सोमबार, वैशाख १४, २०८३

एमाले अर्घाखाँचीको अधिवेशनमा असन्तुष्टि

तानाशाही शैलीमा नेतृत्व चयन गरेको आरोप

मेरोन्यूज २०७८ पुष २७ गते १९:४९

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले सहमतिमा नेतृत्व चयन गरेको बताए पनि अधिवेशन सकिएसँगै असन्तुष्टिका स्वरहरु आउन थालेका छन् ।

Advertisement
NiccNicc

नेता पिताम्बर भुसालको नेतृत्वमा नयाँ कार्य समितिको घोषणा गरेको नेकपा एमाले अर्घाखाँचीको आठौं जिल्ला अधिवेशनपछि केहीले पार्टी त्याग गरेका छन् भने केहीले सामाजिक सन्जालमा असन्तुष्टि जनाइरहेका छन् ।

एमालेले जिल्ला अधिवेशनलाई तानाशाही शैलीमा गरेका कारण असन्तुष्टि चुलिएको नाम उल्लेख नगर्ने शर्तमा एक नेताले बताए ।

’म पनि निश्चत पदको उम्मेदवारी दर्ताको तयारीमा थिएँ’ ति नेताले भने, ’तर उम्मेदवारी दर्ता गर्न नै दिइएन ।“ निर्वाचन गरिएको भए ७० प्रतिशत भन्दा बढी मत आफ्नो पक्षमा आउने दाबी उनको थियो । ’तर चुनावी प्रक्रियामा जानै रोकियो, तानाशाही शैलिमा अधिवेशन सम्पन्न गरियो’ उनले भने ।

अधिवेशन सकिएसँगै राष्टिय युवा संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका युवा नेता गोविन्द भुसालले राजीनामाको घोषणा नै गरेका छन् ।

त्यस्तै नेता खुविराम आचार्यले जबरजस्ती खल्तीका मान्छे टिपेर अधिवेशनमा नाटक मन्चन गरिएको भन्दै सार्वजनिक रुपमा असन्तुष्टि जनाउँदै आएका छन् ।

पूर्व उपाध्यक्ष जिवनारायण कोइरालाले नेतृत्वमा दाबी गरेका थिए, भने पूर्व उपसचिव प्रेम गैरेले सचिवमा दाबी गरेका थिए । त्यस्तै आचार्यले उपसचिवमा उम्मेदवारी दिन चाहेका थिए । सहमतिको नाममा उनीहरुले उम्मेदवारी दर्ता गर्न पाएनन् ।

तर निर्वाचन मण्डलले भने कुनै पनि पदमा दोहोरो उम्मेदवारी नपरेपछि सर्वसम्मत नेतृत्व चयन भएको दाबी गरेको छ ।

’कुनै पनि पदमा दोहोरो उम्मेदवारी परेन, दोहोरो उम्मेदवारी नपरेपछि निर्वाचनमा कसरी जान सकिन्छ र ?’ प्रतिप्रश्न गर्दै प्रमुख निर्वाचन अधिकृत केवि भुसालले भने ’हामीले उम्मेदवारी दर्ता गर्न चाहनेलाई समय दिएका थियौं । तर निर्धारित समयसम्म कुनैपनि पदमा दोहोरो उम्मेदवारी परेन ।’

प्रतिक्रिया