिरहेका युवा दीपेन्द्र्र गिरीलाई भेटन पुगे । आफुलाई विजयी भएपछि समर्थक/शुभचिन्तकले लगाईदिएको सवै खादा र माला वोकेर भेटन पुगे । महामन्त्री निर्वाचित भएकै दिनमा पनि उनले प्रकाशमान सिंहलाई भने चाक्सीवारी स्थित निवासमा पुगेर भेटेका थिए ।


उनले शनिबार प्रधानमन्त्री एवम् नवनिर्वाचित सभापति शेरबहादुर देउवा, नवनिर्वाचित उपसभापति पूर्णबहादुर खड्का, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग नेताहरुकै निवास पुगेर आर्शीवाद साटासाट गरे । यसमध्ये पनि उनले झापाकै नेता कृष्णप्रसाद सिटौला निवास पुगेर आर्शीवाद आदानप्रदान गरेको विषय पनि कांग्रेसमा चर्चा छ ।

सिटौला र शर्माको गृहजिल्लाको आन्तरिक शक्ति संर्घषले यी दुई नेता विपरित खेमामा थिए । शर्मालाई सिटौलाले राजनीतिमा सधै कर्नरमा पार्न खोजेको चर्चा पनि कांग्रेसवृतमा हुने गर्छ । आफ्नै निवासमा भेटन आईपुगेका नवनिर्वाचित महामन्त्री शर्मालाई सिटौलाले विगतका कुरा विर्सेर सहकार्य गर्न चाहेको बताएको स्रोत बताउँछ ।

‘सिटौलाले शर्मालाई हिजो जे-जे भयो त्यो कुरा बिर्सेर अगाडि बढ्नु भन्नुभयो,महामन्त्री मात्रै होइन, त्योभन्दा माथिको जिम्मेवारीमा पुग्नु। देशकै नेतृत्व गर्ने ढंगले अघि बढ्नु भनेर शुभकामना विश्वप्रकाशलाई उहाँ (सिटौला)ले दिनुभयो,’ सिटौला निकट नेताले भने ।

शर्माको महामन्त्री निर्वाचित भएपछि आर्शीवाद थाप्ने र धन्यवाद दिने रणनीति अन्तर्गतको दौडधुप कांग्रेसभित्रको महाधिवेशनले विभाजित मनलाई एकत्रित गर्ने प्रयासका रुपमा पनि लिनुपर्ने शर्मा निकटहरुको भनाई छ । ‘पार्टीको आन्तरिक प्रतिष्पर्धामा द्वन्द्व भयो होला। अब त्यो सकियो। परिणाम आइसक्यो, उहाँहरुको साथ, सहयोग र आशिर्वाद लिएर अघि बढ्न जरूरी छ। त्यही भएर म गएको हो।’ विश्वप्रकाश शर्माले भने ।

प्रतिक्रिया