बिहीबार, पुष १०, २०८२

मापदण्ड पालना गरी पर्यटन सुचारु गर्न व्यवसायीहरुको माग

मेरोन्यूज २०७८ पुष २६ गते ९:३७

काठमाडौं । नेपाल पर्यटन बोर्डले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्था तथा व्यक्तिहरुसँग छलफल गरेको छ । साथै बोर्डले यो बीचमा आफुले गरेका काममहरुबारे जानकारी दिँदै नयाँ परिस्थितमा कसरी जाने भन्नेबारे निजी क्षेत्रसँग सुझाव लिएको छ ।

कार्यक्रममा निजी क्षेत्रका संस्था तथा पर्यटन व्यवसायीहरुले स्वास्थ्य मापदण्डहरुको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनु पर्ने सुझाव दिएका छन् । कोरोना संक्रमण भन्दै हठात लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन धराशायी भएको भन्दै त्यस्ता निर्णय सरकारसँग आग्रह समेत गरेका छन् । उनीहरुले संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने, तथा खोपलाई प्रभावकाररुी बनाउँदै पर्यटनलाई चलाउनु पर्ने बताए ।

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले विगतमा कोभिडको संक्रमण र सीमित स्रोत र साधनकोका बीचमा पनि बोर्डले विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिए । उनले फेरि कोभिडको नयाँ संक्रमण बढिरहेको सन्र्दभमा निजी क्षेत्रको सुझाव आवश्यक पर्ने भएकोले कार्यक्रम आयोजना गरिएको बताए ।

सो अवसरमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् नाटाका अध्यक्ष अच्युत गुरागाईले कोभिड विरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए ।

पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्थालाई हेरेर पर्यटन बोर्डले बजार रणनीति परिवर्तन गर्न सुझाव दिए ।

यस्तै एक्सपिडिसन अपरेटर एशोसिएसनका अध्यक्ष तथा पर्यटन व्यवसायी डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालले मापदण्ड बनाउनु पर्ने बताए ।

कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक नन्दिने लाहे थापाले जनसम्पर्क तथा प्रचार प्रसार, अर्का वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले आन्तरिक पर्यटन प्रर्वद्धन तथा योजना, कर्पोरेट निर्देशक सन्तोष पन्तले बोर्डको आय व्यको अवस्था, निर्देशक मणिराज लामिछानेले अनुसन्धान तथा पूर्वाधार विकास एवं निमित्त बजार निर्देशक लक्ष्मण गौतमले बोर्डले यो बीचमा गरेका बजार प्रवद्र्धन बजारकोबारेमा जानकारी दिए ।

यस्तै, जिविकोपार्जनका लागि पर्यटन पुनरुत्थान परियोजना (एसटीएलआरपी)का राष्ट्रिय कार्यक्रम प्रवन्धक ज्ञानेश्वर महतोले यूएनडिपी र पर्यटन बोर्डको सहकार्यमा सञ्चालनमा आएको एसटीएलआरपीका बारेमा आफ्नो प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा पर्यटनसँग सम्बन्धित नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् (नाटा), टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (नाटा),प्यासिफिक एसिया ट्रावल एशोसिएसन (पाटा) एक्सपिडिसन अपरेटर एशोसिएसन लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया