मंगलबार, वैशाख १५, २०८३

लिपुलेक प्रकरण : प्रधानमन्त्री मौन, कांग्रेसको ध्यानाकर्षण

मेरोन्यूज २०७८ पुष ३० गते १९:५३

काठमाडौं । लिपुलेकसम्म भारतले सडक निर्माणको काम थालेकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवा मौन छन् ।

तर कांग्रेसले भने ध्यानाकर्षण जनाएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले विज्ञप्ति जारी गर्दै सो प्रकरणबारे ध्यानार्षण गरेका हुन् । नेपाली कांग्रेसकै सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् ।

Advertisement
NiccNicc

केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भनेर अभिब्यक्ति नै दिएका थिए । सोही अभिब्यक्तिको ध्यानाकर्षण गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि रहेको महामन्त्रीद्वयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रूपले आफ्नो धारणा र अडान स्पष्ट रूपमा राख्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको कांग्रेसको दाबी छ । नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्नेमा कांग्रेस प्रस्ट रहेको बताइएको छ ।

‘कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ। नेपालको संसद्ले सर्वदलीय एकता साथ संविधान संशोधनमार्फत पारित गरेको नेपालको नक्सा सुगौली सन्धि पछिको नेपाल थियो । हो र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने विषय राजनैतिक दलहरू एवं नेपाल सरकारसमेतको साझा अभिमत हो भन्ने विषयमा नेपाली कांग्रेस प्रस्ट छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘दुई राष्ट्रबीचको सीमा सम्बन्धी कुनै पनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्दछ। १८१६ को सुगौली सन्धिको दस्ताबेज दुवै राष्ट्रको साझा स्वीकारोक्तिको तथ्य हो भन्नेमा हामी प्रस्ट छौं,’ विज्ञप्तिमा लेखिएको छ, ’नेपाल–भारत संयुक्त आयोगमा दुई देशबीचको सबै प्रश्नमा कूटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।’

दुवै छिमेकी राष्ट्रसँग नेपालको पुरानो र ऐतिहासिक सम्बन्ध रही आएको कांग्रेसको ठहर छ। यस अर्थमा सीमा सम्बन्धी कुनै पनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्च स्तरीय कूटनैतिक माध्यमबाट खोजिनु पर्दछ भन्ने विषयमा नेपाली कांग्रेस प्रस्ट रहेको बताइएको छ ।

प्रतिक्रिया